Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नोट प्रयोगमा चरम लापरबाही, एक वर्षमा १ खर्बको नोट जलाइन्छ

२०७५ माघ ११ गते

बैंकिङ खबर। झुत्रा, पुराना नचल्ने नोट राष्ट्र बैंकले जलन गरी नष्ट गर्दै आएको छ। तपाईंसँग यस्ता नोट छन् भने बैंक तथा वित्तीय संस्थाबाट साट्न पाइन्छ। बैंक तथा वित्तीय संस्थाहरुले यस्ता नोट कोषमा लगेर दिन्छन्।

सो बापत नोट कोषले नयाँ नोट प्रदान गर्दछन्। देशभर ७८ वटा नोट कोष छन्। राष्ट्रिय वाणिज्य र नेपाल बैंकका कतिपय शाखाहरुमार्फत नोट कोष संचालनमा छन्। ति नोट कोषबाट यी पुराना झुत्रा नोट राष्ट्र बैंकको प्रधान कार्यालय आउँछ। राष्ट्र बैंक पुगेपछि पुनः चलनचल्तीमा आउँदैनन्। 

यस्ता नोट बैंकले जलाएर नष्ट गर्ने गरेको छ। नोट जलाउनका लागि मुद्रा व्यवस्थापन विभाग प्रमुखको संयोजकत्वमा राष्ट्र बैंकमा जलन समिति छ। राष्ट्र बैंकमा आउने पुराना झुत्रा नोट वर्षेनी बढ्दै गएको पाइन्छ। अर्थात राष्ट्र बैंकले वर्षेनी दोब्बरको रकम जलन गर्दै आएको छ। 

मुद्रा व्यवस्थापन विभागको तथ्याङ्कअनुसार ६ महिनामा अर्थात साउनदेखि माघ ७ गतेसम्म ४७ अर्ब ११ करोड ६३ लाख रुपैयाँ बराबरको १५ करोड ५२ लाख ६ हजार ६५८ वटा नोटहरु जलन गरिएको छ। 

जलन गरिँदै आएको नोटको रकमको विगतका वर्षमा भएको वृद्धिदर हेर्दा यो आर्थिक वर्ष राष्ट्र बैंकले झण्डै १ खर्बको नोट जलाउने छ। गत अर्थिक वर्ष ५६ अर्ब ३६ करोड रुपैयाँ बराबरको २८ करोड ४ लाख ४३ हजार ७१ नोट जलन गरिएको थियो। आर्थिक वर्ष ०७३\७४ मा २५ अर्ब ७५ करोड रुपैयाँको १९ करोड ३७ लाख १ हजार ५१४ नोटहरु जलन गरिएको थियो। 

यसले के देखाउँछ भने नोटको प्रयोगमा चरम लापरबाही हुने गरेको छ। खल्तीमा राख्दा कच्याककुचुक पार्ने, फोहोर हातले समाउँदा चिल्लो, धुलो मैलो टाँसिने, बण्डलमा स्टीचको प्रयोग गर्ने जस्ता क्रियाकलापका कारण बढी मात्रामा नोट जलन गर्नुपरेको मुद्रा विनिमय व्यवस्थापन विभागका प्रमुख लक्ष्मीप्रपन्न निरौलाले बताए। सुरक्षित रुपमा नोटको प्रयोग गर्न उनी आग्रह गर्छन्। 

नेपालमा हरेक कारोबारमा भौतिक रुपमा नोटकै लेनदेन हुने परिपाटीले पनि नोट झुत्रिने क्रम बढेको हो। किनमेलको भुक्तानीका क्रममा कार्डको प्रयोग बढाउन सकेमा नोट झुत्रिने क्रम पनि घट्ने राष्ट्र बैंकका उच्च अधिकारीहरुको भनाई छ। 

‘जब चलनचल्तीमा भौतिक नोटको आदानप्रदान कम हुन्छ, नष्ट गर्नुपर्ने वा झुत्रा नोटको संख्यामा स्वभाविक रुपमा कमी आउँछ’ निरौलाले भने। विकसित मुलुकहरुमा नोटको साटो कार्डमार्फत धेरै कारोबार हुन्छ। त्यसकारण ति देशहरुमा नोट झुत्रिने क्रममा कमी छ। 

नोटको सुरक्षित प्रयोग होस् भन्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाहरुलाई बण्डलमा स्टीचको प्रयोग गर्न रोक लगाइएको छ। नोटमा केरमेट गरेमा वा नष्ट गर्न खोजेमा ३ महिनासम्मको जेल सजाय वा ५ हजार रुपैयाँसम्मको जरिवाना वा दुवै सजाय हुने मुलुकी अपराध संहिता ऐन २०७४ मा व्यवस्था छ।

तसर्थ लक्ष्मीका रुपमा पूजा गरिने नोटको हिफाजत गर्न सकेमा मात्रै साचो अर्थमा लक्ष्मीप्रतिको सम्मान ठहरिनेछ। नोटको हिफाजत गर्नु हामी सबैको कर्तव्य हो।