२०७५ माघ २ गते

एक वर्षमा डलर १२ रुपैयाँले बढ्यो, अर्थतन्त्रमा असर


बैंकिङ खबर। २०७४ माघ एक गते एक अमेरिकी डलर बराबर १०२ रुपैयाँ १२ पैसा नेपाली रुपैयाँ थियो । तर अहिले माघ दुई गते नेपाली रुपैयाँ अवमूल्यन भएर १ सय १३ रुपैयाँ ९६ पैसा पुगेको छ । एक वर्षमा अमेरिकी डलर झण्डै १२ रुपैयाँले बढेको छ । यसअघि असोज २४ गते एक डलर बराबर १ सय १९ रुपैयाँ ३३ पैसा नेपाली रुपैयाँ पुगेको थियो । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर हुने भएकाले भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ अवमूल्यन हुन्छ । त्यसैले केही समययता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्य समेत घट्न गएको छ । 
नेपाली अर्थतन्त्रमा आयात–निर्यात, आर्थिक उदारीकरण, विश्वव्यापीकरण, आवतजावत जस्ता विषयका कारण असर परिरहेको हुन्छ । त्यसैले डलरमा हुने उतारचढाको सोझो असर नेपाली अर्थतन्त्रमा पर्छ । त्यस्तो असरका फाइदा र बेफाइदा दुवै हुन सक्छ । 

फाइदा
निर्यात बढन सक्छ 

नेपाली रुपैयाँको भाउ सस्तो हुँदा निर्यात हुने सामानको भाउ अन्तराष्ट्रिय आयातकर्ताकाले लागि सस्तो पर्न जान्छ । एक डलरले पहिला भन्दा बढि खरिद गर्न सक्छन् । जसले गर्दा नेपाली समानमा आयातकर्ताहरुको आकर्षण बढन सक्छ र यसले निर्यातलाएै टेवा पु¥याउँछ । तर नेपालबाट निर्यात हुने वस्तु न्यून हुँदा यसबाट हुने फाइदा बेफाइदा पनि स्वभाविक रुपमा सिमित हुन्छ । 

पर्यटन क्षेत्रबाट हुने आम्दानी बढछ 
नेपालमा विदेशी मुद्रा आम्दानी गर्ने एउटा प्रमुख स्रोत पर्यटन क्षेत्र पनि हो । त्यसैले विदेशी मुद्राको भाउ बढ्दा यसले पर्यटन मार्फत हुने आम्दानी बढाइदिन्छ। नेपाली मुद्रा सस्तो हुँदा डलर खर्च गर्ने पर्यटकलाई खर्चको हिसाबले कम पर्न जान्छ । पर्यटकको खर्च गर्ने क्षमतामा बृद्धि हुन्छ । 

बैदेशिक लगानी बढन सक्छ 
लगानी गर्न खोज्नेहरूलाई पनि कमजोर नेपाली मुद्राले केही प्रोत्साहन मिल्न सक्छ । 

रेमिट्यान्समा बृद्धि हुन्छ 
लाखौँ नेपालीहरू विदेशमा काम गर्छन् । कैयौँले त्यहाँ कमाएको पैसा विदेशी मुद्रामा नेपाल पठाउँछन् । डलरको भाउ बढदा नेपाल बढि पैसा पठाउन सक्छन् । यसले डलरको परिमाण बढन सक्छ । जसले शोधानान्तर घाटा कम गर्न सघाउ पु¥याउन सक्छ । 

विप्रेषण आयमा हुने वृद्धिले समग्र अर्थतन्त्रमा राम्रो प्रभाव पर्छ। पछिल्लो दश महिनाको आँकडामा विप्रेषण आय छ खर्ब रुपैयाँ नाघेको देखिन्छ। जबकि रोजगारका लागि जाने कामदारको सङ्ख्या केही घटेको छ। 

बेफाइदा
आयात बढदा शोधानान्तरमा समेत प्रभाव पार्छ

गत वर्ष नेपालले ११ खर्ब भन्दा बढि अयात र करिब १ खर्बको निर्यात गरेको थियो । चालु वर्षको छ महिनामा पनि आयात उच्च छ । डलरमा भएको बृद्धिले समेत आयातमा भएको भुक्तानी रकम बढेको छ । डलरको भाउ बढ्ने बित्तिकै विदेशी मुद्रा खर्च गरेर गरिनुपर्ने आयातको मूल्य स्वतः बढ्छ । जसले गर्दा व्यापार घाटा निकै उच्च छ । जसको नराम्रो असर शोधानान्तरमा पर्छ । विदेशी मुद्राको सञ्चितिपनि घट्छ । 

शोधानान्तर घाटा बढन सक्छ 
आयातमुखि व्यापार भएकाले नेपालबाट वार्षिक अर्बौ डलर बाहिरिन सक्छ । जसले शोधानान्तर स्थीतिमा सिधा असर पर्छ । रेमिट्यान्स, पर्यटन र निर्यातबाट भित्रने डलर भन्दा वस्तु आयातबाट बाहिरिने डलर बढि हुन जान्छ जसले गर्दा नेपालको शोधानान्तर स्थीति घाटामा जान सघाउ पु¥याउँछ ।

महँगी बढ्न जान्छ 
डलरको भाउ बढ्ने बित्तिकै विदेशबाट आयात हुने सामाग्रीहरु नेपाली बजारमा महँगो पर्न जान्छ । आयातमा निर्भर व्यापार भएकाले नेपालका निम्ति ठुलो बेफाइदा हुन्छ । नेपालमै उत्पादीत अधिकांस वस्तुहरुको कच्चा पदार्थ समेत विदेशबाट आयात गर्नुपर्ने भएकाले डलरमा भएको बृद्धि नेपालका लागि महँगो हुन जान्छ । इन्धनको मूल्य समेत निकै बढन सक्छ । 

बैदेशीक ऋणमा भार पर्न जान्छ 
सरकारले विदेशी मुद्रामा विभिन्न लगानी भित्र्याएको हुन्छ । त्यस्तो लगानी ऋणमार्फत समेत हुन सक्छ । त्यसैले नेपालले विदेशी मुद्रामा लिएको ऋणको परिमाण डलरको भाउ बढेसँगै बढ्न जान्छ। विदेशी ऋणको सावाँ र ब्याज तिर्न भनी बजेटमा छुट्ट्याएको रकम अपुग हुनसक्छ। यसले सरकारको बजेटमा नै असर पु¥याउँछ । सरकारी खर्च बढ्न जान्छ ।

विद्यार्थी शुल्क बापत बाहिरिने मुद्रा बढछ 
नेपलबाट विभिन्न मुलुकमा हजारौं विद्यार्थी पढन गएका छन् । उनीहरुले विदेशी मुद्रामा पैसा तिर्नुपर्छ । डलरको भाउ बढ्दा उनिहरुको परिवारमा आर्थिकभार बढ्न जान्छ । नेपालबाट विद्यार्थी शुल्कबापत करिब ५० अर्ब रुपैयाँ विदेशिने गर्छ । 

निश्कर्ष 
नेपालको अर्थतन्त्रको प्रकृति अनुसार डलरको भाउ बढदा फाइदा भन्दा बेफाइदा बढि नै हुन्छ । नेपालीले उपभोग गर्ने अधिकांश वस्तु आयात गर्नुपर्ने हुन्छ । जसले गर्दा डलरको भाउ बढदा आयात गर्ने वस्तुमा बढि नेपाली रुपैयाँ खर्च हुन जान्छ । तेल, सुन, सवारी साधन लगायत अनिवार्य आयात गर्नुपर्ने वस्तुहरुमा मात्रै खबैं रुपैयाँ बाहिरिन्छ । त्यसैले डलरको भाउमा बृद्धि हुँदा नेपाली अर्थतन्त्रमा सिधा असर पारेको हुन्छ ।