बैंकिङ खबर । वाणिज्य बैंकहरुले नयाँ ऋण रोकेका छन्। पुस अन्तिममा राजश्ववापत बैंकिङ प्रणालीबाट ८० अर्ब रुपैयाँ हाराहारी रकम सरकारी खातामा जानेछ। जसको व्यवस्थापन गर्नका लागि बैंकहरुले नयाँ ऋण रोकेका हुन्।
बैंकका प्रमुख कार्यकारीहरुले आफ्नो बैंकबाट राजश्वका लागि झिकिने रकमको मोटामोटी मुल्यांकन गर्दै त्यसबाट सिसिडीमा पर्ने असरको अध्ययन गरिरहेका छन्।
कर्जा प्रवाह यथावत रहेको अवस्थामा बैंकहरुमा निक्षेप थपिँदा सिसिडी रेसियो घट्न जान्छ भने निक्षेप घट्दा सिसिडी रेसियो बढ्न जान्छ। सिसिडी रेसियोलाई सन्तुलनमा राख्न कि बैंकहरुले निक्षेप जोड्नुपर्छ भने कि ऋण प्रवाह निक्षेपको अनुपातमा नियन्त्रण गर्नुपर्छ।
पुस अन्तिममा राजश्वका लागि ठूलो रकम झिकिने हुँदा सिसिडी रेसियोलाई सीमाभित्र राख्न बैंकहरुलाई यो महिना चुनौतिपूर्ण बन्दै आएको छ। 'यो अवधिमा बैंकमा निक्षेप त्यति आउँदैन भने राजश्वका लागि भएको निक्षेप पनि झिकिन्छ, अर्कोतर्फ दोस्रो त्रैमासिक वित्तीय विवरणमा सिसिडी रेसियोलाई सन्तुलित राख्नुपर्ने अवस्था छ' एक बैंकरले भने 'त्यसकारण नयाँ ऋण लगभग सबैले रोकेका छन्।'
पुस मसान्तसम्मको दोस्रो त्रैमासिक अवधिको वित्तीय विवरण समेत सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। सार्वजनिक गर्नुपर्ने वित्तीय विवरणमा सिसिडी रेसियोलाई ८० प्रतिशतको सीमाभित्रै राख्नुपर्दछ। अन्यथा बैंकहरुलाई राष्ट्र बैंकले विभिन्न कारबाही गर्नेछ।
प्राथमिक पुँजी तथा निक्षेपबाट प्रवाह हुने कर्जाको हिस्सालाई सिसिडी रेसियोले अंकमा जनाउँछ। यस्तो रेसियो ८० प्रतिशतभन्दा बढी भएमा कारबाही हुन्छ। अहिले करिब १ दर्जन वाणिज्य बैंकहरु सिसिडी रेसियोमा ८० प्रतिशतको नजिक छन्। त्यसकारण धेरै निक्षेप घट्दा सिसिडीको सीमा नाघ्न सक्ने जोखिम ति बैंकहरुमा देखिन्छ।
पुस मसान्तको डरकै कारण कतिपय बैंकले ऋण अर्को बैंकलाई बेचेर समेत सिसिडी रेसियो घटाएका छन्। कुनै ऋणीले पहिलो बैंकबाट लिएको ऋण दोस्रो बैंकलाई जिम्मा लगाएपछि पहिलो बैंकको सिसिडी रेसियो घट्छ।
निक्षेप यथावत रहेको अवस्थामा बैंकहरुले प्रवाह गरेको ऋण बढेमा सिसिडी रेसियो पनि बढ्न जान्छ भने ऋण घटेमा सिसिडी रेसियो पनि घट्न जान्छ। बैंकहरुमा लगानीयोग्य रकमको अभावकै कारण केही वर्षयता पुस महिना सबैभन्दा जटिल महिना बन्दै आएको छ। आर्थिक वर्षको अन्तिममा मात्रै विकास खर्च गर्ने खराब परिपाटी अन्त्य हुन सकेको छैन।
त्यसले गर्दा सरकारी खातामा राजश्व रकम गइसकेपछि पनि त्यो रकम खर्च हुन नसक्दा वित्तीय प्रणालीमा त्यसले असर पार्ने गरेको छ। अर्कोतर्फ भित्रिने रेमिट्यान्स चाडपर्वका बेला बढी आउने हुँदा पुस महिना निक्षेपका लागि जटिल बनेको हो। त्यस्तै वैदेशिक लगानी समेत पर्याप्त आउन सकेको छैन। यसले अझै २\३ महिना बैंकहरुमा लगानीयोग्य रकमको अभाव भने रहिरहने देखिन्छ।