बैंकिङ खबर । नेपालको पुँजी बजार अझै पनि परिपक्व रुपले विकास हुन सकेको छैन । लगानीकर्ताहरुमा लगानी गर्दा अपनाउनुपर्ने न्युनतम आधारहरुको विश्लेषण गरी लगानी गर्ने बानीको विकास भएको एकातर्फ देखिँदैन भने अर्को तर्फ बजारमा त्यस्ता लगानीकर्ताहरुलाई लगानी व्यवस्थापन सेवा प्रदान गर्ने दक्ष लगानी व्यवस्थापकहरु देखिएका छैनन् । नियमक निकाय तथा सरकार समेत बजारको आधारभूत मान्यतामा रहेर बजारमैत्री नीतिगत व्यवस्था गर्ने तथा सो को कार्यान्वयन गर्ने क्रममा प्राप्त अनुभवबाट देखा परेका समस्या समाधान गर्ने, अव्यवहारिक व्यवस्थाहरुमा सुधार ल्याउने र बजारका अवयवहरुको जगेर्ना गर्ने तर्फ सचेत भई कार्य अगाडि बढाउने भन्दा पनि देखाउनका लागि कारवाही गर्ने, तजविजि अधिकारका आधारमा अप्ठेरो अवस्था श्रृजना गरी दुखः दिने नियतका साथ प्रस्तुत भएको देखिन्छ । पुँजीबजारको हालको यस्तो अवस्थामा कसरी सुधार गर्न सकिन्छ भने विषयमा नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष एवम् सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाका सुझावहरु यहाँ प्रस्तुत गरिन्छ :
नीतिगत ब्यवस्थामा सुधार
पुँजी बजार भनेको प्राविधिक प्रकृतिको हुन्छ । यसको विकास र विस्तारका लागि गरिने नीतिगत व्यवस्था भनेको विश्व बजारमा प्रचलनमा रहेका विभिन्न डाइभर्स किसिमका फाइनान्सियल प्रोडक्टहरु पयोगमा ल्याई पुँजी परिचालनलाई दक्ष बनाउनका लागि र बजारमा स्थायीत्व कायम गर्नका लागि लक्षित हुन जरुरी हुन्छ । विश्व बजारमा प्रचलनमा ल्याईएका अभ्यासहरुलाई नेपालको परिस्थतिसँग तुलना गर्दै भिन्न परिस्थितिमा ती अभ्यासलाई के कसरी हार्मोनाईज गरी बजार मैत्री नीतिगत व्यवस्था गर्न सकिन्छ त्यस प्रति सचेत रहि गर्नुपर्ने हुन्छ । विश्वमा भएका सबै वित्तीय उपकरण र अभ्यासलाई एकैसाथ हाम्रो देशमा समेत प्रचलनमा ल्याउन सम्भव हुँदैन । आवश्यकता र औचित्यताको आधारमा क्रमिक रुपमा त्यसतर्फ उन्मुख हुनुपर्दछ । यसकारण कुनै पनि नीतिगत व्यवस्था गर्नका लागि गहन अध्ययन आवश्यक छ । यो नियामक एक्लैबाट सम्भव हुँदैन । बजारमा आवद्ध सम्पूर्णको अनुभव तथा विज्ञहरु सम्मिलित विषयगत विशेषज्ञहरुको समूह बनाई विषयगत नीतिगत व्यवस्थाका लागि निरन्तर लागिपर्ने स्थायी संयन्त्रको व्यवस्था गर्नु सान्दर्भिक हुन्छ । यसले बजारसम्बन्धी नीतिगत व्यवस्थाको स्वामित्व समेत बजारले नै लिने प्रकारले काम गर्दा बजारमैत्री नीतिगत व्यवस्था गर्न सम्भव हुन्छ । स्वार्थको द्धन्द्ध व्यवस्थापनमा नीति निर्माणमा निकै सजग रहनु पर्दछ ।
नीतिगत ब्यवस्था गर्नु सामान्य कार्य हैन । २।४ जना बसेर एकदिन सामान्य छलफल गरेर मात्र हुँदैन । नयाँ वित्तीय उपकरण तथा वित्तीय बजारका अभ्यासहरु बाह्य देशबाट अनुशरण गर्न सकिन्छ । तर, उक्त देशमा सो वित्तीय उपकरण तथा वित्तीय बजारका अभ्यासहरुको विकासमा सहयोग पुर्याउने अन्य पुर्वाधार व्यवस्था, नीतिगत व्यवस्था, बजारको अवस्था आदिको समेत अवलोकन र मूल्यांकन गरेर मात्र त्यस्ता कुराको अनुशरण गर्नु पर्दछ । साथै, यसका लागि उपयुक्त नीतिगत तथा पुर्वाधार व्यवस्था मात्र भएर पुग्दैन नियामकको यसप्रतिको स्पष्ट बुझाई, यसको कार्यान्वयन गर्ने भरपर्दो संस्थागत व्यवस्था र कार्यान्वयनका क्रममा कुनै समस्या आएमो सो लाई सुधार गर्दै जगेर्ना गर्ने सरकार तथा नियामकको नियत समेत महत्वपूर्ण हुन्छ ।
पुर्वाधार व्यबस्था
हालसम्म पनि नेपालको पुँजी बजारको पुर्वाधार व्यवस्था पूर्णरुपमा तयार भइसकेको छैन । धितोपत्र निष्काशनदेखि सुचीकरण तथा कारोबारका लागि अन्तर्राष्ट्रिय स्तरको पुर्वाधार व्यवस्था अत्यन्त आवश्यक हुन्छ । हालसम्म प्रचलनमा आई नसकेका वित्तीय उपकरण तथा अभ्यासका लागि थप पुर्वाधारहरु आवश्यक पर्दछ जसका लागि नीतिगत व्यवस्था गर्दा नै सुझाव आउनुपर्दछ । त्यसपछि मात्र नीति कार्यान्वयन गर्न सहज हुन्छ । एउटा नीतिगत व्यबस्था गर्दा र सोमा परिर्वतन गर्दा पर्न जाने चौतर्फि असरबारे चनाखो हुनु आवश्यक हुन्छ ।
बजार सुपरिवेक्षण तथा नियम पालना
नियामक निकायले एकातर्फ विद्यमान कानुनको पालना भएको छ छैन भनेर निरन्तर सुपरिवेक्षण गर्ने तथा नियम उलंघन गर्नेलाई सचेत गराउने र त्यसो गर्दा गर्दै पनि थप उल्लंघन हुन थालेमा हदैसम्मको कारवाही गर्न समेत पछि पर्नु हुँदैन । तर पुँजी बजार प्राविधिक प्रकृतिको हुने र यसको विकासक्रममा निरन्तर नयाँ नयाँ इन्नोभेसन भई रहने हुँदा सोही बमोजिम नयाँ नयाँ अभ्यासहरु कार्यान्वयन गर्ने क्रममा प्राप्त अनुभवका आधारमा विद्यमान कानुनी व्यवस्थामा समेत सुधार गर्दै जानु पर्दछ । अन्य मुलुकमा प्रचलनमा रहेका अभ्यासहरु अनुसरण गर्ने क्रममा हामीले गरेका कतिपय कानुनी व्यवस्थाहरु औचित्यहिन र अव्यबहारिक हुन सक्ने हुँदा उक्त कानुनको उलंघनलाई संवेदनशिल भएर नियाल्दै ती कानुनी व्यवस्थाहरुमा क्रमिक सुधार गर्दै यस्ता अभ्यासहरुलाई जगेर्ना तथा प्रोत्साहन गर्ने नियत नियामक निकायको हुनु जरुरी हुन्छ ।
औचित्यहिन कानुनको पालना भएन भनेर अनावश्यक कारवाही गर्ने, बजारमा सेवा प्रदायक संस्थाहरुलाई तर्साउने जस्ता क्रियाकलापलाई नियामकले गर्ने जघन्य अपराधको रुपमा लिनु पर्दछ । स्पष्ट नियमन व्यवस्था गर्न नसक्ने अनि तजविजि अधिकार राखेर दुःख दिने नियत नियामकमा रह्यो भने अन्र्तराष्ट्रिय प्लेयरहरु नेपालमा आउँदैनन् । यसले बजारको विकासमा अवरोध श्रृजना गर्दछ । तसर्थ सुपरिवेक्षण तथा नियम पालना तर्फ अत्यन्तै संवेदनशिल हुनु जरुरी हुन्छ ।
कारबाही र जरिवाना गरेर मात्रै सुपरीवेक्षण प्रभावकारी हुँदैन । यसका लागि एउटा निश्चित प्रक्रिया अपनाउनुपर्छ । नियामकले किन र कस्तो गल्ती गर्यो र कस्तो कारबाही गर्ने भन्ने विषयमा विचार तथा परामर्श नगरी निलम्बन गर्ने, जरिवाना गर्ने कि जाँचबु्झ गर्ने भन्ने विषयमा निर्णय गर्नुपर्छ । कारबाही गर्दा स्पष्टीकरण बुझाउने मौका दिने कि सिधै कारबाही गर्यौ भनेर पत्राचार गर्ने ? उक्त कारबाहीले बजारमा कस्तो प्रभाव पार्छ ? त्यो पनि हेर्नुपर्छ ।