Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अर्थमन्त्रीले जित्न सकेनन् सुमार्गीलाई, सर्बोच्चले उल्ट्याइदियो पासा 

२०७५ पुष १३ गते

बैंकिङ खबर । ब्यवसायी अजयराज सुमार्गीले सुर्खेतमा मुक्तिश्री सिमेन्ट उद्योग संचालन गर्नका लागि ल्याएको विदेशी रकम सर्बोच्चले फुकुवा गर्न आदेश दिएको छ । तत्कालिन गभर्नर डा. यूवराज खतिवडाको पालामा नेपाल राष्ट्र बैंकले स्रोत नखुलेको र कागजात पुरा नगरेको भन्दै उक्त रकम भुक्तानी नगर्न निर्देशन दिएपछि नेपाल इन्भेष्टमेन्ट बैंकमा आएको सुमार्गीकोे ७५ लाख डलर बैंकमै रोक्का गरिएको थियो । अहिले तिनै गभर्नर संघीय सरकारको अर्थमन्त्री हुँदा सर्वोच्चले उक्त रकम फुकुवा गरिदिएको छ । सर्बोच्च अदालतले नेपाल राष्ट्र बैंकलाई उक्त रकम फुकुवा गर्न अन्तरिम आदेश दिएसँगै अब मुक्तिश्री सिमेन्ट उद्योगमा लगानी गर्ने बाटो खुलेको छ । 

सुमार्गीले नेपालमा टेलिकम होटल जलविद्युत सिमेन्ट र सुपरस्टोरमा लगानी गर्ने भन्दै २०६८ सालमा साइप्रसको विभिन्न कम्पनीबाट ११ करोड डलर रकम नेपाल इन्भेष्टमेन्ट बैंक र नविल बैंकमार्फत नेपाल भित्राएका थिए । २०७१ सालसम्ममा ११ करोड डलर रकममध्ये आठ करोड डलर भन्दा बढी रकम झिकिसकेका थिए । तर स्याटेलाइट कम्पनी हेलो नेपाल र मुक्तिश्री सिमेन्ट उद्योगको नाममा भित्रिएको रकम निकाल्ने बेलामा तत्कालिन गभर्नर डा. खतिवडाले बाँकी रहेको रकम कागजात नपुगेको र स्रोत नखुलेको भनेर बैंकलाई रोक्का गर्न निर्देशन दिएका थिए ।

नेपाल राष्ट्र बैंकको उक्त निर्देशनबमोजिम बैंकहरुले रकम रोक्का गरेपछि आफ्नो नाममा रोक्का भएको दुई करोड १३ लाख डलर रकम फुकुवा गर्नको लागि स्याटेलाइट कम्पनी हेलो नेपालले सर्बोच्चमा रिट दायर गरेको थियो । सर्बोच्चले पनि उक्त रिटको सुनुवाइ गर्दै उक्त रकम फुकुवा गर्न अन्तरिम आदेश दियो र उक्त रकम फुकुवा भयो । तर मुक्तिश्री सिमेन्ट उद्योगको नाममा आएको रकम भने फुकुवा भएन । त्यसपछि मुक्तिश्री सिमेन्ट उद्योग पनि रिट दायर सर्वोच अदालत पुग्यो । मुक्तिश्री सिमेन्ट उद्योगको रिटलाई अगाडि बढाउँदै सर्बोच्चले उक्त सिमेन्ट उद्योगको नाममा रोक्का रहेका रकम फुकुवा गर्न अन्तरिम आदेश दिएको हो ।

को हुन् अजयराज सुमार्गी ?
अजयराज सुमार्गीका बाबु माधवराज सुमार्गीले हेटौँडा चुन उद्योग प्रालिको नामबाट २०२८ मा व्यवसायिक क्षेत्रमा हात हालेका थिए । बाबुको निधन भएपछि आफ्नो परिवारको व्यवसायिक विरासत सम्हाल्दै आएका अजयराज सुमार्गी तत्कालीन मेरो मोबाइल (हाल एनसेल)का संस्थापकमध्येका एक हुन् । तत्कालिन नेकपा माओवादी तथा हालका नेकपाका अध्यक्ष प्रचण्ड निकटका ब्यवसायी चिनिने सुमार्गीको नेपाल स्याटेलाइट कम्पनी हेलो नेपाल, हिमालयज अनटप खानेपानी, मुक्तिश्री सिमेन्ट, थाहा मिडिया ग्रुप लगायतका क्षेत्रमा लगानी रहेको छ ।

Ad