Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

निक्षेपको व्याजदरमा सीमा नतोकिने, उत्पादनमुलक कर्जामा तोकियो

२०७५ पुष ५ गते

बैंकिङ खबर। बैंकहरुले निक्षेपकर्तालाई दिने व्याजमा सरकारले प्रत्येक्ष रुपमा अधिकतम सीमा नतोक्ने भएको छ।

मुद्रा तथा पुँजी बजार समस्या र समाधानका लागि डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले अर्थमन्त्री डा. युवराज खतिवडालाई बुझाएको प्रतिवेदनले निक्षेपकर्ताको व्याजमा क्याप नतोक्नेगरी सुझाव दिएको छ। 

यद्यपी बैंकहरुलाई नै यसमा जिम्मेवार बनाउनेगरी प्रतिवेदनमा सुझावहरु समेटिएको छ। बैंकहरुले लिँदै आएको भद्र सहमतिको व्यवस्थालाई नै प्रोत्साहन गर्नुपर्ने प्रतिवेदनमा समेटिएको छ। 

प्राथमिकताप्राप्त क्षेत्रमा जाने कर्जाको व्याजदरमा भने अधिकतम सीमा लगाउन कार्यदलले सुझाएको छ। आधार व्याजदरमा २ प्रतिशतभन्दा बढी व्याज लिन नपाउनेगरी राष्ट्र बैंकले सीमा तोक्नुपर्ने सुझाव दिइएको छ। 

कृषि, पर्यटन र उर्जा क्षेत्रलाई प्राथमिकताप्राप्त क्षेत्रका रुपमा लिइँदै आएको छ। यी क्षेत्रमा बैंकरुले तोकिएको २५ प्रतिशत कर्जा समेत प्रवाह गर्न सकेका छैनन्। व्याज सस्तो हुँदा यी क्षेत्रमा कर्जा बढ्ने र त्यसले उत्पादनलाई टेवा पुग्ने समितिको ठहर छ। 

प्रत्येक्ष रुपमा व्याजदरको सीमा नतोके पनि व्याजदर नियन्त्रणका लागि अन्य टुल्सको सीमालाई भने कडाई गरिने भएको छ। वित्तीय उपकरणको प्रयोगाबाटै कर्जामा जाने व्याजदरलाई नियन्त्रण गर्न सकिने प्रतिवेदनमा औंल्याइएको छ। 

आगामी चैतसम्म बैंकहरुको स्प्रेडदर ४.७५ मा झार्न राष्ट्र बैंकले निर्देशन दिनुपर्ने उल्लेख गरिएको छ। असार मसान्तसम्म यो दर साढे ४ प्रतिशतमा झार्नुपर्ने व्यवस्था मौद्रिक नीतिले नै गरेको थियो। 

प्रतिवेदनमा १ वर्षसम्म लागू गर्न सक्नेगरी सुझावहरु दिइएको छ। प्रतिवेदनको आशयअनुसार आगामी मौद्रिक नीतिले स्प्रेड दरलाई अझ कसिलो बनाउने छ। 
 

सेयर बजारका धेरै समस्या सम्वोधन 
प्रतिवेदनले सेयर धितोमा जाने कर्जा बढाउन सुझाव दिएको छ। हाल सेयर धितो कर्जामा बजार मूल्य वा पछिल्लो ६ महिनाको औसत मूल्यको ५० प्रतिशत रकम मात्रै ऋण दिन पाउने व्यवस्था छ।

यसलाई बढाएर ६५ प्रतिशत कायम गर्न प्रतिवेदनले सुझाएको छ। हालको मौद्रिक नीतिले अटो क्षेत्रमा जाने कर्जालाई ५० बाट बढाएर ६५ पुर्याए पनि सेयर धितोमा भने यथावत राखेपछि लगानीकर्ता सरकारसँग रुष्ट बन्दै आएका छन्।

त्यस्तै सेयरको 'वेटेड रिस्क' (पुँजीगत जोखिम भार)लाई घटाइने भएको छ। हाल सेयर कर्जालाई १५० प्रतिशतको जोखिम भार मानिँदै आएकोमा यसलाई १ सयमा झार्न प्रतिवेदनले सुझाएको छ।

सेयरको बजार मूल्य अहिले कम भएको र जोखिम पनि घटेको ठहर गर्दै समितिले जोखिम भार घटाउन भनेको हो। बजार मूल्य अनुरुप सेयरको जोखिमभारलाई परिवर्तन गर्दै लैजान सकिने प्रतिवेदनमा औंल्याइएको छ।

त्यस्तै नागरिक लगानी कोषलाई मार्केट मेकरको रुपमा विकास गर्नका लागि प्रतिवेदनले सुझाएको छ। स्रोतका अनुसार कोषलाई सहायक कम्पनीमार्फत मार्केट मेकरको काम गर्ने जिम्मा दिइने भएको छ। सहायक कम्पनीले कति रकमबाट काम गर्ने भन्ने सम्वन्धमा कोषलाई नै जिम्मा दिइने भएको छ।

धितोपत्र बोर्डले ३ वर्षदेखि नै मार्केट मेकरका रुपमा कोषलाई जिम्मा दिनेगरी कार्यविधि बनाए पनि नेप्सेको प्रणालीले सपोर्ट नगर्दा रोकिएको थियो।
 

Ad