December 9th, 2018

धेरै रेमिट्यान्स भित्र्याउनेमा नेपाल दक्षिण एसियामै चौथो

बैंकिङ खबर। दक्षिण एसियामा धेरै रेमिट्यान्स भित्र्याउने मुलुकहरुको सूचीमा नेपाल चौथो स्थानमा परेको छ । 

 विश्व बैंकले सार्वजनिक गरेको ‘माइग्रेशन एण्ड डेभलेपमेन्ट ब्रीफ ३०’   प्रतिवेदनले २०१८ मा नेपाल दक्षिण एसियामा धेरै रेमिट्यान्स प्राप्त गर्ने मुलुकको चार नम्बरमा परेको हो । २०१८ मा ८ अर्ब २ करोड अमेरिकी डलर रेमिट्यान्स नेपाल भित्रिएको प्रतिवेदनले जनाएको छ । 

धेरै रेमिट्यान्स भित्र्याउने देशहरुको सूचीमा ७९ अर्ब ५ करोड अमेरिकी डलरसहित पहिलो स्थानमा भारत परेको छ । 

दोस्रो स्थानमा पाकिस्तान र तेस्रोमा  बंगलादेश परेको छ । २०१८ मा पाकिस्तानले २० अर्ब ९ करोड अमेरिकी डलर र बंगलादेशले १५ अर्ब ९ करोड अमेरिकी डलर रेमिट्यान्सको रुपमा भित्र्याउन सफल भएका छन् । 

नेपालको स्थानपछि श्रीलंका परेको छ। उसले ७ अर्ब ६ करोड अमेरिकी डलर भित्र्याएको प्रतिवेदनले जनाएको छ । न्यून तथा मध्यम आय भएका मुलुकहरुमा रेमिट्यान्स बढ्दै गएको प्रतिवेदनले औंल्याएको छ । 

 क्षेत्रगत हिसाबले मध्य एसिया र युरोपमा २० प्रतिशतले बढेको छ भने दक्षिण एसियामा १४ प्रतिशतले बढेको छ ।

प्रतिवेदन अनुसार रेमिट्यान्समा धेरै निर्भर हुने देशहरुको सुचीमा भने नेपाल दक्षिण एसियामै पहिलो स्थानमा रहेको छ। नेपालको जिडीपीको अनुपातमा ३०. १ प्रतिशत रेमिट्यान्सले ओगट्ने गरेको उल्लेख छ ।  विश्वमै यो स्थानमा नेपाल चार नम्बरमा छ । 

३७ प्रतिशतले बढ्यो रेमिट्यान्स
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३७ प्रतिशतले रेमिट्यान्स बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार साउन, भदौ र असोज महिनामा २ खर्ब ४२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । 

अघिल्लो वर्षको साउन, भदौ र असोजमा भन्दा यो ३७ प्रतिशत बढी हो । अघिल्लो वर्ष जम्मा २. ६ प्रतिशतले बढेको रेमिट्यान्स वृद्धिदर नयाँ आर्थिक वर्षको सुरुआतमा उच्च देखिएको छ । 

भारत, दक्षिण कोरिया, जापान लगायत देशबाट वैधानिक माध्यमबाट रकम आउन थालेसँगै रेमिट्यान्स बढेको हो । हुन्डीको प्रयोग निरुत्साहित हुँदै जाँदा पनि रेमिट्यान्सको वृद्धि उच्च देखिएको राष्ट्र बैंकले जनाएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]