May 26th, 2016

सरकारीे लगानीका ३७ संस्थानहरु : कति घाटामा र कति नाफामा (विवरणसहित)

economicआर्थिक वर्ष २०७१/०७२ मा ३७ सार्वजनिक संस्थानबाट ३३ अर्ब ९२ करोड २७ लाख खुद नाफा भई संस्थानको अवस्थामा सुधार देखिएको छ । सरकारले विहिबार सार्वजनिक गरेको संस्थानहरुको वार्षिक स्थिति समीक्षा–२०७३ अनुसार आव २०७/७२ सम्ममा ३७ संस्थानमा सरकारको कुल सेयर लगानी १ खर्ब २६ अर्ब १६ करोड ३ लाख रुपैँया पुगेको छ भने सोही अवधिसम्ममा कुल ऋण लगानी १ खर्ब २९ अर्ब ९६ करोड १८ लाख रुपैँया पुगेको छ । आव २०७१/७२ मा ३७ संस्थानमा कार्यसञ्चालनस्तरमा कार्यरत कर्मचारीको संख्या कुल २७ हजार ८ सय ६२ रहेको छ भने अघिल्लो आवमा यो संख्या २९ हजार ५ सय ७९ थियो । आव २०७१/७२ मा ३७ वटा सार्वजनिक संस्थानमध्ये २० वटा नाफामा र १४ वटा नोक्सानीमा गएका देखिएका छन् । 

नाफामा चलेका संस्थान
आव २०७०/७१ मा खुद नाफा ५ अर्ब ५ करोड ३ लाख रुपैँया रहेको थियो । मूलतः विगत आवहरुमा नोक्सानमा रहेको नेपाल आयल निगम आव २०७१/७२ मा करिब १५ अर्बले नाफामा रहेको छ । त्यस्तै नेपाल दूरसञ्चार कम्पनी, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले आव २०७१/७२ मा उल्लेख्य नाफा बढाएका कारण ठूलो अङ्कमा नाफा हुन गएको हो । दुग्ध विकास संस्थान, कृषि सामग्री कम्पनी लिमिटेड, राष्ट्रिय बीउबिजन कम्पनी लिमिटेड, नेपाल खाद्य संस्थान, नेपाल आयल निगम, दि टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेड, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेड, नेपाल वायु सेवा निगम, नेपाल नागरिक उड्डयन प्राधिकरण, गोरखापत्र संस्थान, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, कृषि विकास बैंक, राष्ट्रिय बिमा संस्थान (निर्जीवन), एनआइडिसी डेभलपमेन्ट बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, निक्षेप तथा कर्जा सुरक्षण निगम लिमिटेड, नेपाल आवास कम्पनी लिमिटेड, नागरिक लगानी कोष र जलविद्युत् लगानी तथा विकास कम्पनी नाफा सञ्चालनमा रहेका देखिएका छन् ।

नोक्सानमा चलेका संस्थान
आव २०७१/७२ मा दूरसञ्चार कम्पनीले करिब १४ अर्ब ५५ करोड, वाणिज्य बैंकले करिब ४ अर्ब ६४ करोड र कृषि विकास बैंकले करिब ४ अर्ब ३२ करोड खुद नाफा गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा–२०७३ मा उल्लेख छ । आव २०७१/७२ मा सरकारको पूर्ण वा अधिकांश स्वामित्वमा सञ्चालित ३७ वटा संस्थानमध्ये कुल सञ्चालन आय २ खर्ब ७० अर्ब ४८ करोड ४७ लाख पुगेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५.०६ प्रतिशतले वृद्धि हो । कुल सञ्चालन आय वृद्धि हुनुलाई संस्थानको वित्तीय कार्यकुशलतामा सुधार भएको मानिन्छ । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, हेटौँडा सिमेन्ट उद्योग लिमिटेड, नेपाल औषधि लिमिटेड, उदयपुर सिमेन्ट उद्योग लिमिटेड, नेपाल ओरियन्ड म्याग्नासाइट प्रालि, नेसनल ट्रेडिङ लिमिटेड, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र लिमिटेड, सांस्कृतिक संस्थान, जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, नेपाल टेलिभिजन, राष्ट्रिय आवास कम्पनी लिमिटेड, नेपाल खानेपानी संस्थान, नेपाल विद्युत् प्राधिकरण र राष्ट्रिय बिमा संस्थान (जीवन) नोक्सानीमा छन् ।

नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र लिमिटेड र नेसनल कन्स्ट्रक्सन कम्पनी नेपाल लिमिटेडका कर्मचारीहरुको अवकाश भई विवरण प्राप्त हुन नसकेको तथा जनकपुर चुरोट कारखाना लिमिटेडका कर्मचारीको अवकाश भई सीमित तथ्याङ्क मात्र प्राप्त भएको समीक्षामा उल्लेख छ । संस्थान व्यवस्थापनमा मौजुदा स्रोत साधनको उच्चतम उपयोग हुन नसक्नु, कानुनी र नीतिगत एकरुपता एवम् प्रस्टता हुन नसक्नु, कर्मचारीको कार्यसम्पादनका आधारमा पुरस्कृत र दण्डित गर्न नसक्नु, पुरातन प्रविधिको प्रयोग कामय रहनु लगायतका चुनौती देखिएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]