October 15th, 2018

लघुवित्त र यसको प्रचलित मोडेल

रमेश कुमार पोखरेल । सोझो अर्थमा लघु भनेको सानो र वित्त भनेको रकम संकलन र उपयोग सम्बन्धमा गरिएको प्रवन्ध हो । व्यवसायिक दृष्टिबाट भन्दा परम्परागत व्यवसायिक बैंकिङ सेवाबाट बञ्चित गरीव तथा उनीहरुबाट सञ्चालित लघु उद्यमलाई वित्तीय  श्रोत उपलव्ध गराउन व्यवस्थित सन्यन्त्र नै लघुवित्त हो । लघु वित्तका दुई आयाम हुन्छन् : वित्तीय सेवा र सचेतनामुलक सेवा । यसले एकातिर गरीव तथा विपन्नहरुलाई बचत, कर्जा, बीमा, भुक्तानी तथा रकमान्तरसँग सम्वन्धित वित्तीय मध्यस्थता सेवा उपलव्ध गराउँछ भने अर्कोतर्फ उनीहरुको शिक्षा, स्वास्थ्य, सरसफाइ, सशक्तिकरण, उद्यमशिलता विकास जस्ता सचेतनामुलक तथा गैर वित्तीय सेवा पस्कन्छ । 

लघुवित्तको मान्यता
गरीबसँग पैसा हुँदैन, बचत गर्न सक्दैनन्, उद्यमशिलता हुँदैन, पैसाको सदुपयोग गरी आम्दानी गर्ने क्षमता हुँदैन भन्ने परम्परागत मान्यतालाई अस्विकार गर्दै उनीहरुसँग उद्यमशिलता हुन्छ, बचत गर्ने सामथ्र्य हुन्छ, रोजगारी श्रृजना र आम्दानी गर्न सक्छन् भन्ने मान्यतामा लघुवित्त व्यवस्था आधारित छ । वित्तीय श्रोतको पहिचान, संकलन र उपयोगको लागि उच्च स्तरको सुझबुझ, ज्ञान, सीप, क्षमता, आर्थिक अनुशासन र विवेकको आवश्यकता हुन्छ । ज्ञान, सीप र क्षमताको विकासका साथै वित्तीय श्रोतको उपलव्धताले वित्तीय श्रोतको सदुपयोगिताको सुनिश्चितता हुन्छ । यसबाट वित्तीय श्रोतको उपयोगकर्ताले अधिकतम लाभ प्राप्त गर्दछ र लघुवित्त संस्था समेत दीगो र लाभान्वित हुन्छ । 

लघुवित्तको भूमिका
समूहमा बस्ने, आफ्ना समस्याहरु र तिनका समाधानका विभिन्न विकल्पहरुका बारेमा छलफल गर्ने, उपयुक्त निर्णय लिने संस्कृतिको विकास गर्न सहयोग पुग्दछ । समस्याहरुको सामूहिक प्रयत्नबाट समाधान गर्ने संस्कृतिले नेतृत्व क्षमताको विकासमा समेत टेवा पुग्दछ । महिला लक्षित कार्यक्रम भएकोले महिलाहरुका समस्या समाधान हुनुका साथै महिला सशक्तिकरणमा समेत लघुवित्तको ठूलो भूमिका हुन्छ । 

लघुवित्तले न्यून आय भएका गरीवहरुको सर्वाङ्गिण विकास गरी समाजमा बहुआयामिक प्रभाव पार्दछ । विभिन्न तालिमको माध्यमले गरीवहरुमा उघमशिलताको विकास गराउँछ । उघमशिलताले लघु उद्यम स्थापना गर्न सहयोग गर्दछ, यसबाट स्वरोजगार श्रृजना हुनुका साथै अरुका लागि पनि रोजगारी श्रृजना हुन्छ, रोजगारीले आम्दानीमा बृद्धि हुन्छ, आम्दानीमा भएको वृद्धिले एकातिर उपभोगमा वृद्दि हुन्छ भने अर्कोतिर बचत गर्ने क्षमता वृद्धि हुन्छ । गरिवी निवारण हुन्छ र देश समृद्ध बन्छ । त्यसैले गरीवी निवारण र आर्थिक समृद्धिको लागि हाम्रो जस्तो देशमा लघुवित्तभन्दा अर्को कुनै उपकरण नै छैन भन्दा पनि फरक पर्दैन । 

न्यूनआयभएकाव्यक्तिहरुलाई वित्तीय सेवा उपलव्ध गराउने अवधारणा धेरै पुरानो हो । आधुनिक बैंकिङको जग नै अनौपचारिक ऋण समूहहरु हुन् । स–साना ऋण समूहहरु आधुनिक औपचारिक लघुवित्तका प्रारम्भिक पाइलाहरु हुन् । लघुवित्त सेवा समाज सापेक्ष हुन्छ । विभिन्न सामाजिक, आर्थिक, सांस्कृतिक तथा भौगोलिक अवस्थाले वित्तीय सेवाको मोडल निर्धारण गर्दछ । त्यसैले लघुवित्तका विभिन्न देश, समाज र भूगोलमा फरक फरक मोडल छन् । केही प्रसिद्ध मोडलहरु तल उल्लेख भए बमोजिमका छन् :
१. Individual Lending Model : यो सरल र पुरानो मोडल हो । द बैंक रायत, इण्डोनेशियाले सफलतापूर्वक सञ्चालन गरेको यस मोडलमा ऋण लगायत सबै वित्तीय सेवाहरु व्यक्ति र व्यक्तिबाट सञ्चालित व्यवसायलाई उपयुक्त हुने गरी डिजाइन गरिएको हुन्छ । समूह निर्माण गर्नु नपर्ने भएकोले असुलीको लागि सामुहिक दबाब हुँदैन । त्यसैले ऋण प्रवाहगर्दा असुलीको सुनिश्चितताको लागि सुरक्षणको मागको साथै ऋणीको शाखको विश्लेषण गरिन्छ । ग्राहकको व्यक्तिगत सूचना, जानकारी, प्रतिष्ठा, आम्दानीको श्रोत, व्यवसायिक सक्षमता, उमेर, उद्देश्य, पृष्ठभूमि आदिको सुक्ष्म ढंगले विश्लेषण गरिन्छ । लघुवित्तको क्षेत्रमा बढ्दै गएको प्रतिस्पर्धाले यस मोडल प्रतिआकर्षण बढ्दै गएको पाइन्छ । 

२. Village BankingModel : बोलिभियामा सन् १९८० मा FINCA(Foundation for International Community Assistance)द्धारा विकास गरिएको लघुवित्तको यो मोडल समूहको विस्तारित रुप हो । स्वरोजगारको माध्यमबाट आफ्नो जिवनस्तर सुधार गर्न चाहने ३० देखि १०० जना न्यून आय भएका व्यक्तिहरु मिली यसको स्थापना गरिन्छ । सदस्यहरुको बचत रकम परिचालन गरी ऋण प्रवाह गरिन्छ । बचत रकम नपुग भएको अवस्थामा लघुवित्त संस्थाबाट कर्जा लिई समूह सदस्यहरुलाई प्रवाह गरिन्छ । समूह सदस्यहरुले आफैं Village Bank सञ्चालन गर्दछन्, सञ्चालक आफैं चुन्छन्, कर्मचारी आफैं राख्छन्, नियम आफैं बनाउँछन्, ऋण लगानी र असुली आफैं गर्दछन् । साप्ताहिक ऋण असूली, प्रजातान्त्रिक र स्वतन्त्र नियन्त्रण प्रणाली यसका आधारभुत विशेषता हुन् । यो मोडल केयर ग्वाटेमाला, सेभ द चिल्ड्रेन एल साल्भाडोर जस्ता संस्थाको प्रयासमा  सफलतापूर्वक सञ्चालन भइरहेको छ् ।

३.Co-operative Model : सन् १८०७मा जर्मन नागरिक F.W. Raiffeisen ले गरीव तथा न्युन आय भएका जनताको आर्थिक अवस्थामा सुधार ल्याउने अभिप्रायले शुरु गरेका हुन् । गरिवी र परनिर्भरता पर्याय हुन्, गरिवीसँग जुझ्नुभन्दा अघि परनिर्भरता सँग जुझ्नुपर्छ भन्ने मान्यतामा आधारित यो मोडल अहिले संसारभर प्रसिद्ध छ । साझा आर्थिक, समाजिक, सांस्कृतिक आवश्यकता पुरा गर्न स्वेच्छिक रुपमा संलग्न व्यक्तिहरुको स्वायत्त संस्था सहकारी हो । संयुक्त स्वामित्व, प्रजातान्त्रिक नियन्त्रण, सदस्य केन्द्रित कारोबार यसका आधारभूत विशेषता हुन् । बचत तथा ऋण सहकारीमा अनिवार्य र स्वेच्छिक गरी दुई प्रकारका बचत हुन्छन् । तीन महिनादेखि तीन वर्षसम्मको ऋण प्रवाह हुन्छ । यसका सदस्यहरु आफैं मालिक र आफैं ग्राहक हुन्छन् । सदस्यहरु मध्येबाटै सञ्चालक छानिन्छन् । नाफा सदस्यहरुबीच बाँडफाँट हुन्छ । घरायसी वातावरणमा कर्मचारीतन्त्रीय झमेलाबाट मुक्त हुन्छ ।  स्थानीय आर्थिक श्रोतको परिचालन गर्ने भएकोले बाह्य आर्थिक प्रभावले असर गर्न सक्दैन । नेपाल जस्तो भौगोलिक तथा सामाजिक संरचना भएको देशमायस्तो मोडल उपयुक्त हुन्छ । 

४. Self Help Group Model : गैह्र सरकारी संस्थातथा बैंकको समन्वयमा १०देखि २० जना महिला मिली समूह गठन गर्ने र त्यसै समूहमार्फत वित्तीय कारोबार गर्ने यो मोडल भारतमा लोकप्रिय मोडल हो । सदस्यहरुले साप्ताहिक, पाक्षिक वा मासिक रुपमा बचत गर्दछन् । निश्चित औपचारिकता पुरा गरेपछि समूहको नाममा बैंक खाता खोलिन्छ र त्यही खातामार्फत सदस्यहरुले कारोबार गर्दछन् । 

५. Grameen Model : सन् २००६ को नोवेल शान्ति पुरस्कार प्राप्त बंगलादेशका प्रोफेसर मोहमद युनुसबाट प्रवद्र्धित यो मोडल बंगलादेशमा सर्वाधिक सफलभई पछिल्लो समयमा संसारभर लोकप्रिय भएको मोडल हो । प्रो. युनुस बंगलादेशको जोब्रा भन्ने गाउँमा सन् १९७६ मा विद्यार्थीहरुसँग अध्ययन भ्रमणमा गएका थिए । त्यहाँ उनले सुफिया भन्ने महिला बाँसको काम गरिरहेको पाए । सुफियाले बाँस किन्न स्थानीय साहुसँग १० प्रतिशत प्रति हप्तासम्म व्याज बुझाउने गरी ऋण लिनुपथ्र्यो । उनले कमाएको सबै पैसा व्याज बुझाउनमै खर्च हुन्थ्यो । प्रो. युनुसको मनमा सुफिया र उनी जस्ता व्यक्तिहरुको मुहारमा मुस्कान ल्याउन नसक्ने शिक्षा बेकामको हुन्छ भन्ने लागेर सहयोग गर्ने विचार आयो । उनले आफ्नो व्यक्तिगत ८५६ टाका ४२ जना बाँसको काम गर्ने महिलाहरुलाई विना व्याजमा लगानी गरे । यसको परिणाम राम्रो आयो । सबैले ऋण रकम समयमै भुक्तानी गरे । यसैबाट प्रभावित भएर १९८३ मा न्चबmभभल द्यबलप स्थापना गरे । अहिले एशिया, अफ्रिका तथा ल्याटिन अमेरिकाका ५० भन्दा बढी देशमा यो मोडलबाट काम भैरहेको छ । 

यो समूह जमानीमाआधारित अवधारणा हो, गरीव महिला लक्षित छ, घर दैलोमा सेवा उपलव्ध गराउँछ, समुदायमा हुने नियमित बैठक मार्फत सबै प्रकारका सेवा प्रवाहगर्दछ । एउटा समूहमा पाँचजना सदस्य हुन्छन्, यस्ता ८–१० वटा समूह मिलेर केन्द्र बन्दछ । केन्द्रको बैठकको समयमा समूह बचत, बीमा, ऋण लगानी र असूली लगायतका वित्तीय सेवा र अन्य सामाजिक सचेतनाका कार्यहरु सम्पादन हुन्छन् । ग्रामिण बैंकका कर्मचारी आवधिक रुपमा केन्द्रको बैठकमा आई अनुगमन गर्दछन् । नेपालमा सन् १९९२ मा पूर्वाञ्चल ग्रामिण विकास बैंकको स्थापनाबाट यस मोडलको शुरुवात भएको हो । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त लघुवित्त संस्थाहरु यस मोडल अन्तर्गत सञ्चालित छन् । 

माथि उल्लेखित मोडलहरु लघु वित्तका औपचारिक मोडल हुन् । नाइजेरियामा सुसु, भारतमा चिट फण्ड, चीनमा हुई, फिलिपिन्समा पालुवागन र नेपालमा ढुकुटी अनौपचारिक रुपमा सञ्चालित छन् । ढुकुटीमा समूह सदस्यहरु एक आपसमा मिल्दछन् । हरेक सदस्यले नियमित समय अन्तरालमा निश्चित रकम जम्मा गर्दछन् । यसरी संकलन भएको रकम कुनै एक सदस्यलाई लगानी गर्दछन् । प्रत्येक सदस्यले पालैपालो रकम प्राप्त गर्दछन् । कतै कतै घटाघट गरी सबैभन्दा कम बोलकबोल गर्ने सदस्यले पाउने प्रबन्ध पनि गरिएको हुन्छ । यसबाट प्राप्त हुन आएको नाफा रकम तत्काल वितरण गरिन्छ । यसमा रकम व्यवस्थापनको चिन्ता हुँदैन, अभिलेख तथा लेखा राख्नुनपर्ने भएकोले सरल र पारदर्शी हुन्छ, निरक्षर व्यक्तिहरुले पनि सजिलै सञ्चालन गर्न सक्दछन् ।  नेपालमा यसलाई कानूनी रुपमा अवैध मानिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]