गाउँमा बैंक लैजाने एउटा सिपाही

September 13, 2018

बैंकिङ खबर । वि.सं.२०३० सालमा स्याङ्जा जिल्लाको फापरथुम गाविस ४ मा बस्ने एक मध्यम बर्गीय परिवारमा जन्मिएका भरतराज ढकालको बाल्यकाल सामान्य थियो । प्राथमिकदेखि उच्च शिक्षासम्म नै सरकारी विद्यालय एवम् कलेजमार्फत अध्ययन गरेका उनी बाल्यकालदेखि नै सामाजिक कार्यमा अग्रसर थिए । स्याङ्जाको भगवति माविबाट प्राथमिक अध्ययन पूरा गरेका ढकालले स्कुलदेखि डिग्रीसम्मको शिक्षा स्याङजा, पोखरा र काठमाडौँबाट पूरा गरे । बाबु पण्डित भएको र समाजका अधिकांश मानिसहरु शिक्षित रहेका कारण उनलाई शिक्षाको लागि राम्रो वातावरण मिल्यो । 

सानैदेखि अरुको भन्दा फरक सोच लिएर अगाडी बढ्ने ढकालले काठमाडौँमा बस्दै गर्दा साथीहरुसँग मिलेर वित्तीय सेवालाई पनि फरक ढंगले अगाडी बढाउनुपर्छ भन्ने संकल्प गरे । जसअनुसार, काठमाडौंको अनामनगरमा केन्द्रीय कार्यलय रहने गरी देशैभरी शाखा विस्तार गर्ने र ५ वटै विकास क्षेत्रमा क्षेत्रीय कार्यलय स्थापना गर्ने गरी २५ जना मिलेर सहकारीको स्थापना समेत गरे । सहकारीको नाम राखे ‘रोयल सेभिङ एण्ड फाइनान्स’ । ललितपुर, हेटौंडा, चितवन, तनहुँ,पोखरा लगायतको ठाउँमा शाखा विस्तार गरेपछि पोखरा कार्यालयको जिम्मा लिएर उनी पोखरा पुगे । पोखरामा काम गर्दै गर्दा स्याङ्जामा पनि शाखा खोल्नुपर्छ भन्ने सोचेर उनी स्याङ्जा पुगे । जसपश्चात् उनी स्याङ्जामै बस्न थाले । 

सो समयमा सहकारीको ठगीका विषयमा संचार माध्यम रंगीन थालेपछि सहकारीबारे पुनर्विचार गर्ने सोचे । ‘बुझ्दै जाँदा सहकारीको शाखा खोल्ने सिद्धान्त संसारमा नै कतै नभएको जानकारी पाएँ,’ उनी भन्छन्, ‘सहकारी भनेको स्थानीय तहमा नै हुनुपर्ने रहेछ भन्ने महशुस गरेँ ।’ सहकारी सदस्यहरुको नियन्त्रणमा हुनुपर्छ भन्ने प्रष्ट भएपछि उनले सबै शाखाहरुलाई स्थानीयकरण गरे । आफू कार्यरत स्याङ्जा शाखालाई पनि उनले स्थानीय स्तरमा रोयर सहकारीको नामबाटै दर्ता गराए । तर, उनलाई आफूले काम गर्ने दायरा साँघुरो भएको महशूस भयो । अब उनको सोच एउटा निजी स्तरको विकास बैंक स्थानपना गर्नेतर्फ केन्द्रित हुन थाल्यो र सोही अनुसार योजना बनाउन थाले । 

ढकालले जतिपनि संस्थाको नेतृत्व गरे सम्पुर्ण संस्थाहरुलाई उत्कृष्ट बनाउन सफल भए ।  २०५८ सालमा स्याङ्जामा द्धन्दकालिन घटना घटेपछि वित्तीय कारोबार नै ठप्प भयो । संचालनमा रहेका वित्तीय संस्था पनि धमाधम बन्द भइरहेका थिए, जुन लामो समयसम्म पनि संचालनमा आउन सकेनन् । यसले स्याङ्जामा एउटा निजी क्षेत्रको बैंक अत्यावश्यक भएको ढकालको विचारमा अझै बढी मलजल गरिदियो । नभन्दै २०६४ सालमा ग्रामिण बैंकिङको कन्सेप्टसहित आफ्नै नेतृत्वमा उनले तिन जिल्ला कार्यक्षेत्र रहेको मुक्तिनाथ विकास बैंकको स्थापना गरे । स्थापना कालमा नै सिईआको कार्यभार सम्हाली सक्रिय बैंकिङ करिअरको सुरुवात गरे भरतराज ढकालले  । 

सँधै आफू अलि फरक भएर अगाडी बढ्न खोज्ने ढकालले नेपालका अधिकांश बैंकमा गएर उनीहरुको योजना तथा कार्यक्रमहरुका साथै कर्मचारीले काम गर्ने शैली समेत अवलोकन गरे । यसक्रममा उनले क, ख र ग  वर्गमा वर्गीकरण गरेपनि सबैले एउटै सेवा फरक व्याजदरमा दिइरहेको पाए । आफू पनि किन अरु जस्तै हुनु भन्ने सोचका साथ उनले ग्रामीण बैंकिङको कन्सेप्ट अगाडी सारे । विकास बैंक भएपछि कस्तो सेवालाई ध्यान दिने भन्ने विषयमा सुरुदेखि नै विचार गरिरहेका ढकालले समावेशी वित्तीय सेवाविना नेपालको बैंकिङ पहुँच विस्तार हुँदैन भन्ने सोचाईका लागि ग्रामीण बैंकिङको मोडेललाई विकास गर्दै लगे । 

सानो पुँजीबाट सुरु गरेको मुक्तिनाथ विकास बैंकको कारोबार धेरै हँदै गयो । जसले गर्दा, स्थापनाको ११ बर्षमा ८ पटकसम्म हकप्रद सेयर जारी गर्नुपर्यो । केन्द्रीय कार्यलय २ पटक सार्नु पर्यो – स्याङ्जाबाट पोखरा अनि पोखराबाट काठमाडौं । फेरिपनि कारोबार बढ्दै गयो र पुँजी अपुग भयो । पुँजी थप्नका लागि लगानीकर्ता सेयर हाल्न इच्छुक देखिएनन् । नयाँ लगानीकर्ता थप्न राष्ट्र बैंकको प्रावधानले दिएन । यसरी केहि गर्छु भन्ने अठोटका साथ उत्साहित हुँदै बैंकिङ करिअरको सुरुवात गरेका ढकालले विचमा केहि चुनैतिको सामना गर्नु परेको भएपनि करिअरको अन्त्य खुसी भएरै गरे ।  

सफल बैंकिङ करिअर व्यतित गरेका ढकालले थुप्रै सामाजिक क्षेत्रमा आफ्नो हात बढाएका छन् । उनले जिल्ला बाल कल्याण समिति स्याङ्जाको अध्यक्ष, मानवअधिकार तथा  शान्ति समाज स्याङ्जाको संस्थापक सभापति एवम् आफुले नै प्राथमिक तह अध्ययन गरेको विद्यालय भगवति माविको ब्यवस्थापन समितिको अध्यक्ष पदमा रहेर काम गर्नुका साथै पत्रकारिता समेत गरेका थिए । उनले स्याङ्जामा रहँदा नै नयाँ खबर साप्ताहिक नामको पत्रिका प्रकाशन गरेका थिए । यसका अलवा उनी अनाथ बालबालिकाको लागि स्थापना गरेको संस्था साहारा वालगृहमा २५ जनासम्म बालबालिकाको संरक्षण गरेर बसेका छन् । यस्तै सामाजिक कार्यलाई सपोर्ट पुग्ने उद्देश्यले उनले सप्ताहिक पत्रिकाको सुरुवात गरेका थिए । 

सक्रिय बैंकिङ करिअरको अन्त्यसँगै ढकाल अब कृषिको आधुनिक विकासतर्फ लागेका छन् । कृषिको माध्यमबाट नै नेपालको गरीबी र बेराजगारी न्युनीकरणमा सक्रिय भएर लाग्ने योजनाका साथमा उनले आफ्नो पाइला अघि सारेका छन् । प्रस्तुती : विजय पराजुली

Leave a Reply

Your email address will not be published. Required fields are marked *