विजय पराजुली/बैंकिङ खबर । २०७५ असार मसान्तसम्म नेपालमा संचालनमा रहेका बैंक तथा वित्तीय संस्थाहहरुको संख्या १५१ रहेको छ । २०६८ सालमा नेपाल राष्ट्र बैंकले मर्जर नीति ल्याउँदा २१८ वटा रहेका बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्विजिसनको व्यवस्था कार्यन्वयनमा आएपश्चात हाल १५१ वटामा कायम भएका छन् । २०६८ साउन देखि २०७५ आसार मसान्तसम्ममा १६२ वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १२१ वटा बैंक तथा वित्तीय संस्थाको इजाजत खारेज भई ४१ वटा संस्था मात्र कायम भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । यसरी बैंक तथा वित्तीय संस्थामा मर्जर प्रक्रियाले ठुलै प्रभाव पारेको देखिन्छ । तर वाणिज्य बैंकको हकमा भने यसको प्रभाव परेको देखिँदैन । ३२ वटा रहेको वाणिज्य बैंकहरुमध्ये अहिले पनि २८ वटा बाँकी नै रहेका छन् ।
नेपालको बैकिङ इतिहास
नेपामा बैंक तथा वित्तीय संस्थाको सुरुवात भएको करी एक शताब्दी भइसकेको छ । १९९४ सालमा पहिलो बैंकको रुपमा नेपाल बैंकको स्थापना भएपछि नेपालमा बैंकको औपचारिक सुरुवात भएको हो । त्यसपछि २०१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापना भयो । २०१६ सालमा नेपाल औद्योगिक विकास निगम, २०२२ सालमा राष्ट्रिय वाणिज्य बैंकको स्थापना तथा २०२४ सालमा कृषि विकास बैंकको स्थापना भएको हो । २०४० दशकको सुरुवातसम्म सरकारी स्वामित्वमा दुई वटा वाणिज्य बैंक र दुई वटा विकास गरी गरी चार वटा मात्रै बैंक मात्रै संचालनमा थिए । २०४२ पछि निजी क्षेत्रले पनि बैंक खोल्न पाउने नीति आएसँगै निजी क्षेत्रको पहिलो बैंकको रुपमा नविल बैंक (तत्कालिन अरब बैंक)ले कारोबार सुरु गर्यो । त्यसपछि क्रमशः अन्य बैंक तथा वित्तीय संस्थाहरुको स्थापना हुँदै २०६८ सम्म आइपुग्दा बैंक तथा वित्तिय संस्थाको संख्या २१८ सम्म पुग्यो ।
मर्जर नीति
यसरी नेपालमा बैंक तथा वित्तीय संस्थाको संख्या बढ्दै गएपछि नेपाल राष्ट्र बैंकको नियमन क्षमताभन्दा धेरै भयो भनेर सुझाव आउन थालेपछि नेपाल राष्ट्र बैंकले २०६८ सालमा बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी विनियमावली जारी गर्यो । यस विनियमावलीका वावजुत पनि बैंकको संख्या खासै घट्ट सकेन । समस्याग्रस्त तथा कमजोर केही संस्थाहरु एक आपसमा तथा बलियो बैंकसँग गाभिए । विनियमालीको लक्ष्य अनुरुपको सफलता भने हात लागेन ।
डा. चिरंजीबि नेपालको प्रवेश
राष्ट्र बैकको गर्भनरको कार्यभार डा. चिरंजीबि नेपालले सम्हालेपछि २०७२ सालमा पुँजीवृद्धिको नीति ल्याइयो । त्यसपछि भने बैंकिङ क्षेत्रमा मर्जरको लहर नै चल्यो । वाणिज्य बैंकहरुको संख्यामा कमी आउन नसकेपनि ठूलो संख्यामा विकास बैंक र फाइनान्सहरुको कटौति भयो । यो क्रम अझै पनि जारी छ । प्राइम कमर्सियल बैंकले राष्ट्रिय स्तरको ओम डेभलपमेन्ट बैंकलाई खरिद गर्दैछ भने ज्योति विकास बैंकले एक जिल्ले हाम्रो विकास बैंकलाई खरिद गर्दैछ ।
मर्जर नीतिको प्रभाव विकास बैंक र फाइनान्स कम्पनीमा
मर्जर नीतिको सबैभन्दा ठुलो प्रभाव विकास बैकहरुमा परेको देखिन्छ । मर्जर निति आउनु अगाडी ८७ वटा रहेको विकास बैंकहरु अहिले ३३ वटामा झरिसकेका छन् । नसमध्ये, राष्ट्रिय स्तरका ११ विकास बैंक छन् । यसमा पनि ओम डेभलपमेन्ट बैंकलाई प्राइम बैंकले खरिद गर्ने भएपछि राष्ट्रिय स्तरको विकास बैंकको संख्या १० वटामा कायम हुने भएको छ । त्यस्तै, १० जिल्ले विकास बैंकमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक मात्रै बाँकी रहेको छ । यसबाहेक, १७ वटा तीन जिल्ले र बाँकी चार वटा एक जिल्ले विकास बैंक छन् । एक जिल्ले हाम्रो विकास बैंक ज्योति विकास बैंकमा गाभिएपछि यो संख्या पनि घटेर तीन कायम हुनेछ । त्यस्तै, फाइनान्स कम्पनीको संख्यामा पनि ७९ बाट २५ मा झरेको छ । जसमध्ये, दुई वटा क्षेत्रीय स्तरका छन् भने २३ वटा फाइनान्स कम्पनी राष्ट्रिय स्तरका छन् ।
वाणिज्य बैंकको संख्या घट्न सकेन
नेपाल राष्ट्र बैंकको मर्जर नीति आउनुअघि ३२ वटा रहेका वाणिज्य बैंक अहिले २८ कायम भएका छन् । वाणिज्य बैंकको हकमा मर्जर नीति असफल भएको र अर्थतन्त्रको आकारका आधारमा अझै पनि वाणिज्य बैंकको संख्या घटाउनुपर्ने तर्कहरु आउने गरेका छन् । बैंकको संख्या धेरै भएकाले अस्वस्थ प्रतिष्पर्धा बढेको कतिपयको बुझाई छ । केही विज्ञहरुले वाणिज्य बैंकको संख्या घटाउन विग मर्जरको आवश्यकता समेत औँल्याएका छन् ।
विग मर्जरको बहस
नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर डा. तिलक रावलले बैंकिङ खबरसँगको एक अन्तरवार्तामा नेपालका वाणिज्य बैंकहरु संख्यामा धेरै भए पनि ठुला परियोजनामा लगानी गर्न अझै पनि सक्षम नभएको बताए । त्यस्तै नेपाल विश्व ब्यापार संगठनको सदस्य राष्ट्र भइसकेको अवस्थामा विदेशी ठुला बैंकलाई पनि नेपालमा शाखा खोल्न अनुमति प्रदान भइसकेको छ । उनीहरुले कुनै पनि बेला नेपालमा शाखा संचालन गर्न सक्ने भएकाले नेपालका बैंकहरुलाई यस्ता ठुला विदेशी बैंकसँग प्रतिस्पर्धामा जान सक्ने अवस्थामा पुर्याउनका लागि विग मर्जरमा जानु आवश्यक रहेको डा. रावलको तर्क छ । योजना आयोगका पुर्व अध्यक्ष तथा पुर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्री भने मर्जरमा जानुभन्दा पनि भइरहेका संस्थाहरुलाई सबल बनाउनतर्फ लाग्नुपर्ने बताउँछन् ।
नेपाल राष्ट्र बैंककै कार्यकारी निर्देशक पदबाट केहि महिना पहिले मात्र अवकाश पाएका डा. गोपाल भट्टले विग मर्जको औचित्य माथि नै प्रश्न उठाए । पहिले के आधारमा लाइसेन्स दिइएको र अहिले के आधारमा विग मर्जरमा जान लागेको भन्ने कुरामा स्पष्ट हुनुपर्ने उनको तर्क छ । कस्तो अर्थतन्त्रका लागि बैंकको संख्या कति हुनुपर्ने भन्ने नीति नरहेको र अध्ययन तथा वैज्ञानिक आधार बिना विग मर्जर जस्तो ठूलो कुराको निर्णय लिनु नहुने उनको भनाई छ ।
कतिपय संचार माध्यमले अर्थसचिवबाट सहयोगको आश्वासन राष्ट्र बैंकले पाएको र अर्थमन्त्रीले सहयोग गर्ने बचन दिएमा फोर्स मजर मौद्रिक नीतिमा नै समावेश गर्ने तयारी भएको चर्चा गरेका थिए । जसमा, राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले विग मर्जरको विषयमा राष्ट्र बैंक छलफल नभएको स्वष्ट पारेका थिए । अहिले यो विषय सेलाएको छ । राष्ट्र बैंकले पुँजीवृद्धिको विषयलाई टुंगोमा पुर्याएर मात्रै अन्य योजनाहरु ल्याउने जनाएको छ । फोर्स मर्जरको विषय तत्कालका लागि सेलाएको भएपनि राष्ट्र बैंकले कुनै पनि बेला यो निति ल्याउन सक्ने भन्दै बैंकहरुले अहिले पनि मर्जरको लागि छलफल भने गरिरहेको बताइन्छ ।