ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो क्षेत्रीय कार्यालय धनगढी अन्तर्गत शाखा कार्यालय हसुलिया, कैलालीमा आवद्ध ऋणी सदस्यहरूलाई व्यवसायिक बाख्रापालन विषयक तालिम प्रदान गरेको छ । पाँच दि संचालन गरिएको उक्त तालिममा २५ जना ऋणी सदस्यहरुको सहभागिता रहेको थियो । तालिममा सहभागी सदस्यहरू मध्ये केही सदस्यहरूले हाल बाख्रापालन गरिरहेका र केही सदस्यहरूले तालिम पश्चात व्यवसायिक बाख्रापालन गर्ने सोच बनाएको हुँदा संस्थाको वार्षिक कार्यक्रम अनुसार उक्त शाखा कार्यालयका सदस्यहरूलाई व्यावसायिक बाख्रापालन तालिम प्रदान गरेको लघुवित्तले जनाएको छ ।
तालिम कार्यक्रममा नेपाल सरकार, कृषि भुमी व्यवस्था तथा सहकारी मन्त्रालय, पशु सेवा विभाग, पशु उत्पादन निर्देशनालय, बाख्रा विकास फार्म वुढीतोला कैलालीका प्रशिक्षक श्री हरिबंश दानीले सहभागीहरूलाई व्यावसायिक बाख्रापालन सम्बन्धी विषयबस्तुहरूका बारेमा प्रशिक्षण दिनु भएको थियो ।
तालिम समापनको अवसरमा समूह सदस्य निशा चौधरीले सहभागीहरूको तर्फबाट मन्तव्य राख्दै व्यवसायिक बाख्रापालनको विषयमा व्यवाहारिक र प्राविधिक ज्ञान हासिल गरेको हुँदा तालिम अत्यन्त लाभप्रद रहेको विचार व्यक्त गरिन् ।
प्रशिक्षक हरिबंश दानीले तालिममा सिकेका कुरालाई वास्तविक रूपमै व्यवसायमा लागु गरी प्रशस्त आयआर्जन गर्न सकेमा मात्र तालिम फलदायी हुने धारणा राखे ।
तालिममा सहभागी सदस्यहरूलाई क्षेत्रीय प्रवन्धक मोतिराज खनालले प्रमाण—पत्र वितरण गर्दै तालिममा सिकेका कुराहरू व्यवहारिक रूपमै लागु गर्न सहभागिहरूलाई जोड दिए ।
ग्रामीण विकास लघुवित्तले समूहमा आवद्ध सदस्यहरूलाई कृषि, पशुपालन, व्यवसाय लगायतका परियोजना सञ्चालन गर्न लघुकर्जा प्रदान गर्दै आईरहेको छ । संस्थाले विभिन्न समयमा ऋणी सदस्यहरूलाई परियोजना सञ्चालनका बारेमा प्राविधिक तथा व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले व्यावसायिक बाख्रापालन, भैसीपालन, गाईपालन, बंगुरपालन, बेमौसमी तरकारी खेती, च्याउ खेती लगायत विभिन्न आयमुलक, सीपमुलक तथा प्राविधिक तालिमहरू सञ्चालन गर्दै आइरहेको छ ।