Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

‘लघुवित्तको संख्या बढाउनु उचित होइन’

२०७४ फाल्गुन २५ गते

विपन्न वर्गलाई सेवा दिएर लघुवित्त वित्तीय संस्थाहरुले वित्तीय पहुँच विस्तारका साथ साथै उद्यमशीलता विकासमा पनि ठूलो योगदान पुर्याइरहेका छन् । बैंकमा धितो राखेर कर्जा लिई ठूलो व्यवसाय सुरु गर्न नसक्ने गरीब परिवारका सदस्यलाई लघुवित्तले धितो विना नै सानो व्यवसाय संचालनका लागि कर्जा दिई आत्मनिर्भर बन्न सघाइरहेका छन् । यसैबीच, समग्र लघुवित्त क्षेत्रको अवस्था, समस्या र चुनौतिहरुको विषयमा बैंकिङ खबर डट कमले माइक्रोफाइनान्स बैंकर्स एसोसिएसनका अध्यक्ष रामचन्द्र जोशीसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ :

लघुवित्त क्षेत्रको पछिल्लो अवस्था कस्तो छ ?
संख्यात्मक हिसाबले पछिल्लो समय लघुवित्त संस्थाहरुको संख्या बढिरहेको छ । तर, प्रशासन खर्च धेरै भएका कारण मुनाफा आर्जनमा केही कमी आएको छ । लघुवित्तहरुमा केही जोखिमहरु पनि देखा परेका छन् । लघुवित्तहरुको संख्या एकैसाथ बढ्दा कर्मचारीको क्षमता अभिवृद्धि हुन नसकेको देखिएको छ । त्यसैले, लघुवित्त बैंकर्स संघले लघुवित्तका कर्मचारीको दक्षता अभिवृद्धि गर्ने खालको तालिममा जोड दिइरहेको छ । यसका लागि नयाँ नीति नै बनाउनेतर्फ हामी लागेका छौँ ।

राष्ट्र बैंकले नयाँ लघुवित्तहरुलाई संचालन अनुमति दिइरहेको छ । यस विषयमा के भन्नुहुन्छ ?
अहिले नेपालमा ६२ वटा लघुवित्त संचालनमा छन् । चालू आर्थिक वर्षभित्रमा नै यो संख्या बढेर एक सय आठ पुग्दैछ । यसरी राष्ट्र बैंकले लघुवित्तहरुको संख्या बढाउनु उचित होइन । बैंकहरु धेरै भएकाले अहिले राष्ट्र बैंकले मर्जर नीतिमार्फत घटाइरहेको छ । फेरि, लघुवित्तहरुलाई अन्य बैंकहरु जसरी मर्जरमा लैजान पनि मिल्दैन । किनकि, अन्य बैंकहरुमा जस्तो लघुवित्तहरुको प्रोडक्ट एकै किसिमका हुँदैनन् ।

नेपाल राष्ट्र बैंकले १८ प्रतिशतभन्दा बढी व्याज नलिन भनेको छ । के यो सम्भव छ ?
१८ प्रतिशत मात्रै व्याज लिएर कर्जा लगानी गर्न लघुवित्तहरुलाई एकदमै गाह्रो भइरहेको छ । कमर्सियल बैंकबाट हामीले लिने कर्जाको व्याज नै १४ प्रतिशत पुगेको छ । दुर्गम भेगमा जाने, वाणिज्य बैंकबाट कर्जा लगानी गर्ने र ससानो कर्जा प्रवाह गर्ने हुँदा लघुवित्तहरुको संचालन लागत नै बढी पर्छ । त्यसैले, यदि लघुवित्तहरुको संचालन लागत घट्ने उपाय अपनाउन सकेमा मात्रै लघुवित्तहरुको कर्जा १८ प्रतिशत व्याजमा सम्भव देखिन्छ ।

व्याज बढी हुँदा पनि लघुवित्त संस्थाहरुले किन धेरै नाफा कमाउन सक्दैनन् ?
पहिलो कुरा त, लघुवित्तको १८ प्रतिशत व्याजलाई महँगो भन्न मिल्दैन । तुलनात्मक रुपमा व्याजदर धेरै देखिए तापनि संचालन लागतको आधारमा हेर्दा यो व्याजदर धेरै होइन । लघुवित्तहरुले दुर्गम भेगमा गएर सानो प्रकारको कर्जा दिइरहँदा यता, अन्य बैंकहरु सदरमुकाममा बसेर ठूलो प्रकारका कर्जा प्रवाह गरिरहेका छन् । कमर्सियल बैंकहरुले एउटै कर्जा करोडौँको लगानी गर्छ भने लघुवित्तको एउटा कर्जा २०।३० हजारको हुन्छ । यद्यपि, कर्जाको आकार जत्रो भएपनि आवश्यक कागजातहरु उस्तै हुन्छन् । लगानी करोड पुर्याउन लघुवित्तहरुले धेरै व्यक्तिलाई कर्जा दिनुपर्ने हुन्छ । यसका लागि कर्मचारीहरु पनि धेरै चाहिन्छन् । विनाधितो लगानी गर्ने भएकाले लघुवित्तहरुले जोखिम पनि भोगिरहेका छन् । यसरी संचालन लागत बढी भएका कारणले लघुवित्तहरुले धेरै नाफा कमाउन सकेको देखिँदैन ।               

लघुवित्त क्षेत्रले नेपालको अर्थतन्त्रमा कस्तो योगदान पुर्याएको छ ?
लघुवित्त क्षेत्रले हाल सबैभन्दा राम्रो योगदान कृषि क्षेत्रमा पुर्याइरहेको छ । लघुवित्तले हालसम्म लगभग ८५ प्रतिशत कर्जा कृषि क्षेत्रमा दिएको छ । विभिन्न क्षेत्रहरु जस्तै, माछापालन, भैँसीपालन, बङगुरपालन, तरकारीखेती जस्ता क्षेत्रमा एकदमै महत्वका साथ  लघुवित्तहरुले कर्जा लगानी गरिरहेका छन् । त्यसैले, लघुवित्तलाई प्रोत्साहन दिएर अगाडि बढ्न सकेमा अबको केही समयमा नै नेपालीहरु कृषि क्षेत्रमा आत्मनिर्भर बन्न सक्छन् । 

माइक्रोफाइनान्स क्षेत्रमा विद्यमान समस्याहरु केके छन् ?
अहिले माइक्रोफानान्स क्षेत्रमा देखिएका समस्याहरु भनेको एउटै ब्यक्तिले धेरै संस्थामा कर्जा लिने र त्यो कर्जाको सदुपयोग नगरी दुरुपयोग गर्ने प्रचलन बढिरहेको छ । पछिल्लो समय कर्जालाई विशेषगरी आम्दानी बढ्ने खालको ब्यापार ब्यवसायमा लगाउनुपर्ने ठाउँमा घर खर्चमा लगेर दुरुपयोग गर्ने गरेका छन् । अर्कोतिर दुर्गम गाउँका अलि शिक्षित वर्गले अति विपन्न वर्गलाई विभिन्न प्रलोभन देखाएर उनीहरुको नामको कर्जा पनि आफुहरुले चलाइदिने गर्ने गरेका पाइन्छ ।  

Ad