Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
विशेष

चालू बजेटको मध्यावधि समीक्षा : बजेट खर्च ८७.६७ मात्रै

२०७४ फाल्गुन २३ गते

बैंकिङ खबर । सरकारले चालू आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा गरेको छ । बुधबार जारी समीक्षामा आर्थिक वृद्धिको संशोधन गरिएको छ । बजेटमा आर्थिक वृद्धिदरको लक्ष्य ७.२ प्रतिशत रहने अनुमान गरिएकोमा समीक्षामा अर्थमन्त्रालयले आर्थिक वृद्धिदरको लक्ष्य ६.५ प्रतिशतमा रहने उल्लेख गरेको छ । त्यस्तै, महँगी पाँच प्रतिशतभन्दा माथि जान नदिने पनि मध्यावधि समीक्षामार्फत बताइएको छ ।

बजेट खर्च ८७.६७ प्रतिशत
समीक्षामा अर्थमन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले यो वर्ष बजेटको ८७.६७ प्रतिशत मात्रै खर्च हुने जानकारी दिए । चालू आर्थिक वर्षका लागि सरकारले गत जेठ १५ गते १२ खर्ब ७९ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको थियो । जसमध्ये १० खर्ब ८२ अर्ब रुपैयाँमात्रै खर्च गर्न सकिने र एक खर्ब ७९ अर्ब रुपैयाँ खर्च गर्नै नसकिने उनले बताए । कुल खर्चमध्ये चालु तर्फ ७ खर्ब ३८ अर्ब ९४ करोड, पूँजीगत तर्फ २ खर्ब ३४ अर्ब ६२ करोड र वित्तीय व्यवस्था तर्फ १ खर्ब ९ अर्ब ४२ करोड खर्च हुने अनुमान गरिएको मन्त्रालयका सचिव अधिकारीले जानकारी दिए । यो कुल बजेटको क्रमशः ९१.९६ प्रतिशत, ७० प्रतिशत र ७८ प्रतिशत हो ।

सरकारले श्रोत तर्फ ९९ प्रतिशत अर्थात ९ खर्ब ८२ अर्ब ८६ करोड ३० लाख ८० हजार रुपैयाँ खर्च हुने अनुमान गरेको छ भने वैदेशीक अनुदान तर्फ ३४.९४ प्रतिशत अर्थात २५ अर्ब २१ करोडल २६ लाख १८ हजार वैदेशिक ऋणतर्फ ३५ प्रतिशत अर्थात ७४ अर्ब ९१ करोड २४ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । वैदेशिक सहायतको रकम करिब ३५ प्रतिशत मात्रै खर्च हुने सचिव अधिकारीले बताए ।

करमा कडाइ गरिने
सरकारले करमा कडाई गर्ने भएको छ । समीक्षा कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले लिएको राजस्वको लक्ष्य न्यूनतम मात्रै भएको भन्दै लक्ष्यभन्दा बढी राजस्व उठाउने बताए । उनले कर प्रणालीलाई चुस्त, दूरुस्त राख्ने र कडाइ गर्ने बताए । भन्सारमा कम मुल्यांकन गरेर दरबारमार्गमा छापा मार्ने काम बन्द गर्ने उनले बताए ।

सुरक्षाभत्ता वितरण व्यवस्थित गरिने
सुरक्षाभत्ता नगदमै बाँड्ने प्रवृत्तिको अन्त्य गरिने अर्थमन्त्री डा. खतिवडाले बताए । उनले सुरक्षा भत्ता नगदमै बाँड्ने विषयलाई निरुत्साहित गरिने बताए । साथै सुरक्षाभत्ता वितरणलाई व्यवस्थित गर्ने पनि उनले बताए ।

अर्थमन्त्री डा. खतिवडाले काम सम्पन्न भएका योजनाको तत्काल भुक्तानी गर्न अर्थमन्त्रालयका कर्मचारी तथा माताहतका कार्यालयलाई निर्देशन समेत दिए । 

मध्यावधि समीक्षाका कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले सरकारी खातामा एक खर्ब ८५ अर्ब रुपैयाँ रहेको जानकारी दिए । बैंकिङ प्रणालीमा १९ अर्ब रुपैयाँ लगानयिोग्य पुँजी रहेको पनि उनले बताए । उनले अब छिटै नै बैंकिङ प्रणालीमा तरलता समस्याको समाधान हुने बताए ।