निर्धन उत्थान बैंक लिमिटेडले बैंकका आफना ग्राहक सदस्यहरुको सहभागितामा २०७४ फाल्गुण १० गतेदेखि १२ गतेसम्म चितवन जिल्लाको भरतपुरमा “च्याउ खेती तालिम” सम्पन गरेको छ । उक्त तालिममा बैंकको टाँडी, भण्डारा, माडी, भरतपुर शाखाका २४ जना ग्राहक सदस्यहरु सहभागी भएका थिए । च्याउ खेती तालिम सम्पन भएको बैंकका भरतपुर क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख परमेश्वर चौधरीले जानकारी गराएका थिए । जिल्ला कृषि बिकास कार्यालयका प्रमुख व.कृ.वि.अ.सुधिर श्रेष्ठ, बागबानी वि. अ. धनबहादुर थापा र रामराज पौडेल, प्रा.स. गोविन्द मान श्रेष्ठ र नोदनाथ लामिछाने तथा च्याउ खेतीका चितवन जिल्लाका अगुवा कृषक अशोक लामिछानेले यस तालिममा प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
च्याउ खेतीको महत्व, परिचय, संभावना र चुनौती, च्याउका किसिम, खान हुने र खान नहुने च्याउको बारेमा, सिताके च्याउ प्रविधि, पराले च्याउ प्रविधि, कन्ये च्याउ खेतीका लागि आवश्यक सामग्री बारेमा, च्याउको उत्पादन लागत लाभ अध्ययन, कन्ये च्याउ खेती प्रविधि (ब्यवहारिक बनाउन सिकाउने), च्याउमा लाग्ने प्रमुख रोग÷किराहरु र तिनको ब्यवस्थापन विधि, च्याउ प्रशोधन, च्याउबाट बन्ने विभिन्न परिकारहरु, गनोद खेती प्रविधि, च्याउ खेती अवलोकन भ्रमण, गोब्रे च्याउ (बटन मशरुप) खेती प्रविधि, च्याउ खेतीको स्कीम, बचतको महत्व तथा बैंकको पब्लिक डिपोजिटको बारेमा, बैंकका सेवाहरुको बारेमा यस तालिमका सहभागीहरुले जानकारी हासिल गरेको क्षेत्रीय प्रमुख श्री परमेश्वर चौधरीले बताएका थिए ।
बैंकले देशभरिका ७७ वटै जिल्लाहरुमा १७९ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९० वटा कार्यालयहरुको स्थापना गरी बैंकले लघुवित्त सेवा पु¥याई रहेको छ । यस निर्धन उत्थान बैंकले ८,०९१ जना ग्राहक सदस्यहरुलाई ब्यावसायिक रुपमा परियोजना कर्जा प्रदान गर्ने योजना रहेको छ । यसको साथै थप ६०० जना ग्राहक सदस्यहरुलाई उद्यमशीलता विकास तालिम, थप ७५० जनालाई सीप विकास तालिम प्रदान गर्ने लक्ष्य रहेको छ । यसका साथै विभिन्न प्रकारका तालिमहरु समेत प्रदान गर्दै ग्राहकहरुको आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आई रहेको छ ।
यो निर्धन उत्थान बैंक शाखा संञ्जालको हिसाबले देशको दोश्रो ठूलो बैंक बन्न पुगेको छ । बैंकले २०७४ पौष मसान्तसम्ममा ३,०४,२८२ घरपरिवारहरुमा सेवा पु¥याई रहेको छ, बैंकले २०७४ पौष मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. १३ अरब ५५ करोड रहेको छ भने ग्राहक सदस्यहरुका रु. ७ अरब ३३ करोड बचत परिचालन गरेको छ ।
यस च्याउ खेती तालिम उपलब्धिमूलक तालिम रहेको तालिममा सहभागी ग्राहक सदस्यहरुले बताएका थिए । सहभागीको तर्फबाट बैंकको भरतपुर शाखा अन्तर्गत आँपटारीका ग्राहक सदस्य श्री मिरा नेपालले तालिम प्राप्त गरेकोमा खुसी ब्यक्त गर्दै लिएको तालिमलाई ब्यवहारमा लागू गर्नु पर्ने कुरामा जोड दिएका थिए ।
तालिमको अवधिमा ग्राहक सदस्यहरुलाई कालीका नगरपालिकाको पदमपुरको च्याउ फर्म अवलोकन भ्रमण समेत गराईएको थियो । तालिममको अन्त्यमा सहभागीहरुलाई प्रमाण पत्र तथा च्याउको वीउ एक एक प्याकेट प्रदान गरिएको थियो ।
क्षेत्रीय प्रमुख श्री चौधरीले बैंकले प्रदान गर्ने सेवाहरुको बारेमा जानकारी गराउनुका साथै एक परिवारमा एक जना उद्यमी बनाउन बैंकले पहल गरी रहेको बताएका थिए । बैंकले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई रहेको यस बैंकबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत बैंकका भरतपुर क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख श्री चौधरीले बताएका थिए । क्षेत्रीय प्रमुख चौधरीले निर्धन उत्थान बैंकले ग्राहक सदस्यहरुलाई बिना धितो कर्जा लगानी गर्नुको साथसाथै ग्राहक सदस्यहरुलाई विभिन्न किसिमका सीप विकास तालिम संचालन गर्दै आई रहेको बताएका थिए । तालिममा लिएको सीपलाई आफनो गाउँका अन्य ग्राहक सदस्य दिदीबहिनीहरुलाई सिकाउनका लागि समेत सुझाउँदै तालिमलाई ब्यवहारमा लागू गर्न अनुरोध गर्दै क्षेत्रीय प्रमुख चौधरीले तालिमको समापन गरेका थिए ।




