Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन उत्थान बैंकका ग्राहक सदस्यहरुको लागि उन्नत बाख्रापालन तालिम 

२०७४ फाल्गुन ११ गते

निर्धन उत्थान बैंक लिमिटेडले आफना ग्राहक सदस्यहरुको सहभागितामा तीन दिने “ग्राहक सदस्यहरुको लागि उन्नत बाख्रापालन तालिम” संचालन गरेको छ । फागुन ९ देखि ११ गतेसम्म सुर्खेत जिल्लाको विद्यापुरमा संचालित तालिममा सुर्खेत स्थित विद्यापुर शाखाका २७ जना ग्राहक सदस्यहरु सहभागी भएका छन् । बैंकले आफनो ग्राहक सदस्यहरुको सहभागितामा उन्नत बाख्रापाल तालिम संचालन गरेको बैंकका वीरेन्द्रनगर क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख श्री राज कुमार पोखरेलले जानकारी गराएका थिए । यस तालिममा प्रशिक्षक भोज प्रसाद चपाई रहेका छन् ।

यस तालिममा निर्धन उत्थान बैंकका ग्राहक सदस्यहरुले बाख्रापालन ब्यवसाय एक परिचय, स्थानीय र उन्नत बाख्रामा भिन्नता, बाख्रापालनको महत्व, आवश्यकता र वर्तमान स्थिति तथा नेपालमा पालिने स्थानीय तथा उन्नत नश्लका बाख्राहरुको जातीय परिचय, बाख्रापालन विधि, उमेर अनुसार पाठापाठी, बाख्रा बोकालाई भूँईको आवश्यकता तथा खोर निर्माण गर्न ठाउँको छनौट लगायतका बारेमा प्रशिक्षण दिइएको छ । त्यस्तै, स्थानीय स्रोत साधन प्रयोग गरी उन्नत खोर निर्माण गर्ने तरिका र खोरमा हावा, ताप, प्रकाश, आद्रताको महत्व, सोतरको महत्व एवम् सोतरको लागि प्रयोग गरिने वस्तुहरु, उमेर अनुसार बाख्रालाई आहारको आवश्यकता तथा आहाराका श्रोतहरु(भूँई घाँस, डाले घाँस, चरन क्षेत्र बारे जानकारीको साथै सन्तुलित दाना बनाउने विधि लगायतका विषयमा पनि तालिममा जानकारी गराइएको छ । 

यसबाहेक, स्थानीय श्रोत साधनको प्रयोग गरी सन्तुलित दाना बनाउने तरिका, प्रजननको लागि बाख्रा तथा बोकाको छनौट गर्ने तरिका, प्रजनन गराउने उमेर, स्वजातिय तथा प्रजातिय प्रजननबाट हुने फाईदा बेफाईदा बारे जानकारी, थारा, ब्याउने बाख्रा, पाठा र पाठी र ब्याएको माउको हेरचाह, खोर, दानापानी दिने भाँडाहरुको सरसफाईको साथै खसी पार्ने उमेर र तरिकाहरु बारे आवश्यक जानकारी, रोग तथा निरोगी बाख्रको पहिचान, रोग लाग्नाका कारण तथा पिपिआर रोगको लक्षण उपचार तथा रोकथामका उपाय बारे जानकारी, पिपिआर रोगको लक्षण, उपचार तथा रोकथामका उपाय बारे जानकारी गराइएको छ । बाख्रामा लाग्ने टिम्पेनी, छेरौटी रोगको लक्षण, उपचार तथा रोकथामका उपाय, बाखाको छ मासे रोग, खोरेत रोग, रेविज रोगको लक्षण, उपचार तथा रोकथामका उपाय बारे जानकारी, बाख्रामा हुने आन्तरीक र वाह्य परिजिविहरुको नियन्त्रणको साथै खोप कार्यक्रम बारे जानकारी, स्थानीय बाख्रापालनको महत्व, कमी, कमजोरी, संरक्षण तथा विकास बाख्रापालन ब्यवसायको बजार ब्यवस्थापनको बारेमा समेत पशु प्राबिधि (प्रशिक्षक) भोज प्रसाद चपाईले जानकारी गराएका  छन् ।

सदस्यलाई बैंकले दिइ रहेको सेवाको बारेमा विद्यापुर शाखाकी प्रमुख खेम कुमारी भण्डारीले जानकारी गराएका थिए । बाख्रापालनको स्कीम, बचतको महत्व निर्धन उत्थान बैंक लिमिटेडका सेवाहरुको बारेमा जानकारी गराउनुका साथै एक परिवारमा एक जना उद्यमी बनाउन बैंकले पहल गरी रहेको बताएको थिए । बैंकले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई रहेको यस बैंकबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत बैंकका वीरेन्द्रनगर क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुखराज कुमार पोखरेलले बताएका थिए ।

तालिममा सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्य बारेमा बैंकको विद्यापुर शाखा की प्रमुख भण्डारीले प्रकाश पार्नु भएको थियो । बैंकले देशभरीका ७७ वटै जिल्लाहरुमा १७९ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९० वटा कार्यालयहरुको स्थापना गरी बैंकले लघुवित्त सेवा पु¥याई रहेको छ । यस निर्धन उत्थान बैंकले ८,०९१ जना ग्राहक सदस्यहरुलाई ब्यावसायिक रुपमा परियोजना कर्जा प्रदान गर्ने योजना रहेको छ । यसको साथै थप ६०० जना ग्राहक सदस्यहरुलाई उद्यमशीलता विकास तालिम, थप ७५० जनालाई सीप विकास तालिम प्रदान गर्ने लक्ष्य रहेको छ । यसका साथै विभिन्न प्रकारका तालिमहरु समेत प्रदान गर्दै ग्राहकहरुको आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आई रहेको छ ।

निर्धन उत्थान बैंक शाखा संञ्जालको हिसाबले देशको दोश्रो ठूलो बैंक बन्न पुगेको छ । बैंकले २०७४ पौष मसान्तसम्ममा ३,०४,२८२ घरपरिवारहरुमा सेवा पुर्याईरहेको छ, बैंकले २०७४ पौष मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. १३ अरब ५५ करोड रहेको छ भने ग्राहक सदस्यहरुका ७ अरब ३३ करोड बचत परिचालन गरेको छ ।

यस उन्नत बाख्रापालन तालिम फाईदाजनक तालिम रहेको ग्राहक सदस्यहरुले बताएका थिए । यस तालिममा बाख्रापालन गरेका बैंकका ग्राहक सदस्यहरुलाई सहभागी गराईएको बैंकका क्षेत्रीय प्रमुख राज कुमार पोखरेलले जानकारी गराएका थिए ।तालिमको संचालन क्षेत्रीय प्रमुख राज कुमार पोखरेलले गरेका थिए ।