जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेडको शाखा कार्यलय शक्तिखोरको औपचारिक उद्घाटन सम्पन्न भएको छ । चितवन जिल्ला क्षेत्र नं. २ (क) का प्रदेश सभासद घनश्याम दाहाल (अविनास) तथा सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकाय, नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता एवं निर्देशक राजेन्द्र पण्डितको संयुक्त आतिथ्यमा दियो प्रज्वलन तथा रिवन काटी उक्त शाखाको उद्घाटन गरियो । लघुवित्तको यस शाखाका शाखा प्रवन्धक चेतनारायण रिमाल रहेका छन् ।
पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका १० वटा तराईका जिल्ला र ५ वटा पहाडी जिल्ला गरी जम्मा १५ वटा जिल्लामा ३१ वटा शाखा कार्यालय मार्फत आफ्नो सेवा विस्तार गरेको यस बैंकमा करिब १९,५०० जना आर्थिक रुपले विपन्न, आर्थिक पहुँचबाट वञ्चित समुह सदस्यहरु आवद्ध रहेको कुरा कार्यक्रम सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलले जानकारी गराए ।
बैंक सञ्चालक समितिका निर्वतमान अध्यक्ष यम बहादुर वि.के., बैंक संचालक समितिका सदस्य तथा जोखिम व्यवस्थापन समितिका संयोजक गोकर्ण बहादुर कार्की क्षेत्री, बैंक सञ्चालक समितिका सदस्य तथा लेखा समितिका सदस्य नरेन्द्र कंडेल, कालिका नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष हेम बहादुर क्षेत्री, चर्तुमुखी उ.मा.वि. का अध्यक्ष एवं समाजसेवी रामध्योज डल्लाकोटी र सहायक प्र.अ. पूर्ण बहादुर पुरी, चेपाङ्ग महिला समाज सेवी राजीमाया चेपाङ्ग लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।
उपस्थित सम्पूर्ण प्रमुख अतिथि, विशिष्ट अतिथी, अतिथिहरु लगायत स्थानीय समुदायहरुलाई धन्यवाद दिँदै बैंक संचालक समितिका सदस्य एवं लेखा समितिका संयोजक बावुराम विश्वकर्माले शाखा कार्यालय समुद्घाटन कार्यक्रमको औपचारिक कार्यक्रम समापनको घोषणा गरेका थिए ।


