June 30th, 2017

‘एलआईसी नेपालको सेवा दुर्गम क्षेत्रसम्म’, डेपुटी जेनेरल मेनेजर अभिजित घोषसँगको अन्तर्वार्ता

सन् २०१५ को अक्टोबर महिनादेखि काठमाडौँस्थित लाइफ इन्स्योरेन्स कम्पनिको डेपुटी जेनेरल मेनेजरको रुपमा कार्यरत अभिजित घोषसँग बीमासम्बन्धि २५ वर्षे अनुभव छ । उनले एलआईसी अफ इन्डियाको आईटी क्षेत्रमा लामो समय काम गरेपछि कलकत्तामा सोही कम्पनीको मार्केटिङको जिम्मेवारी सम्हाले । जसपश्चात् दिल्लीमा डेपुटी जेनेरल मेनेजर अफ एलआईसी हुँदै ४ वर्ष दुबई र बहराइनमा एलआईसीको इन्टरनेशनल पोस्टिङमा रहे । हाल एलआईसी अफ नेपालमा कार्यरत उनै घोषसँग नेपालमा बीमाको अवस्था र एलआईसी नेपालको योगदान लगायतका विषयमा केन्द्रित रहेर बैंकिङ खबर डट कमले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ :

एलआईसी नेपालको बारेमा संक्षेपमा भन्दिनुहोस् न ।
लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी)को नेपाल यात्रा सन् २००१ देखि सुरु भएको हो । एलआईसी अफ इण्डिया विश्वकै ठूला बीमा कम्पनीहरुमध्येको एक हो । हालसम्म एलआईसी इण्डियाबाट ४१ करोडभन्दा बढी ग्राहकहरु लाभान्वित भएका छन् । हामीले नाफा कमाउने उद्देश्यस्वरुप नेपालमा व्यवसाय सुरु गरेका हैनौँ । नेपालमा व्यवसाय सुरु गरेको १६ वर्षमा हामीले नेपालमा थुप्रै लगानी गरेका छौँ । तर, यहाँको रकम बाहिर लगेका छैनौँ । जतिपनि आम्दानी नेपालमा गरेका छौँ, सबैलाई नेपालभित्रै लगानी गरेका छौँ । त्यसैले पनि एलआईसी नेपाललाई एक वल्र्ड क्यापिटलाइज्ड कम्पनीको रुपमा चिनिन्छ । 

२५ करोड रुपैयाँबाट सुरु गरेको एलआईसी नेपालको चुक्ता पुँजी झन्डै एक अर्ब ३३ करोड रुपैयाँ पुगिसकेको छ । यो कम्पनीको मार्केट क्यापिटलाइजेसन पनि एकदमै द्रुत गतिमा बढिरहेको छ । हाम्रो कम्पनीको सेयर मूल्य अहिले २४ सय, २५ सयको रेञ्जमा छ । गत वर्ष हामीले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिएका थियौँ । मुलुकभर हाम्रो पहुँच उत्कृष्ट छ, किनकि हामी सामाजिकीकरणमा विश्वास राखेर अघि बढ्छौँ । समाजलाई सुहाउँदो र आवश्यक प्रोडक्टहरु हामीले ल्याउँछौँ । 

एलआईसी नेपाल र भारत लगायत विश्वका २२ वटा मुलुकमा फैलिएको छ । अन्तर्राष्ट्रिय बजारमा सिकेर हामीले स्थानीय बजारमा प्रयोग गर्ने गरेका छौँ । नेपाल सरकारले हामीलाई सबैभन्दा ठूलो करदाता बीमा कम्पनी भनेर अवार्ड पनि दिएको छ । विगत केही वर्षदेखि नै हामी सबैभन्दा धेरै कर तिर्ने बीमा कम्पनी रहँदै आएका छौँ र आगामी दिनमा पनि यो पोजिसन मेनटेन गर्नेछौँ । मुलुकको विकासमा योगदान पुर्याउन पाउँदा हामीलाई पनि गर्व लाग्छ । एलआईसी नेपाल नेपालको एकमात्र सर्टिफाइड बीमा कम्पनी समेत हो । 

नेपाल र अन्य मुलुकहरुको बीमा अवस्थामा के फरक पाउनुभएको छ ?
नेपाल र छिमेकी मुलुक भारतकै कुरा गर्नुपर्दा धेरै हदसम्म समानताहरु छन् । हाम्रो सामाजिक तथा सांस्कृतिक अवस्था एक अर्कासँग मेल खान्छ । बीमाको अवस्थालाई हेर्दा पनि नेपालको तुलनामा भारत त्यति धेरै अगाडि छैन । नेपालको भौगोलिक बनावट नै यस्तो छ कि, यहाँ ग्रामिण तथा दुगैम भेगहरु बढि छन् । जसकारण बीमाको पहुँच त्यति सहजै पुग्न सकेको छैन । हाल नेपालका ७ प्रतिशत जनताले मात्रै बीमा गरेको तथ्यांक छ । भारतमा पनि ११ देखि १२ प्रतिशतसम्म मात्रै पुगेको छ । भारतमा बीमाको सुरुवात ६० वर्षपहिले भएको थियो । यसआधारमा, बीमाको अवस्था भारतमा भन्दा नेपालमै सुधारोन्मुख रहेको भन्न सकिन्छ । तर, बीमा सम्बन्धी चेतना जति हुनुपर्ने हो, त्यो हुन सकेको छैन । मुलुकको एक उत्कृष्ट बीमा कम्पनीको सीईओको नाताले म यो जिम्मेवारी लिन चाहान्छु र थुप्रै आकर्षण बीमा योजनाहरु ल्याएर धेरै भन्दा धेरै जनसंख्यालाई बीमाको पहुँचभित्र ल्याउन कदम चाल्नेछु । 

तपाईँले नेपालबाहेक, अन्य थुप्रै मुुलुकमा काम गर्नुभएको छ । अन्य मुलुकको तुलनामा नेपालमा काम गर्दाको अनुभव कस्तो छ ?
बीमा क्षेत्रका लागि नेपालमा बाधक भनेको भौगोलिक अवस्था नै हो । प्रायः १० वर्षे, १५ वर्षे, २० वर्षे जस्ता लामो समयको कन्ट्राक्टका लागि भौगोलिक अवस्थाले असर पुर्याउने गरेको छ । त्यसैले नेपालमा एक वर्षे, दुई वर्षे, तीन वर्षे जस्ता छोटो समयका बीमा योजनाहरुको लागि मात्रै वातावरण छ । यसले गर्दा बीमा कम्पनीहरुलाई चुनौति छ । अर्को भनेको, नेपालको पुँजी बजार त्यति ठूलो नभएकाले बीमा कम्पनीहरुलाई व्यवसाय विस्तारमा असहज स्थिती छ । एलआईसी नेपालले पूर्वाधार निर्माण जस्ता लामो समयका योजनाहरुमा लगानी गरेको छ । तर, सबै कम्पनीहरुले त्यो अवसर पाएका छैनन् । सबै कम्पनीहरुले त्यो अवसर पाउने हो भने बिमक र बीमित दुबैलाई फाइदा हुन्छ । नेपालमा बीमासम्बन्धी औपचारिक शिक्षाको पनि कमी छ । भारतमा बीमासम्बन्धी शिक्षाका लागि इन्स्योरेन्स इन्स्टिच्युट अफ इन्डिया सञ्चालन गरिएको छ । अन्य मुलुकहरुमा पनि औपचारिक रुपमा नै बीमासम्बन्धी शिक्षा दिइन्छ । नेपालमा यसको अभाव छ । यदि, बीमासम्बन्धी औपचारिक शिक्षाको व्यवस्था गर्ने हो भने पक्कै पनि फलदायी हुनेछ । 

एलआईसी नेपालले पछिल्लो समय केकस्ता प्रोडक्ट तथा योजनाहरु ल्याएको छ ?
एलआईसी नेपालको विशेष योजना भनेको जीवन आनन्द जीवनबीमा हो । बाँचुञ्जेल र मृत्युपछि पनि वित्तीय सुरक्षा प्राप्त गर्नका लागि यो योजनाले मद्दत गर्ने भएकाले यसप्रति ग्राहकहरुको राम्रो आकर्षण पनि हामीले पाएका छौँ । हामीले केही पेन्सन प्रोडक्टहरु पनि लिएर आएका छौँ । राम्रो सामाजिक सुरक्षा नभएको नेपाल जस्तो मुलुकमा यो योजना निकै सहयोगी सावित हुने हाम्रो अपेक्षा छ । त्यस्तै, हामीसँग जीवन आस्था नामक सिंगल प्रिमियम पोडक्ट पनि छ । यसमा बोनस रेट ८५ रहेको छ, जुन नेपालमा सबैभन्दा धेरै हो । अन्य कुनै पनि योजनाले यति बोनस दिएको छैन । अब हामी ग्रुप इन्स्योरेन्स पनि ल्याउने तरखरमा छौँ । यो लघुबीमाका लागि हो । यो एकदमै सस्तो हुनेछ । जम्मा छ रुपैयाँ ५० पैसा प्रिमियममा एक हजार रुपैयाँको बीमा यस योजनाबाट हुनेछ । यो बीमा १८ वर्षदेखि ६० वर्ष उमेरसम्मकाले गर्न सक्नेछन् भने कुनै मेडिकल टेष्ट लगायतको आवश्यकता नपर्ने हुँदा गरिब तथा विपन्न वर्गका जनतालाई पनि यो योजनाले समेट्ने विश्वास हामीले लिएका छौँ । यो चाहिँ हामीले सामाजिक उत्तरदायित्व स्किमअन्तर्गत ल्याउन लागेको योजना हो । 

नेपालमा थुप्रै बीमा कम्पनीहरु सञ्चालनमा छन् । अरु बीमा कम्पनी र एलआईसी नेपालबीचमा के फरक छ ?
सबै बीमा कम्पनीहरु राम्रा छन् । आआफ्नो तरिकाले व्यवसाय गरिरहेका छन् । अरु कम्पनीको बारेमा राम्रो नराम्रो भन्दा पनि म मेरै कम्पनीको बारेमा भन्न रुचाउँछु । हाम्रो दाबी भुक्तानीको अनुपात हेर्ने हो भने नेपालमै सबैभन्दा बढी छ । जस्तै लुक्लामा भएको विमान दुर्घटनाको केसलाई नै हेर्नुस् । उक्त विमानको बीमा हाम्रो कम्पनीबाट भएको थियो । उक्त दुर्घटनाको दाबी आउनेवित्तीकै हामीले भुक्तानी गरेका थियौँ । जुनसुकै दाबीको पनि हामीले एकदेखि दुई दिनभित्रमा भुक्तानी दिइसक्ने गरेका छौँ । 

स्थापनाको १६ वर्षमा एलआईसी नेपालका अचिभमेन्टहरु केके छन् ?
अचिभमेन्टहरु भन्नुपर्दा, हामी नेपालकै सबैभन्दा ठूलो करदाता बीमा कम्पनीको रुपमा चिनिएका छौँ । विगत केही वर्षदेखि नै हामी नेपालकै सबैभन्दा ठूलो करदाता बीमा कम्पनी रहँदै आएका छन् । यसलाई एउटा अचिभमेन्ट भन्न रुचाउँछु म । हामी यहाँ नाफा कमाउनका लागि मात्र होइनौँ, मुलुकको अर्थतन्त्रप्रति पनि हाम्रो जिम्मेवारी छ । त्यसैले आगामी दिनमा पनि मुलुकको सबैभन्दा ठूलो करदाताको रुपमा योगदान पुर्याइरहनेछौँ । त्यस्तै, हामीले मुलुकको दर्गम भेगहरुमा पनि एजेन्टहरु राखेर त्यहाँका मानिसहरुलाई बीमामा समेट्ने प्रयास निरन्तर रुपमा गरिरहेका छौँ । केही हदसम्म सफल पनि भएका छौँ । अर्को कुरा, हामीले ल्याएका सबै प्रोभिजनहरु कार्यान्वयनमा ल्याएरै छोड्छौँ । हाम्रो प्रोभिजनहरुमा बीमा गरेपछि जुनसुकै अवस्थामा पनि दाबी भुक्तानी हुने गरेको छ, जुन हामीले फलो पनि गरिरहेका छौँ । आत्महत्याको केसबाहेक अन्य जुनसुकै अवस्थामा पनि दाबी भुक्तानी दिने व्यवस्था एलआईसी नेपालले गरेको छ । 

एलआईसी नेपालका आगामी योजनाहरु केके छन् ?
एकदमै प्रोफेसनल तरिकाले व्यवसाय चलाउनु हाम्रो प्रमुख उद्देश्य हो । हामीले हाम्रो जिम्मेवारीलाई एकदमै गम्भीर रुपमा वहन गर्ने गरेका छौँ र आगामी दिनमा पनि यसै तरिकाले अघि बढ्नेछौँ । हालसम्म मुलुकभर हाम्रा ३५ शाखा सञ्चालनमा छन् । निकट भविष्यमा नै आठ वटा शाखा थप गर्ने हाम्रो योजना छ । 

नेपालको बीमा क्षेत्रमा थुप्रै कम्पनीहरुबीच प्रतिष्पर्धा छ । नयाँ कम्पनीहरु पनि थपिने क्रममा छन् । कत्तिको चुनौतिपूर्ण महशूस गर्नुहुन्छ ?
नेपालमा बीमा कम्पनीहरु त पर्याप्त छन् । तर, ९३ प्रतिशत जनता बीमाको पहुँचबाट बाहिर छन् । यस्तो अवस्थामा तीन ९३ प्रतिशत जनतासमक्ष पुग्नु, त्यसमाथि अरु कम्पनीभन्दा आफूलाई राम्रो सावित गर्नु, चुनौतिपूर्ण त छ । तर, जनताले राम्रो कम्पनीलाई नै छान्छन् भन्ने विश्वास हामीलाई छ । त्यसैले, त्यस्तो चिन्ताको विषय चाहिँ छैन । 

बीमा क्षेत्रका लागि सरकारले खेलेको भूमिकाको कसरी विश्लेषण गर्नुभएको छ ? 
पछिल्लो समय बीमा क्षेत्रका लागि सरकारी तवरबाटै राम्रै कामहरु भएका छन् । बीमा कम्पनीका शाखाहरुलाई उपत्यकाबाहिर अर्थात विकट क्षेत्रमा पनि पुर्याउने पहल, लघुबीमामा जोड, स्वास्थ्य बीमा कार्यक्रमको विस्तार, चुक्तापुँजी वृद्धि लगायतका थुप्रै कामहरु भएका छन् । अब सरकारले बीमाको सा्िमाजिक सरक्षा पक्षलाई पनि ध्यान दिनुपर्ने देखिन्छ । नयाँ बजेटले लघुबीमा कार्यक्रममा जोड दिएको छ । यो राम्रो र आवश्यक कुरा हो । यसका लागि २० हजार रुपैयाँ प्रिंमियम तोकिएको छ । यसलाई बढाएर ५० हजार अर्थात एक लाख रुपैयाँसम्म पुर्याउनुपर्छ । 

एलआईसी नेपाललाई चुक्तापुँजी वृद्धिको लागि कत्तिको समस्या छ ?
बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई दुई अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउन भनेको छ । यसका लागि ०७५ असार मसान्तसम्मको समय दिइएको छ । हाम्रो चुक्तापुँजी अहिले नै एक अर्ब ३३ करोड रुपैयाँ पुगिसकेको छ । त्यसैले, पुँजी वृद्धिका लागि हामीलाई कुनै समस्या छैन । 

अन्तिममा, केही भन्न चाहानुहुन्छ कि ?
अन्तिममा यति भन्न चाहान्छु कि, कृपया बीमा गर्नुहोस् । यो तपाईँहरुकै सुरक्षाको लागि हो । तपाईँको भविष्यका लागि वित्तीय सुरक्षा हो बीमा । त्यसैले, ह्आफूलाई सुरक्षित राख्नुहोस् । अहिले थोरै बचत गरेर, पूरै भविष्य सुरक्षित बनाउनुहोस् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]