भिबोर सोसाइटीले डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ११ करोड २३ लाख ५३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दोब्बरभन्दा पनि बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा भिबोर सोसाईटीले जम्मा पाँच करोड ४७ लाख १० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
बैंकको सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी उच्च दरले बढेपछि खुद नाफा बढ्नमा टेवा पुगेको हो । बैंकको सञ्चालन मुनाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा दुई गुणा र खुद व्याज आम्दानी २६७ प्रतिशतले बढेको छ । जसअनुसार, बैंकको सञ्चालन मुनाफा नौ करोड २९ लाख ९७ हजार रुपैयाँबाट बढेर ३४ करोड ६३ लाख ९६ हजार रुपैयाँ पुगेको छ भने खुद व्याज आम्दानी सात करोड ९६ लाख ३५ हजार रुपैयाँबाट बढेर २९ करोड २२ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।
भिबोर विकास बैंक र सोसाईटी डेभलपमेन्ट बैंक गाभिएर बनेको बैंकको चुक्तापुँजी एक अर्ब ८१ करोड रुपैयाँ रहेको छ । यसअवधिमा बैंकले १५ अर्ब ३९ करोड रुपैंया निक्षेप संकलन गरी १३ अर्ब २१ करोड रुपैंया कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले पाँच अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
बैंकले गत आर्थिक वर्षको दोश्रो त्रैमासमा ऋणात्मक रहेको जगेडा कोषलाई १० करोड ९९ लाख धनात्मक बनाएको छ । गतबर्षको भन्दा बैंकको खराबकर्जा बढेर २.१७ प्रतिशत पुगेको छ । यसअवधिमा कुनै पनि खराब कर्जा नउठाएको बैंकले झण्डै ५ करोड रुपैयाँ प्रोभिजनमा राखेको छ । बैंकको प्रतिसेयर आम्दानी १२ रुपैंया ३८ पैसा रहेको बैंकको पूँजी कोष अनुपात २४ दशमलव ६४ प्रतिशत रहेको बैंकको प्रतिसेयर नेटवर्थ १ सय ६ रुपैंया ०७ पैसा तथा मूल्य आम्दानी अनुपात १४ दशमलव ९४ गुणाले बढी रहेको छ ।