Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Top Banner

नेपालमा हुण्डीको जालो कस्तो छ ? राष्ट्र बैंकको नयाँ रिपोर्टले के देखायो ?

२०८३ मंसिर १३ गते

बैंकिङ खबर / नेपालमा हुण्डी कारोबारको जालो कति फैलिएको छ ? पैसा विदेशबाट नेपाल आउँदा र नेपालबाट बाहिर जाँदा अनौपचारिक माध्यमको प्रयोग कसरी भइरहेको छ ? नेपाल राष्ट्र बैंकको नयाँ रिपोर्टले हुण्डी कारोबारसँग जोडिएका जोखिम र प्रवृत्तिको एउटा चित्र देखाएको छ ।

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ अर्थात् एफआईयू नेपालले हुण्डीसम्बन्धी रणनीतिक विश्लेषण रिपोर्ट २०२६ सार्वजनिक गरेको छ। रिपोर्टले हुण्डी कारोबार परम्परागत पैसा पठाउने माध्यमबाट विकसित हुँदै बैंक खाता, व्यवसाय, डिजिटल माध्यम र विभिन्न वित्तीय कारोबारसँग जोडिएको जोखिमका रूपमा देखाएको छ।

रिपोर्टअनुसार, सन् २०२५ जनवरी २ देखि २०२६ जुलाई १६ सम्म हुण्डीसम्बन्धी १ हजार ६ सय ७२ वटा शंकास्पद कारोबार तथा गतिविधिसम्बन्धी रिपोर्ट प्राप्त भएका छन् । यो अवधिमा एफआईयूले विभिन्न प्रकारका कुल १५ हजार ८ सय १५ रिपोर्ट प्राप्त गरेको थियो। तीमध्ये १० दशमलव ५७ प्रतिशत रिपोर्ट हुण्डीसम्बन्धी थिए ।

राष्ट्र बैंकले विश्लेषण गरेका २ सय वटा नमुना रिपोर्टमा ८४ प्रतिशत सम्बन्धित व्यक्ति पुरुष र ६५ दशमलव ५ प्रतिशत व्यक्ति २५ देखि ४४ वर्ष उमेर समूहका रहेको देखिएको छ । रिपोर्टमा विद्यार्थी र गृहिणीका नाममा रहेका खातासमेत शंकास्पद कारोबारको विश्लेषणमा देखिएका छन् । यस्ता खाताको दुरुपयोग हुन सक्ने जोखिमलाई राष्ट्र बैंकले औंल्याएको छ ।

हुण्डीसम्बन्धी रिपोर्टमा ५३ प्रतिशत सम्बन्धित व्यक्ति वा व्यवसाय मधेश प्रदेशमा रहेको देखिएको छ । त्यस्तै, रिपोर्टमा उल्लेख भएका व्यवसायमध्ये ४३ प्रतिशत खुद्रा व्यापार र ४१ दशमलव ५ प्रतिशत रेमिट्यान्सका उपएजेन्टसँग सम्बन्धित रहेका छन्। तर, यी तथ्यांक रिपोर्टमा विश्लेषण गरिएको नमुनामा आधारित छन्। यसलाई देशभरको कुल हुण्डी कारोबारको वितरणका रूपमा बुझ्नु हुँदैन ।

हुण्डी कारोबारमा अरूको बैंक खाता प्रयोग गर्ने, नगद कारोबारलाई टुक्र्याउने, विभिन्न खातामा रकम स्थानान्तरण गर्ने, व्यापारिक कारोबारको विवरणमा हेरफेर गर्ने, डिजिटल माध्यम तथा भर्चुअल सम्पत्तिको प्रयोग गर्ने जस्ता जोखिमपूर्ण प्रवृत्तिहरू रिपोर्टमा पहिचान गरिएको छ । अर्थात् हुण्डी कारोबार केवल नगदमा हुने कारोबार मात्रै नभई औपचारिक बैंकिङ प्रणालीका विभिन्न माध्यमसँग पनि जोडिन सक्छ ।

नेपाल प्रहरीको पाँच वर्षको तथ्यांकलाई विश्लेषण गर्दा हुण्डीसम्बन्धी अनुसन्धानका घटना बढेको देखिएको छ । आर्थिक वर्ष २०७८/७९ मा १८ वटा अनुसन्धान भएकोमा आर्थिक वर्ष २०८१/८२ मा ६० वटा अनुसन्धान भएका छन्। पाँच वर्षको अवधिमा हुण्डीसम्बन्धी मुद्दामा २७३ करोड ६२ लाख रुपैयाँ confiscate अर्थात् अदालतबाट जफत गरिएको रिपोर्टमा उल्लेख छ ।

हुण्डी कारोबारले विदेशबाट आउने पैसा औपचारिक बैंकिङ प्रणालीमा नआउने जोखिम बढाउँछ । यसले विदेशी मुद्रा कारोबारको पारदर्शिता, सम्पत्ति शुद्धीकरण नियन्त्रण र वित्तीय अपराध अनुसन्धानमा चुनौती थप्न सक्छ । नेपालमा हुण्डी कारोबार कानुनले निषेध गरेको छ ।

राष्ट्र बैंकको रिपोर्टले हुण्डी नियन्त्रणका लागि बैंक तथा वित्तीय संस्थाको निगरानी क्षमता बढाउने, शंकास्पद कारोबारको रिपोर्टिङ प्रभावकारी बनाउने, अनुसन्धान गर्ने निकायबीच समन्वय बढाउने र सर्वसाधारणलाई औपचारिक रेमिट्यान्स माध्यम प्रयोग गर्न सचेत गराउने सुझाव दिएको छ ।

विदेशमा काम गरेर कमाएको पैसा परिवारसम्म पुर्‍याउने काम सुरक्षित, पारदर्शी र कानुनी माध्यमबाट हुनु आवश्यक छ । हुण्डीको जोखिम पहिचान गर्नु र यसको नियन्त्रण गर्नु केवल राष्ट्र बैंकको जिम्मेवारी होइन, समग्र वित्तीय प्रणालीको सुरक्षा र देशको आर्थिक पारदर्शितासँग जोडिएको विषय हो ।

Ad