Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Top Banner

मार्जिन कारोबारको हिसाब अब सार्वजनिक हुने, लगानीकर्ताले नेप्सेको वेबसाइटबाटै हेर्न पाउने

२०८३ मंसिर ११ गते

बैंकिङ खबर /  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर बजारमा हुने मार्जिन कारोबारको विवरण दैनिक रूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ । यससँगै लगानीकर्ताले कुन कम्पनीको सेयरमा कति मार्जिन कारोबार भइरहेको छ भन्ने विवरण नेप्सेको वेबसाइटमार्फत हेर्न पाउने भएका छन् ।

नेप्सेको ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०८२’ मा मार्जिन कारोबारको विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ । कार्यविधिको परिच्छेद ८ अन्तर्गत बुँदा नम्बर २१ मा कारोबार सदस्यले मार्जिन कारोबारको विवरण नेप्सेलाई उपलब्ध गराउनुपर्ने र नेप्सेले उक्त विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने उल्लेख छ ।

व्यवस्थाअनुसार ब्रोकर कम्पनीहरूले प्रत्येक कारोबार दिन भएको मार्जिन कारोबारको विवरण अर्को कारोबार दिनको मध्याह्न १२ बजेसम्म नेप्सेलाई बुझाउनुपर्छ । त्यसपछि नेप्सेले प्राप्त विवरण अनुसूची-५ मा तोकिएको ढाँचाअनुसार आफ्नो वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ ।

सार्वजनिक गरिने विवरणमा मार्जिन कारोबार भएका सूचीकृत कम्पनीको नाम, सेयरको किसिम, कुल सेयर संख्या तथा लगानी गरिएको कुल रकमलगायतका विवरण समावेश हुनेछन् । यसबाट लगानीकर्ताले कुन कम्पनीको सेयरमा कति रकम मार्जिन सुविधामार्फत परिचालन भइरहेको छ भन्ने जानकारी प्राप्त गर्न सक्नेछन् ।

मार्जिन कारोबार भन्नाले ब्रोकर कम्पनीमार्फत ऋण सुविधा लिएर सेयर खरिद गर्ने व्यवस्था हो । यसमा लगानीकर्ताले खरिद रकमको निश्चित हिस्सा आफैँले लगानी गर्नुपर्छ भने बाँकी रकम ब्रोकरमार्फत उपलब्ध हुने कर्जाबाट व्यवस्थापन गर्न सकिन्छ ।

मार्जिन कारोबारलाई व्यवस्थित बनाउन नेप्सेले छुट्टै कार्यविधि जारी गरेको हो । कार्यविधिअनुसार मार्जिन कारोबारका लागि सबै सूचीकृत कम्पनीका सेयर योग्य हुँदैनन् । कम्तीमा २५ लाख कित्ता सर्वसाधारण सेयर सूचीकृत भएको, कम्पनीको नेटवर्थ चुक्ता पुँजीभन्दा कम नभएको, पछिल्लो तीन वर्षमध्ये कम्तीमा दुई वर्ष खुद नाफा कमाएको र आईपीओ सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको कम्पनीका सेयरलाई योग्यताका आधार बनाइएको छ ।

यस व्यवस्थाले मार्जिन कारोबारसम्बन्धी सूचना लगानीकर्ताको पहुँचमा पुर्‍याउने र बजारमा पारदर्शिता कायम गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ । विशेषगरी ऋण लिएर सेयर खरिद गर्ने प्रवृत्ति बढ्दै जाँदा कुन कम्पनीमा कति मार्जिन रकम परिचालन भइरहेको छ भन्ने जानकारीले लगानीकर्तालाई बजारको अवस्था बुझ्न सहज बनाउनेछ ।

यद्यपि, कार्यविधिमा व्यवस्था हुनु र नेप्सेको वेबसाइटमा विवरण नियमित रूपमा प्रकाशित हुनु फरक विषय हुन् । त्यसैले यो व्यवस्था प्रभावकारी बनाउन नेप्सेले दैनिक विवरण सार्वजनिक गर्ने प्रणालीलाई नियमित रूपमा कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।

Ad