बैंकिङ खबर / सरकारले बैंकिङ क्षेत्रको कर प्रशासनलाई थप व्यवस्थित र व्यावहारिक बनाउने उद्देश्यसहित आयकर ऐन, २०५८ मा संशोधन गर्ने तयारी गरेको छ । आयकर ऐन संशोधनसम्बन्धी अध्यादेशको प्रारम्भिक मस्यौदामा बैंकिङ व्यवसायको लेखाङ्कनलाई कर निर्धारणको आधार बनाउने तथा दुई वर्षसम्म असुल हुन नसकेको ऋण अपलेखन गर्न सकिने व्यवस्थासहितका प्रावधान प्रस्ताव गरिएका छन् ।
सरकारले लगानी तथा पूर्वाधार विकासलाई प्रोत्साहन गर्दै विभिन्न ६३ वटा ऐनका ५०० भन्दा बढी दफा संशोधन गर्ने तयारी गरेको छ । सोही क्रममा आयकर ऐनका ३० वटा दफा तथा व्यवस्थामा संशोधन र नयाँ प्रावधान थप गर्न लागिएको हो ।
प्रस्तावित व्यवस्थाअनुसार बैंकिङ व्यवसायको हकमा नेपाल राष्ट्र बैंकले निर्धारण गरेको लेखाङ्कन मापदण्डलाई कर गणनाको आधार मानिनेछ । यसले बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण र कर प्रयोजनका लागि गरिने लेखाङ्कनबीच थप एकरूपता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यस्तै, दुई वर्षसम्म असुल हुन नसकेको ऋण अपलेखन गर्न सकिने व्यवस्था पनि मस्यौदामा समेटिएको छ । यसले लामो समयदेखि असुल हुन नसकेका कर्जाको व्यवस्थापन तथा लेखाङ्कन प्रक्रियालाई सहज बनाउन सक्ने देखिन्छ ।
बैंकिङ क्षेत्रका लागि कर निश्चितता कायम गर्ने उद्देश्यले भूतप्रभावी कर लगाउन नपाइने व्यवस्था पनि प्रस्ताव गरिएको छ । प्रस्तावित व्यवस्थाअनुसार कर दायित्व सिर्जना गर्ने, करको दर बढाउने वा कर छुट तथा सुविधा घटाउने गरी गरिएका कानुनी संशोधन त्यसअघि नै सम्पन्न भएका कारोबार वा प्राप्त भइसकेको आयमा लागू हुने छैनन् ।
यसैगरी, कर प्रशासनमा देखिने प्रक्रियागत जटिलता घटाउन स्वतन्त्र प्रशासकीय पुनरावलोकन इकाई गठन गर्ने प्रस्ताव गरिएको छ । कर निर्धारण गर्ने निकायभन्दा बाहिरका स्वतन्त्र विज्ञसमेत रहने उक्त इकाईले करदाताको निवेदन प्राप्त भएको ६० दिनभित्र निर्णय दिनुपर्नेछ ।
करदाताले बढी दाखिला गरेको कर विभागको अभिलेखबाट पुष्टि भएमा छुट्टै निवेदनबिना नै आय विवरण पेस भएको ३० दिनभित्र प्रमाणित बैंक खातामा रकम फिर्ता गर्नुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ । निर्धारित अवधिमा कर फिर्ता नभए करदाताले ब्याजसमेत पाउनेछन् ।
त्यस्तै, करसम्बन्धी सेवा एकीकृत विद्युतीय प्रणालीबाट उपलब्ध गराउने र विभागको प्रणालीमा प्राविधिक समस्या आएका कारण करदातालाई विलम्ब शुल्क, ब्याज वा दण्डात्मक दायित्व नलगाउने व्यवस्था पनि मस्यौदामा छ ।
सरकारले प्रस्ताव गरेका यी व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको कर गणना, कर्जा व्यवस्थापन र कर प्रशासनसँग सम्बन्धित प्रक्रियालाई थप व्यवस्थित बनाउन सक्ने देखिन्छ । यद्यपि, यी व्यवस्था हाल अध्यादेशको प्रारम्भिक मस्यौदामा प्रस्ताव गरिएका हुन् ।