
बैंकिङ खबर / नेपाल बैंकर्स संघको नयाँ नेतृत्व चयनका लागि सहमति जुटेको छ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी संघको अध्यक्ष बन्ने भएका छन् भने कुमारी बैंकका सीईओ रामचन्द्र खनाल उपाध्यक्षको जिम्मेवारीमा आउने भएका छन् ।
संघको आगामी मंसिर १२ गते शुक्रबार आयोजना हुने ४०औँ वार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चयन गरिने तयारी छ । साधारणसभाबाट औपचारिक निर्णय भएपछि रेग्मीले संघको नेतृत्व सम्हाल्नेछन् ।
हाल संघको उपाध्यक्ष रहेका रेग्मीलाई अध्यक्ष बनाउने र उनको स्थानमा खनाललाई उपाध्यक्ष चयन गर्ने विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृतहरूबीच सहमति जुटेको बताइएको छ । यससँगै संघको आगामी कार्यकालका लागि नेतृत्व चयन प्रक्रिया सहमतिमार्फत अघि बढ्ने देखिएको छ ।
नेपाल बैंकर्स संघ वाणिज्य बैंकहरूको साझा संस्था हो । बैंकिङ क्षेत्रका नीतिगत विषय, वित्तीय प्रणालीका चुनौती, नियामकीय व्यवस्था तथा बैंकहरूबीचको समन्वयमा संघले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । नयाँ नेतृत्व चयनसँगै बैंकिङ क्षेत्रका समसामयिक चुनौती, कर्जा विस्तार, निक्षेप परिचालन, वित्तीय स्थायित्व र नियामकीय व्यवस्थासम्बन्धी विषयमा संघको भूमिका थप महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
त्यस्तै, नयाँ कार्यसमितिमा केही सदस्यसमेत परिवर्तन हुने तयारी छ । एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ र लक्ष्मी सनराइज बैंकका पूर्वसीईओ अजयविक्रम शाह कार्यसमितिबाट बाहिरिने तथा सिद्धार्थ बैंकका सीईओ रामेश्वर बस्याल र सानिमा बैंकका सीईओ पवन आचार्य नयाँ सदस्यका रूपमा आउने बताइएको छ ।
यद्यपि, अध्यक्ष, उपाध्यक्ष तथा अन्य पदाधिकारीको चयनलाई साधारणसभाबाट औपचारिक निर्णय भएपछि मात्रै अन्तिम मानिनेछ ।