Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

३३ लघुवित्तको खराब कर्जा १० प्रतिशत माथि, मातृभूमिको २७.०२%

२०८३ मंसिर ६ गते

बैंकिङ खबर /  लघुवित्त वित्तीय संस्थाहरूको कर्जा असुलीमा देखिएको चुनौती थप गम्भीर बन्दै गएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको वित्तीय विवरणका आधारमा ३३ वटा लघुवित्त संस्थाको निष्क्रिय कर्जा (खराब कर्जा) अनुपात १० प्रतिशतभन्दा माथि पुगेको छ ।

कम्पनीगत विवरणअनुसार सबैभन्दा बढी खराब कर्जा मातृभूमि लघुवित्तको २७.०२ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो अनुपात १०.०३ प्रतिशत थियो । एक वर्षको अवधिमा संस्थाको खराब कर्जा १६.९९ प्रतिशत विन्दुले बढेको देखिन्छ । त्यस्तै, नेरुडे मिर्मिरे लघुवित्तको खराब कर्जा १५.७० प्रतिशतबाट बढेर २१.७३ प्रतिशत पुगेको छ । आरम्भ चौतारी लघुवित्तको ४.२२ प्रतिशतबाट बढेर २१.२६ प्रतिशत पुगेको छ । धौलागिरी लघुवित्तको खराब कर्जा २०.५२ प्रतिशतबाट बढेर २१.०५ प्रतिशत र समता घरेलु लघुवित्तको ११.१४ प्रतिशतबाट बढेर २०.५० प्रतिशत पुगेको छ ।

यसरी पाँचवटा लघुवित्त संस्थाको खराब कर्जा अनुपात २० प्रतिशतभन्दा माथि पुगेको छ । अन्य संस्थामध्ये स्वस्तिक लघुवित्तको १९.८५ प्रतिशत, युनिक नेपाल लघुवित्तको १९.८३ प्रतिशत, विजय लघुवित्तको १९.६८ प्रतिशत, नेष्डो समृद्ध लघुवित्तको १९.५२ प्रतिशत र मेरो माइक्रोफाइनान्सको १९.२४ प्रतिशत रहेको छ ।

त्यस्तै, जनउत्थान सामुदायिक लघुवित्तको खराब कर्जा १९.१५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ७.८१ प्रतिशत रहेको यसको खराब कर्जा एक वर्षमा उल्लेख्य बढेको हो । फर्वार्ड माइक्रोफाइनान्सको १८.१३ प्रतिशत, महिला लघुवित्तको १३.२१ प्रतिशत, गणपति लघुवित्तको १४.२७ प्रतिशत, एनएमबी लघुवित्तको १२.८९ प्रतिशत र ग्रामीण विकास लघुवित्तको ११.८९ प्रतिशत पुगेको छ ।

यद्यपि, केही संस्थाले खराब कर्जा घटाउन सफल भएका छन् । सूर्योदय वोमी लघुवित्तको खराब कर्जा अघिल्लो वर्षको १८.६८ प्रतिशतबाट घटेर ११.८४ प्रतिशतमा झरेको छ । एनआईसी एसिया लघुवित्तको १७.०६ प्रतिशतबाट घटेर १३.८९ प्रतिशत कायम भएको छ । आत्मनिर्भर लघुवित्तको १२.८३ प्रतिशतबाट घटेर १०.५१ प्रतिशत, स्वावलम्बन लघुवित्तको ११.९४ प्रतिशतबाट घटेर ९.७९ प्रतिशत र डिप्रोक्स लघुवित्तको ८.७३ प्रतिशतबाट घटेर ६.७० प्रतिशतमा आएको छ । फर्स्ट माइक्रोफाइनान्सको खराब कर्जा ४.२४ प्रतिशतबाट घटेर १.९७ प्रतिशत कायम भएको छ ।

लघुवित्त संस्थाहरूको खराब कर्जा बढ्दा कर्जा असुलीमा मात्रै नभई संस्थाको आम्दानी र नाफामा समेत दबाब पर्न सक्छ । निष्क्रिय कर्जाका लागि सम्भावित कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने भएकाले संस्थाको सञ्चालन नाफा प्रभावित हुन सक्छ । कर्जा असुली कमजोर हुँदा नयाँ कर्जा प्रवाह गर्ने क्षमतामा समेत असर पर्न सक्छ ।

लघुवित्तको कर्जा मुख्यतः न्यून आय भएका परिवार, साना उद्यमी तथा स्वरोजगारमा संलग्न व्यक्तिसँग जोडिएको हुन्छ । ऋणीको आम्दानी र भुक्तानी क्षमताको मूल्याङ्कन नगरी कर्जा विस्तार गर्दा असुलीमा समस्या आउन सक्छ । त्यसैले कर्जा विस्तारसँगै ऋणीको अवस्था पहिचान, कर्जाको नियमित अनुगमन र प्रभावकारी असुली प्रणालीमा ध्यान दिनुपर्ने देखिन्छ ।

लघुवित्त क्षेत्रको दिगो विकासका लागि कर्जाको आकारभन्दा त्यसको गुणस्तर र सदुपयोग महत्त्वपूर्ण हुन्छ । खराब कर्जा नियन्त्रण गर्न नसकेमा संस्थाको वित्तीय स्थायित्वसँगै न्यून आय भएका वर्गमा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यसमेत प्रभावित हुन सक्छ ।

Ad