
बैंकिङ खबर / वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी हुँदासमेत फरार रहेका व्यक्तिहरूको बैंक खाता रोक्का गर्न वैदेशिक रोजगार विभागले नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्ने तयारी गरेको छ । विभागले फरार आरोपितहरूको आर्थिक कारोबार नियन्त्रण गर्ने उद्देश्यले उनीहरूको विवरण संकलन गरी राष्ट्र बैंकमा पठाउन लागेको हो ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवका अनुसार विभागले आगामी मंसिर १४ गते नेपाल राष्ट्र बैंकलाई औपचारिक पत्र पठाउने तयारी गरेको छ । त्यसका लागि सम्बन्धित शाखाहरूलाई पक्राउ पुर्जी जारी भएका तर हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरूको विवरण तथा सूची तयार गर्न निर्देशन दिइएको छ ।
यसअघि वैदेशिक रोजगार विभागले कात्तिक ९ गते सार्वजनिक सूचना जारी गर्दै वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएर फरार रहेका व्यक्तिहरूलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन आग्रह गरेको थियो । तोकिएको अवधिमा सम्पर्कमा नआए उनीहरूको बैंक खाता तथा यात्रा अनुमतिसम्बन्धी प्रक्रिया रोक्का गर्न कानुनी प्रक्रिया अघि बढाइने विभागले जनाएको थियो ।
३५ दिने समयसीमा पूरा हुन लागेसँगै विभागले सम्पर्कमा नआएका व्यक्तिहरूको विवरण संकलन गरी बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाउन लागेको हो । राष्ट्र बैंकलाई पत्राचार भएपछि सम्बन्धित व्यक्तिहरूको बैंकिङ कारोबार रोक्का गर्ने प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ ।
वैदेशिक रोजगारका नाममा ठगी गरी फरार हुने व्यक्तिहरूको आर्थिक गतिविधि नियन्त्रण गर्न यस्तो कदम चाल्न लागिएको मन्त्री यादवले बताएका छन् । बैंक खाता रोक्का गर्ने प्रक्रियाले आरोपितहरूलाई कानुनी दायरामा ल्याउन र ठगीबाट पीडित भएका व्यक्तिहरूलाई न्याय दिलाउने प्रयासमा सहयोग पुग्ने सरकारको अपेक्षा छ ।
यसैबीच, वैदेशिक रोजगारसम्बन्धी ठगीका मुद्दाको अभिलेख व्यवस्थापनसमेत चुनौतीपूर्ण देखिएको छ । विभागका अनुसार ३० हजारभन्दा बढी वैदेशिक रोजगारसम्बन्धी मुद्दा विचाराधीन अवस्थामा रहे पनि पक्राउ पुर्जी जारी भएर फरार रहेका व्यक्तिहरूको यकिन संख्या सार्वजनिक हुन सकेको छैन । पुराना मुद्दाको विवरण व्यवस्थित नहुँदा त्यस्ता व्यक्तिहरूको अभिलेख संकलन गर्ने कामसमेत भइरहेको छ ।
बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढेसँगै वैदेशिक रोजगार ठगी नियन्त्रणमा बैंकिङ प्रणालीको प्रयोगसमेत प्रभावकारी हुने अपेक्षा गरिएको छ ।