Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

प्रधानमन्त्रीको भारत भ्रमण तयारी : भारतीय राजदूतसँग भेटवार्ता

२०८३ मंसिर २ गते

बैंकिङ खबर / प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र भइरहेका बेला प्रधानमन्त्री र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता भएको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्रीको भारत भ्रमणको तयारीसहित नेपाल–भारत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको हो ।

भेटका क्रममा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नेपालका लागि भारतीय राजदूत नियुक्त हुनुभएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । उनले नेपाल र भारतबीच रहँदै आएको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउन आफ्नो तर्फबाट आवश्यक पहल हुने बताएका थिए ।

प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारीसमेत लिएका थिए । त्यसक्रममा राजदूत दलेलाले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता महत्वपूर्ण हुने बताएका थिए । उनले भ्रमणलाई उपलब्धिमूलक बनाउन दुवै देशका सम्बन्धित निकायहरूबीच आवश्यक गृहकार्य भइरहेको जानकारी गराएका थिए ।

राजदूत दलेलाका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डा तय भइसकेका छन् । भ्रमणका क्रममा हुने छलफल तथा भेटवार्तालाई प्रभावकारी बनाउन आवश्यक तयारी अघि बढाइएको उनले बताएका थिए ।

भेटमा प्रधानमन्त्री शाहले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरेका थिए । विपद्का बेला प्राप्त सहयोगले दुई देशबीचको आपसी सहकार्य र सम्बन्धको महत्वलाई थप उजागर गरेको उनको भनाइ थियो ।

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । भ्रमणका क्रममा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउने, आपसी सहकार्य विस्तार गर्ने तथा साझा चासोका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

Ad