बैंकिङ खबर / प्रभु बैंक लिमिटेडले तत्कालीन चिफ बिजनेस अफिसर (सीबीओ) रश्मी पन्त र रेमिट्यान्स विभाग प्रमुख सुगेन (सुजिन) शाक्यलाई सेवाबाट बर्खास्त गरेको छ। बैंकले उनीहरूसहित अन्य दुई कर्मचारीमाथि पनि विभागीय कारबाही गरेको हो।
बैंकको कर्मचारी सेवा विनियमावली, २०७८ को अध्याय ८३ अनुसार गरिएको कारबाहीमा मधुसुधन न्यौपानेको दुई वर्षका लागि बढुवा रोक्का गरिएको छ भने सुदीप श्रेष्ठलाई एक तह घटुवा गरिएको छ।
बैंकले शाक्य र पन्तलाई २०८३ कात्तिक २० गतेदेखि लागू हुने गरी सेवाबाट हटाएको जनाएको छ। न्यौपानेको बढुवा २०८३ कात्तिक १९ गतेदेखि दुई वर्षका लागि रोक्का गरिएको छ। त्यस्तै, श्रेष्ठलाई २०८३ मंसिर १ गतेदेखि लागू हुने गरी सहायक पदबाट कनिष्ठ सहायक पदमा घटुवा गरिएको हो।
बैंकका अनुसार रेमिट्यान्स कारोबारसँग सम्बन्धित स्ट्यान्डबाइ लेटर अफ क्रेडिट तथा वित्तीय प्रत्याभूतिसम्बन्धी कागजात पेस गर्दा बैंकिङ सतर्कतासम्बन्धी मापदण्ड पालना नगरेको आरोपमा शाक्यलाई बर्खास्त गरिएको हो। उक्त कारोबार प्रभु ग्रुप इंकसँग सम्बन्धित रहेको बैंकले जनाएको छ।