Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

२२ वर्ष पूरा गरेको सांग्रिला डेभलपमेन्ट बैंक २३औँ वर्षमा

२०८३ कार्तिक १४ गते

बैंकिङ खबर / सांग्रिला डेभलपमेन्ट बैंक स्थापनाको २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ । बैंकले २२औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार (कात्तिक १३ गते) केन्द्रीय कार्यालय बालुवाटारमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सत्यालले बैंकको यात्रामा साथ र सहयोग पुर्‍याउने संस्थापक, सञ्चालक, ग्राहक, सेयरधनी, कर्मचारी तथा नियामक निकायप्रति आभार व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत रविन सिजापतीले आगामी दिनमा बैंकिङ सेवालाई थप स्मार्ट, आधुनिक र गुणस्तरीय बनाउँदै लैजाने प्रतिबद्धता जनाए ।

वार्षिकोत्सवको अवसरमा बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा तथा स्वास्थ्य पूर्वाधारसँग सम्बन्धित कार्यक्रम घोषणा गरेको छ । हुम्लाको सिमकोटस्थित डाँडाफया हेल्थपोस्टमा महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने बैंकले जनाएको छ । शिविरमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञमार्फत स्वास्थ्य सेवा उपलब्ध गराइनेछ ।

त्यस्तै, सिमकोट गाउँपालिका–२ स्थित रामदेव माध्यमिक विद्यालयका १०३ जना विद्यार्थीलाई विद्यालय पोशाक तथा स्टेसनरी सामग्री वितरण गरिने भएको छ । रोल्पाको सुनिलस्मृति गाउँपालिका–२ स्थित खुङ्ग्री हेल्थपोस्टलाई एक थान बेबी वार्मर र एक सेट अटोक्लेभ ड्रम उपलब्ध गराउने पनि बैंकले घोषणा गरेको छ ।

वार्षिकोत्सवकै अवसरमा बैंकले पाँच वर्ष र १० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरेको छ ।

बैंकका अनुसार हाल देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह भइरहेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकतामा राख्दै सेवा विस्तारलाई निरन्तरता दिने बैंकले जनाएको छ ।

Ad