Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
कर्पोरेट

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

२०८३ कार्तिक ९ गते

बैंकिङ खबर / मुक्तिनाथ विकास बैंक लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बनेको छ । बैंक र जनकपुर बोल्ट्सबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

२०८३ कात्तिक ९ गतेदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणलाई लक्षित गर्दै गरिएको यस सहकार्यले बैंकलाई नेपाली क्रिकेट र खेलप्रेमी समुदायसँग जोड्ने अपेक्षा गरिएको छ । बैंकले यस साझेदारीलाई खेलकुदमार्फत समुदायसँगको सम्बन्ध विस्तार गर्ने, स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने र युवा सशक्तीकरणमा योगदान पुर्‍याउने अवसरका रूपमा लिएको जनाएको छ ।

मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले यस सहकार्यले नेपाली क्रिकेटमार्फत समुदायसँग जोडिने र स्थानीय प्रतिभाको विकासमा सहयोग गर्ने बैंकको प्रतिबद्धता झल्काउने बताएका छन् । उनका अनुसार बैंकको लोगो जर्सीमा राख्नेमात्र नभई खेलकुद र समुदायसँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसमेत साझेदारीमा समेटिएको छ ।

जनकपुर बोल्ट्सको सञ्चालक कम्पनी ड्रिम स्पोर्ट्स प्रालिका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले मुक्तिनाथ विकास बैंकलाई आधिकारिक बैंकिङ साझेदारका रूपमा स्वागत गरेका छन् । उनले बैंकको ‘जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ’ भन्ने सोच र जनकपुर बोल्ट्सले मधेशका जनतासँग जोडिने लक्ष्यबीच समानता रहेको बताएका छन् ।

एनपीएलको पहिलो संस्करणको उपाधि जितेको जनकपुर बोल्ट्सले तेस्रो सिजनमा पनि उपाधि जित्ने लक्ष्य राखेको छ । यस संस्करणका खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक टी–२० मान्यता प्राप्त भएको जनाइएको छ । यसले प्रतियोगितामा खेलाडीले गर्ने प्रदर्शनलाई आधिकारिक टी–२० तथ्याङ्कमा समावेश गर्ने अवसर प्रदान गर्नेछ ।

ग्राहककेन्द्रित सेवा, नवीनता र वित्तीय समावेशीकरणलाई प्राथमिकता दिँदै आएको मुक्तिनाथ विकास बैंकले आगामी दिनमा पनि ग्राहक, समुदाय तथा सरोकारवालासँगको सम्बन्ध विस्तार गर्दै आर्थिक र सामाजिक विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।