बैंकिङ खबर / चाडपर्वको समयमा हुन सक्ने अनलाइन तथा वित्तीय ठगीबाट जोगिन नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाइ (एफआईयू–नेपाल) ले सर्वसाधारण, बैंक तथा वित्तीय संस्था र डिजिटल सेवा प्रदायकलाई सचेत गराएको छ।
इकाइले जारी गरेको सूचनामा दसैँ, तिहार, नेपाल संवत् र छठजस्ता चाडपर्वमा अनलाइन सपिङ, डिजिटल बैंकिङ तथा भुक्तानीको प्रयोग बढ्ने भएकाले ठगी गर्नेहरूले यसैको फाइदा उठाउन सक्ने उल्लेख छ।
सूचनाअनुसार ठगी गर्नेहरूले सामाजिक सञ्जालमार्फत नक्कली चाडपर्व अफर तथा चिठ्ठाको प्रलोभन देखाउने, बैंक वा डिजिटल वालेटको नक्कली वेबसाइट बनाएर गोप्य विवरण चोर्ने र नक्कली अनलाइन सपिङ पेजमार्फत अग्रिम भुक्तानी लिएर ठगी गर्न सक्छन्। त्यस्तै, अरू व्यक्तिको नागरिकता, तस्बिर तथा अन्य कागजात दुरुपयोग गरी नक्कली खाता खोल्ने जोखिमसमेत औँल्याइएको छ।
ओटीपी र पासवर्ड गोप्य राख्न सुझाव
वित्तीय जानकारी इकाइले मोबाइलमा प्राप्त हुने एकपटक प्रयोग हुने पासकोड (ओटीपी), बैंक खाताको पासवर्ड र डिजिटल वालेटको पिन कसैसँग साझा नगर्न सुझाव दिएको छ। सामाजिक सञ्जाल तथा मेसेजिङ एपमा प्राप्त हुने निःशुल्क रिचार्ज, आकर्षक उपहार वा चिठ्ठासम्बन्धी शंकास्पद लिंक नखोल्न पनि आग्रह गरिएको छ।
अनलाइनबाट सामान खरिद गर्दा आधिकारिक तथा विश्वसनीय वेबसाइट प्रयोग गर्न, भुक्तानी गर्नुअघि वेबसाइटको ठेगाना जाँच गर्न र सम्भव भएसम्म सामान प्राप्त भएपछि भुक्तानी गर्ने विकल्प रोज्न इकाइले सुझाव दिएको छ।
शंकास्पद कारोबारको निगरानी बढाउन सुझाव
इकाइले बैंक तथा वित्तीय संस्था र डिजिटल सेवा प्रदायकलाई ग्राहक पहिचान तथा प्रमाणीकरण प्रक्रिया बलियो बनाउन र शंकास्पद कारोबारको निगरानी प्रभावकारी बनाउन सुझाव दिएको छ।
एउटै ठेगाना वा मोबाइल नम्बर प्रयोग गरी फरक–फरक नाममा धेरै खाता खोलिएको अवस्थामा त्यस्ता खाताको कारोबारमाथि निगरानी बढाउनुपर्ने सूचनामा उल्लेख छ। छोटो समयमा धेरै खातामा रकम स्थानान्तरण हुने वा अस्वाभाविक नगद कारोबार देखिने गतिविधि पहिचान गर्न कारोबार निगरानी प्रणालीलाई प्रभावकारी बनाउन पनि जोड दिइएको छ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई सम्भावित ठगीका स्वरूप पहिचान गर्ने तालिम दिन र सामाजिक सञ्जाल तथा एसएमएसमार्फत ग्राहकलाई वित्तीय सुरक्षाबारे सचेत गराउनुपर्ने सुझाव दिइएको छ।
ठगीमा परे तत्काल जानकारी दिन आग्रह
अनलाइन ठगीमा परेको वा आफ्नो व्यक्तिगत विवरण दुरुपयोग भएको शंका लागेमा तत्काल सम्बन्धित बैंक वा डिजिटल वालेट प्रदायकलाई जानकारी दिन इकाइले आग्रह गरेको छ। सम्भावित थप क्षति रोक्न आवश्यक परे खाता वा वालेट रोक्का गराउन अनुरोध गर्न सकिनेछ।
यस्ता घटनाबारे नेपाल प्रहरीको साइबर ब्युरो वा नजिकको प्रहरी कार्यालयमा समेत जानकारी गराउन सकिनेछ।
डिजिटल कारोबारको प्रयोग बढ्दै गएको अवस्थामा व्यक्तिगत विवरणको सुरक्षा, शंकास्पद प्रस्तावप्रति सतर्कता र समयमै सम्बन्धित निकायलाई जानकारी दिनु अनलाइन ठगीबाट जोगिन महत्त्वपूर्ण हुने सूचनामा जोड दिइएको छ।