Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

महिला उद्यमीलाई कुमारी बैंकको साथ, FWEANसँग गर्‍यो सहकार्य

२०८३ आश्विन २२ गते

बैंकिङ खबर / कुमारी बैंक लिमिटेडले महिला उद्यमीको वित्तीय पहुँच विस्तार तथा व्यवसायको दिगो विकासमा सहयोग पुर्‍याउने उद्देश्यले फेडेरेसन अफ वुमन इन्टरप्रेनर्स एसोसिएसन अफ नेपाल (FWEAN)सँग सहकार्य गरेको छ।

कुमारी बैंक र FWEANबीच महिला उद्यमशीलता प्रवर्द्धन, दिगो वित्तीय पहुँच, व्यवसाय विस्तार तथा उद्यमको उत्थानशीलता बढाउने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो।

समझदारीपत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा मार्केटिङ अधिकृत चन्दन कार्की र FWEANकी अध्यक्ष दर्शन श्रेष्ठले हस्ताक्षर गरेका छन्। सहकार्यले महिला नेतृत्वमा सञ्चालित व्यवसायलाई वित्तीय स्रोत, बजार, ज्ञान तथा डिजिटल समाधानमा पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ। समझदारीअनुसार महिला उद्यमीका लागि जिम्मेवार वित्तीय सेवा, दिगो तथा जलवायु उत्थानशील लगानी, व्यवसाय विकास र बजार तथा मूल्य शृंखलासँगको सम्बन्ध विस्तारमा सहकार्य गरिनेछ।

महिला नेतृत्वका व्यवसायले वित्तीय स्रोत जुटाउँदा सामना गर्ने चुनौतीलाई सम्बोधन गर्न बैंक र FWEANले वैकल्पिक वित्तीय उपायको सम्भावनासमेत खोज्ने भएका छन्। यसअन्तर्गत नगद प्रवाहमा आधारित कर्जा मूल्यांकन, चल सम्पत्तिमा आधारित वित्तीय सुविधा, ग्यारेन्टी तथा जोखिम बाँडफाँडका अन्य संयन्त्रको सम्भावना अध्ययन गरिनेछ।

कुमारी बैंकका सस्टेनेबल बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले सहकार्यले महिला उद्यमीलाई वित्तीय पहुँचसँगै बजार र आवश्यक ज्ञानमा पहुँच विस्तार गर्न सहयोग पुग्ने बताए। बैंकको दिगो बैंकिङ क्षमता र FWEANको उद्यमी सञ्जाललाई जोडेर महिला नेतृत्वका व्यवसायलाई थप सबल बनाउने लक्ष्य रहेको उनको भनाइ छ।

सहकार्यअन्तर्गत महिला उद्यमको वृद्धि, वित्तीय पहुँच, रोजगारी सिर्जना, व्यवसायिक उत्थानशीलता तथा दिगो व्यवसायिक अभ्यासको प्रभाव मापन र संयुक्त सिकाइका लागि समेत संयन्त्र विकास गरिनेछ।

कुमारी बैंकले आफ्नो देशव्यापी बैंकिङ सञ्जालमार्फत सहकार्यअन्तर्गतका कार्यक्रमलाई लक्षित समुदायसम्म विस्तार गर्ने जनाएको छ। बैंकका अनुसार हाल २७९ शाखा, २९४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर, ४० शाखारहित बैंकिङ इकाइ तथा १ हजार २०० भन्दा बढी पीओएस टर्मिनल सञ्चालनमा छन्। कुमारी बैंक र FWEANबीचको सहकार्यले महिला नेतृत्वका हरित तथा दिगो व्यवसायको विकास, मूल्य शृंखला सुदृढीकरण, रोजगारी सिर्जना र जलवायु उत्थानशील व्यवसाय प्रवर्द्धनमा समेत जोड दिने जनाइएको छ।