
बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान सिक्का उत्पादन तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रिया अघि बढाएको छ। केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले पूर्वयोग्यता प्राप्त अन्तर्राष्ट्रिय सेक्युरिटी मिन्टिङ कम्पनीहरूलाई लक्षित गर्दै सिक्का टकमरी तथा आपूर्तिका लागि ग्लोबल टेन्डर आह्वान गरेको हो । राष्ट्र बैंकका अनुसार बजारमा साना दरका सिक्काको पर्याप्त उपलब्धता कायम गर्न तथा सिक्काको मौज्दात व्यवस्थापनलाई प्रभावकारी बनाउन नयाँ सिक्का ल्याउने प्रक्रिया अघि बढाइएको हो ।
यसअघि राष्ट्र बैंकले १ रुपैयाँ दरका ४० करोड थान सिक्का टकमरी तथा आपूर्तिका लागि पनि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। लगातार दुई दिनमा १ रुपैयाँ र २ रुपैयाँ दरका गरी कुल ७० करोड थान सिक्का उत्पादन गर्ने प्रक्रिया अघि बढाइएको हो ।
२ रुपैयाँ दरका सिक्काको टकमरी तथा आपूर्ति एकल चरण, दुई खाम प्रणालीबाट गरिनेछ। सो प्रक्रियामा सहभागी कम्पनीले प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै खाममा पेस गर्नुपर्नेछ । बोलपत्रमा सहभागी हुन इच्छुक कम्पनीले ३ नोभेम्बर २०२६ सम्म २० हजार रुपैयाँ गैरफिर्ती शुल्क तिरेर बोलपत्रसम्बन्धी कागजात खरिद गर्न सक्नेछन्। उक्त शुल्क १३१ अमेरिकी डलर वा ११५ युरो बराबर पनि बुझाउन सकिनेछ ।
राष्ट्र बैंकले बोलपत्र प्रक्रियासम्बन्धी जानकारी तथा जिज्ञासा सम्बोधनका लागि १६ अक्टोबर २०२६ मा प्रि-बिड बैठक आयोजना गर्ने भएको छ। बैठक मुद्रा व्यवस्थापन विभाग, थापाथलीमा हुनेछ। बोलपत्र पेस गर्ने अन्तिम समय ४ नोभेम्बर २०२६ दिउँसो १२ बजे तोकिएको छ। प्राप्त बोलपत्र सोही दिन दिउँसो १ बजे खोलिनेछ ।
टेन्डरमा सहभागी कम्पनीले १ लाख ३२ हजार अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा अथवा नेपाली रुपैयाँ बिड सेक्युरिटीका रूपमा बुझाउनुपर्नेछ। बोलपत्र खोलिएको मितिदेखि १२० दिनसम्म बोलपत्र मान्य रहनेछ भने बिड सेक्युरिटीको म्याद ३ अप्रिल २०२७ सम्म कायम हुनुपर्ने व्यवस्था गरिएको छ ।
यस प्रक्रियामार्फत राष्ट्र बैंकले साना दरका सिक्काको उपलब्धता सुनिश्चित गर्दै चलनचल्तीमा आवश्यक सिक्का आपूर्ति व्यवस्थापन गर्न खोजेको देखिन्छ ।