
बैंकिङ खबर / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले १ हजार र ५ सय रुपैयाँ दरका नोट चलनचल्तीबाट हटाउन सरकारलाई चुनौती दिएका छन् ।
प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले भ्रष्टाचारबाट आर्जित रकम तथा अवैध रूपमा लुकाइएको धनलाई वित्तीय प्रणालीमा ल्याउन नोटबन्दी गर्नुपर्ने धारणा राखेपछि दुलालले त्यसको समर्थन गर्दै सरकारलाई तत्काल निर्णय लिन चुनौती दिएका हुन् ।
दुलालले रास्वपा नेतृत्वको सरकारले पुराना १ हजार र ५ सय रुपैयाँका नोटमा प्रतिबन्ध लगाउने निर्णय गरे आफ्नो दलले पूर्ण साथ दिने बताएका छन् ।
उनले संसदमा बोल्दै सरकारले तत्काल यी दरका नोटको नोटबन्दी प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे। उनका अनुसार अवैध रूपमा सञ्चित रकम रहेको आशंका गरिएका ठूला दरका नोटलाई बैंकिङ प्रणालीमा ल्याउने वातावरण बनाउन सरकारले कदम चाल्नुपर्नेछ ।
दुलालले नोटबन्दीको निर्णय कार्यान्वयनका लागि आवश्यक परे नेकपाका सबै संघीय सांसदले हस्ताक्षर गरेर सहयोग गर्न तयार रहेको पनि बताए ।
उनले भने, “हाम्रो संघीय संसद्का सबै सांसदले हस्ताक्षर गरेर दिनुपरे पनि आजै दिने घोषणा गर्न चाहन्छु।”
दुलालले भ्रष्टाचारबाट जम्मा भएको भनिएको रकम व्यवस्थापन गर्ने उद्देश्यले नोटबन्दीको विषय उठेको भन्दै सरकारलाई यसमा ढिलाइ नगर्न आग्रह गरे। १ हजार र ५ सय रुपैयाँका नोटमाथि प्रतिबन्ध लगाउने विषयमा रास्वपा सरकारलाई तत्काल प्रक्रिया अघि बढाउन उनले माग गरे ।
यसअघि रास्वपा सांसद न्यौपानेले पनि प्रतिनिधिसभामा बोल्दै विगतमा भ्रष्टाचारबाट आर्जित भनिएको रकमलाई बैंकिङ प्रणालीमा ल्याउन १ हजार र ५ सयका नोट बन्द गरी नयाँ नोट जारी गर्नुपर्ने बताएका थिए। उनले भारतमा गरिएको नोटबन्दीको उदाहरण दिँदै नेपालले पनि त्यहाँबाट सिक्नुपर्ने धारणा राखेका थिए ।
नोटबन्दीसम्बन्धी यो विषय संसदमा उठेसँगै ठूला दरका नेपाली नोटको प्रयोग, अवैध धन नियन्त्रण तथा नगद कारोबारलाई बैंकिङ प्रणालीमा ल्याउने उपायबारे पुनः बहस सुरु भएको छ ।