Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

विश्व बैंकको नेपाल कार्यालयमा ‘वर्क फ्रम होम’, भवनको सुरक्षा परीक्षण जारी

२०८३ आश्विन १४ गते

बैंकिङ खबर । काठमाडौंको दरबारमार्गस्थित याक एन्ड यति परिसरमा रहेको विश्व बैंकको नेपाल कार्यालयका कर्मचारीलाई तीन महिनाका लागि ‘वर्क फ्रम होम’ गर्न निर्देशन दिइएको छ । अमेरिकाको वासिङ्टन डीसीस्थित विश्व बैंक मुख्यालयबाट गरिएको भूकम्पीय सुरक्षा परीक्षणमा कार्यालय रहेको भवन तत्काल काम गर्न सुरक्षित नदेखिएपछि विश्व बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का कर्मचारीलाई घरबाटै काम गर्न भनिएको हो । यो व्यवस्था गत हप्तादेखि लागू भएको बताइएको छ ।

भवनको भूकम्पीय सुरक्षा परीक्षण यसअघि पनि विभिन्न चरणमा हुँदै आएको थियो । पहिलो र दोस्रो चरणको परीक्षण सम्पन्न भइसकेको अवस्थामा तेस्रो चरणको परीक्षण सुरु गर्नुअघि सुरक्षा टोलीले भवनमा बसेर काम गर्नु तत्काल सुरक्षित नरहेको निष्कर्ष निकालेपछि कर्मचारीलाई घरबाट काम गर्न लगाइएको हो ।

विश्व बैंक नेपालका प्रमुख विकास साझेदारमध्ये एक हो । बैंकले नेपालमा ऊर्जा, सडक, शिक्षा, स्वास्थ्य, कृषि तथा वित्तीय क्षेत्र सुधारलगायतका क्षेत्रमा लगानी र सहयोग गर्दै आएको छ । आईएफसीले भने निजी क्षेत्र, जलविद्युत् तथा वित्तीय संस्थामा लगानी गर्दै आएको छ ।

हालका लागि तीन महिनाको ‘वर्क फ्रम होम’ व्यवस्था गरिएको छ । तेस्रो चरणको परीक्षणको विस्तृत प्रतिवेदन आएपछि कार्यालयलाई सोही भवनबाट सञ्चालन गर्ने वा अन्यत्र सार्ने भन्ने विषयमा अन्तिम निर्णय हुने बताइएको छ ।

२०७२ वैशाख १२ को गोरखा भूकम्पपछि पनि उक्त भवनको भूकम्पोत्तर सुरक्षा परीक्षण गरिएको थियो । त्यसपछि भवन प्रयोगयोग्य रहेको निष्कर्षसहित नियमित काम सञ्चालन हुँदै आएको थियो । त्यसयता समय–समयमा भूकम्पीय सुरक्षा परीक्षण हुँदै आए पनि कर्मचारीलाई घरबाट काम गराइएको यो पहिलोपटक भएको स्रोतको भनाइ छ ।

झन्डै एक दशकअघि भूकम्पपछि सुरक्षित मानिएको भवन पछिल्लो विस्तृत परीक्षणमा तत्काल प्रयोगका लागि असुरक्षित देखिएपछि काठमाडौंका पुराना तथा ठूला भवनको भूकम्पीय सुरक्षामाथि समेत प्रश्न उठेको छ ।