Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

तीन दिनमै नेप्से १७ अंक घट्यो, अब २६६० विन्दु निर्णायक

२०८३ आश्विन ९ गते

बैंकिङ खबर /  यो साता तीन कारोबार दिनमा सेयर बजार परिसूचक नेप्से १७.९७ अंकले ओरालो लागेको छ। साताको अन्तिम कारोबारपछि नेप्से २ हजार ६२९.२५ विन्दुमा पुगेर बन्द भएको छ।

अघिल्लो साता भने बजार परिसूचक ८८.२२ अंकले बढ्दै २ हजार ६४७.२२ विन्दुमा पुगेको थियो। त्यसको तुलनामा यो साता बजारमा सामान्य करेक्सन देखिएको हो।

कारोबार रकममा समेत साप्ताहिक आधारमा कमी आएको छ। तीन कारोबार दिनमा बजारमा कुल १८ अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अघिल्लो साता पाँच कारोबार दिनमा करिब ३० अर्ब रुपैयाँको कारोबार भएको थियो।

यस आधारमा हेर्दा यो साता नेप्से परिसूचकसँगै बजारको कारोबार गतिविधिमा पनि केही सुस्तता देखिएको छ।

प्राविधिक विश्लेषणले के देखाउँछ ?

साप्ताहिक चार्टमा हेर्दा नेप्सेमा यस साता सामान्य गिरावट देखिएको छ। अघिल्लो साता बजारमा बुलिस प्रकृतिको क्यान्डल बनेकोमा यस साता भने बेरिस प्रकृतिको क्यान्डल बनेको देखिन्छ।

प्राविधिक विश्लेषणमा यस्तो अवस्थालाई बजारमा बिक्री पक्ष केही बलियो भएको संकेतका रूपमा हेरिन्छ। यद्यपि, यसलाई मात्र आधार बनाएर बजारको दीर्घकालीन दिशा निर्धारण गर्न सकिँदैन।

हाल २ हजार ५८० विन्दुलाई बजारको महत्वपूर्ण सपोर्ट क्षेत्रका रूपमा हेरिएको छ। नेप्से उक्त क्षेत्रभन्दा माथि टिकिरहेमा बजारको समग्र अपट्रेन्ड कायम रहने प्राविधिक विश्लेषण छ।

अर्कोतर्फ, आगामी कारोबारमा २ हजार ६६० विन्दु महत्वपूर्ण प्रतिरोध क्षेत्र बन्न सक्ने देखिन्छ। नेप्सेले यो तह पार गर्न सक्ने वा नसक्ने अवस्थाले बजारको अल्पकालीन गति निर्धारण गर्न सक्ने प्राविधिक विश्लेषणमा उल्लेख छ।

त्यसैले आगामी साता बजारले सपोर्ट र रेसिस्टेन्सका यी महत्वपूर्ण तहमा कस्तो प्रतिक्रिया देखाउँछ भन्ने विषय लगानीकर्ताका लागि चासोको विषय बन्नेछ।