
बैंकिङ खबर / नेपाल धितोपत्र बोर्डले सेयर बजारमा अन्तरदिवसीय अर्थात् ‘इन्ट्राडे’ कारोबार सञ्चालन गर्ने तयारी अघि बढाएको छ । लगानीकर्ताले एउटै कारोबार दिनभित्रै सेयर खरिद तथा बिक्री गर्न सक्ने व्यवस्था ल्याउने उद्देश्यसहित बोर्डले यसको सम्भावित कार्यविधि र नियामकीय संरचनाबारे अवधारणापत्र सार्वजनिक गरेको हो ।
प्रस्तावित व्यवस्थाअनुसार सुरुवाती चरणमा ‘बाई फर्स्ट, सेल लेटर’ मोडलबाट इन्ट्राडे कारोबार सुरु गर्ने तयारी छ । अर्थात् लगानीकर्ताले पहिले सेयर खरिद गर्ने र सोही कारोबार दिनभित्र बिक्री गर्न सक्नेछन् । यसले नियमित कारोबारभन्दा छोटो अवधिमा खरिद–बिक्री गर्ने अवसर प्रदान गर्नेछ ।
बोर्डले ‘नेपालमा धितोपत्रको अन्तरदिवसीय कारोबार (इन्ट्राडे ट्रेडिङ) कार्यान्वयन सम्बन्धी अवधारणा, २०८३’ सार्वजनिक गर्दै सम्बन्धित सरोकारवालासँग सुझाव तथा परामर्श मागेको छ । अवधारणापत्रमा इन्ट्राडे कारोबारलाई तत्कालै व्यापक रूपमा सञ्चालनमा ल्याउनुको सट्टा आवश्यक पूर्वाधार, नियमन र जोखिम व्यवस्थापन प्रणाली तयार गर्दै चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रस्ताव गरिएको छ ।
तर सुरुको चरणमै ‘सेल फर्स्ट, बाई लेटर’ अर्थात् पहिले सेयर बिक्री गरेर पछि खरिद गर्ने प्रकृतिको कारोबार सञ्चालन गर्ने प्रस्ताव गरिएको छैन । यस्तो कारोबारका लागि आवश्यक सेक्युरिटिज लेन्डिङ एन्ड बरोइङ तथा कभर्ड सर्ट सेलिङसम्बन्धी पूर्वाधार पर्याप्त रूपमा विकास भएपछि मात्र अनुमति दिने बोर्डको अवधारणा छ ।
सबै सेयरमा तत्काल लागू नहुने
इन्ट्राडे कारोबार सञ्चालनमा आए पनि प्रारम्भिक चरणमै बजारमा सूचीकृत सबै धितोपत्र यसका लागि योग्य हुने छैनन् । बोर्डले नियमित रूपमा कारोबार हुने, पर्याप्त तरलता भएका तथा बजार दुरुपयोगको जोखिम तुलनात्मक रूपमा कम रहेका सीमित धितोपत्रलाई मात्र सुरुवातमा इन्ट्राडे कारोबारका लागि योग्य बनाउन सकिने प्रस्ताव गरेको छ ।
परीक्षणका क्रममा प्राप्त अनुभव, बजारको व्यवहार र सम्भावित जोखिमको मूल्याङ्कन गरेपछि योग्य धितोपत्रको दायरा विस्तार गर्न सकिने अवधारणामा उल्लेख छ ।
जोखिम व्यवस्थापनलाई प्राथमिकता
बोर्डले इन्ट्राडे कारोबारको कार्यान्वयनमा लगानीकर्ता संरक्षणलाई मुख्य प्राथमिकतामा राखेको छ । त्यसका लागि जोखिममा आधारित नियमन, वास्तविक समयको कारोबार तथा अनुगमन, पारदर्शी बजार सञ्चालन र प्रविधिमा आधारित निगरानी प्रणालीलाई महत्वपूर्ण आधार बनाइएको छ ।
इन्ट्राडे कारोबार सञ्चालन गर्नुअघि योग्य लगानीकर्तासम्बन्धी व्यवस्था, योग्य धितोपत्रको मापदण्ड, ब्रोकरको सञ्चालन कार्यविधि (एसओपी), जोखिमसम्बन्धी जानकारी खुलासा, मार्जिन तथा रिस्क म्यानेजमेन्ट सिस्टम र बजार निगरानी प्रणाली तयार गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
परीक्षणपछि मात्रै पूर्ण कार्यान्वयन
धितोपत्र बोर्डले इन्ट्राडे कारोबारलाई एकैपटक पूर्ण रूपमा सञ्चालनमा ल्याउनेभन्दा आवश्यक तयारी पूरा गरेपछि चरणबद्ध रूपमा अघि बढाउने अवधारणा प्रस्तुत गरेको छ ।
यसका लागि पहिलो चरणमा आवश्यक कानुनी तथा नियामकीय व्यवस्था तयार गर्ने, त्यसपछि प्रविधि तथा जोखिम व्यवस्थापन प्रणालीको परीक्षण गर्ने र पाइलट सञ्चालनमार्फत प्रणालीको तयारी मूल्याङ्कन गर्ने प्रस्ताव गरिएको छ । ‘रेडिनेस एसेस्मेन्ट’ पूरा भएपछि मात्र कारोबारलाई थप विस्तार गर्ने अवधारणा बोर्डले अघि सारेको छ ।
इन्ट्राडे कारोबार कार्यान्वयनका लागि आवश्यक पूर्वाधार र प्रणाली विकास भएपछि सेयर बजारमा एउटै कारोबार दिनभित्र खरिद तथा बिक्री गर्ने सुविधा उपलब्ध हुनेछ ।
यसले बजारको कारोबार प्रणालीमा नयाँ अभ्यास थप्ने भए पनि यसको प्रभावकारी सञ्चालनका लागि प्रविधि, जोखिम व्यवस्थापन, बजार निगरानी र लगानीकर्ता संरक्षणका संयन्त्रलाई बलियो बनाउनुपर्ने देखिन्छ । बोर्डले सार्वजनिक गरेको अवधारणापत्रमा उल्लेखित व्यवस्थाबारे सरोकारवालाबाट प्राप्त सुझाव तथा परामर्शका आधारमा आवश्यक सुधार गरी इन्ट्राडे कारोबार कार्यान्वयनको थप प्रक्रिया अघि बढाइनेछ ।