Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

‘जलवायु कूटनीति’का लागि परराष्ट्रमा छुट्टै शाखा

२०८३ आश्विन ४ गते

बैंकिङ खबर / जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक कामलाई थप व्यवस्थित बनाउन परराष्ट्र मन्त्रालयले छुट्टै वातावरण कूटनीति शाखा स्थापना गरेको छ ।

मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत संघसंस्था महाशाखाअन्तर्गत रहने गरी शाखाको संरचना तयार गरिएको हो । शाखाको नेतृत्व उपसचिवले गर्ने व्यवस्था गरिएको छ ।

नयाँ शाखाले जलवायु तथा वातावरणसँग सम्बन्धित अन्तर्राष्ट्रिय वार्ता र कूटनीतिक पहलमा मन्त्रालयको समन्वयकारी भूमिका बढाउनेछ । साथै, वातावरण तथा जलवायु विषयमा काम गर्ने राष्ट्रिय निकायहरूसँग समेत समन्वय गर्ने जिम्मेवारी शाखाले पाउनेछ ।

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु कूटनीतिलाई अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागितामा मात्र सीमित नगरी दीर्घकालीन संस्थागत प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताएका छन् । उनका अनुसार जलवायु विज्ञान, अनुसन्धान, घरेलु नीति र अन्तर्राष्ट्रिय कूटनीतिबीच प्रभावकारी समन्वय आवश्यक छ ।