Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

२२ लाख धरौटी बुझाउन नसकेपछि किस्पाङ गाउँपालिका अध्यक्ष जेल चलान

२०८३ आश्विन २ गते

बैंकिङ खबर  /  काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ दुईवटा बैंकिङ कसुर मुद्दामा तोकिएको धरौटी रकम बुझाउन नसकेपछि कारागार चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतले बैंकिङ कसुरसम्बन्धी दुई छुट्टाछुट्टै मुद्दामा तामाङसँग क्रमशः १६ लाख र ६ लाख रुपैयाँ धरौटी माग गरेको थियो। अदालतले तोकेको कुल २२ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

तामाङ काठमाडौंको नयाँबजारमा ओशिन ट्रान्सपोर्ट एन्ड एड्भेन्चर प्रालि. सञ्चालन गर्दै आएका छन्। उनीविरुद्ध बैंकिङ कसुरलगायत विभिन्न प्रकृतिका १० वटा फौजदारी मुद्दा दर्ता भएको प्रहरी अभिलेखमा उल्लेख छ ।

तामाङमाथि थप अनुसन्धान गर्नुपर्ने भन्दै अन्य निकायबाट समेत पत्राचार भएको प्रहरीले जनाएको छ। थप अनुसन्धानका लागि उपस्थित गराइदिन राजस्व न्यायाधीकरण र जिल्ला प्रहरी परिसर भक्तपुरले जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेका छन् ।

प्रहरीका अनुसार भदौ २९ गते प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल सकेर बाहिरिने क्रममा तामाङलाई सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरिएको थियो। त्यसपछि उनलाई अदालतमा उपस्थित गराइएको थियो ।

बिहीबार भएको सुनुवाइमा काठमाडौं जिल्ला अदालतले दुईवटा बैंकिङ कसुर मुद्दामा धरौटी माग गर्ने आदेश दिएपछि रकम बुझाउन नसक्दा उनलाई कारागार चलान गरिएको हो ।