
बैंकिङ खबर / सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंक सञ्चालक समितिको असोज १ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावअनुसार साधारण सेयरधनीले १० प्रतिशत बोनस सेयर तथा १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश पाउनेछन् । बैंकले नगद लाभांशका लागि १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै, बैंकले अग्राधिकार सेयरधनीका लागि ८.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। यसका लागि १० करोड ७५ लाख ८९ हजार ४१ रुपैयाँ छुट्याउने प्रस्ताव गरिएको बैंकले जनाएको छ ।
अग्राधिकार सेयरको हकमा सेयर बाँडफाँड भएको मितिदेखि आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको अवधिलाई आधार बनाएर समानुपातिक रूपमा लाभांश प्रदान गरिनेछ ।
सञ्चालक समितिको प्रस्तावपछि पनि लाभांश वितरणका लागि थप प्रक्रिया पूरा गर्नुपर्नेछ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभामा पेस गरिनेछ ।
साधारण सभाबाट प्रस्ताव पारित भएपछि मात्रै सेयरधनीलाई बोनस सेयर तथा नगद लाभांश वितरण गरिने बैंकले जनाएको छ ।