Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
कर्पोरेट

ब्रह्माण्ड इन्भेष्टमेन्ट ग्रुपको लगानी रहेको बेनी खोला हाइड्रोपावर सेयर बजारमा प्रवेश गर्दै

२०८३ भाद्र ३० गते

Mai Beni Hydropower Project (9.51MW) – Hydro Tunnelling and Research Pvt.  Ltdबैंकिङ खबर /  ब्रिटिश सेना तथा सिंगापुर प्रहरीमा कार्यरत नेपाली सैनिक र पेशाकर्मीहरूको सामूहिक बचतबाट स्थापना भएको ब्रह्माण्ड इन्भेष्टमेन्ट ग्रुप (बिग) को लगानी रहेको बेनी खोला जलविद्युत् आयोजना सेयर बजारमा सूचीकृत हुने भएको छ ।सोलुखुम्बुमा निर्माण भएको १९.८ मेगावाट क्षमताको बेनी खोला जलविद्युत् आयोजनाले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) सम्पन्न गरेपछि अब दोस्रो बजारमा प्रवेश गर्ने तयारी गरेको हो ।

विदेशमा कार्यरत नेपालीले विदेशमा आर्जन गरेको आम्दानीलाई सामूहिक रूपमा परिचालन गरी स्वदेशका उत्पादनशील क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापना भएको बिगले आयोजनाको सुरुवाती चरणदेखि नै बेनी खोला हाइड्रोपावर प्रोजेक्टमा लगानी गरेको थियो । जलविद्युत् क्षेत्रलाई प्रारम्भिक लगानीको प्रमुख क्षेत्र बनाएको कम्पनीले पछिल्लो समय आफ्नो लगानीको दायरा विस्तार गर्दै लगेको जनाएको छ ।

सन् २०१३ मा कप्तान पृथ्वीराज राईको नेतृत्वमा स्थापना भएको बिगमा हाल १६७ भन्दा बढी सेयरधनी रहेका छन् । कम्पनीका अधिकांश लगानीकर्ता विदेशमा कार्यरत नेपाली छन् । सामूहिक बचतलाई स्वदेशमै परिचालन गरी दीर्घकालीन लगानी निर्माण गर्ने अवधारणाबाट सुरु भएको कम्पनीको लगानी अहिले जलविद्युत् आयोजना हुँदै सेयर बजारसम्म पुगेको हो ।१९.८ मेगावाट क्षमताको जलप्रवाहमा आधारित बेनी खोला जलविद्युत् आयोजनाले हालै आईपीओ निष्कासन गरेको थियो । आयोजनाको आईपीओमा सर्वसाधारणको उल्लेख्य आकर्षण देखिएको थियो ।

आयोजनाको सेयरका लागि माग गरिएको संख्याभन्दा ३०.५५ गुणा बढी आवेदन परेको थियो । कुल २३ लाख ६१ हजार १२४ जना आवेदकले सेयरका लागि आवेदन दिएका थिए । तीमध्ये ८६ हजार ३२० जना आवेदकले सेयर प्राप्त गरेका छन् ।

आईपीओपछि आयोजना अब सेयर बजारमा सूचीकृत हुने चरणमा पुगेको छ । सूचीकृत भएपछि सर्वसाधारण लगानीकर्ताले बेनी खोला जलविद्युत् आयोजनाको सेयर दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् । यससँगै आयोजनामा सर्वसाधारणको प्रत्यक्ष स्वामित्वसमेत स्थापित हुनेछ ।बेनी खोला जलविद्युत् आयोजना सञ्चालनको सुरुवाती दुई आर्थिक वर्षमा लगातार घाटामा गएको थियो । तर पछिल्लो आर्थिक वर्षमा आयोजनाले वित्तीय अवस्थामा सुधार गर्दै १५ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

आयोजनाको वित्तीय अवस्थामा आएको सुधारले लगानीकर्ताका लागि समेत सकारात्मक संकेत दिएको बिगको भनाइ छ । निर्माण तथा सञ्चालनका प्रारम्भिक चुनौती पार गर्दै आयोजना नाफामा जान सफल भएको कम्पनीले जनाएको छ ।बिगका प्रमुख कार्यकारी अधिकृत चेवन राईले बेनी खोला आयोजनालाई वर्तमान अवस्थामा ल्याउन कम्पनीले गरेको लगानी र भूमिकाप्रति सन्तुष्टि व्यक्त गरेका छन् ।उनका अनुसार आयोजनाको आईपीओ सफल हुनु बिगका लगानीकर्ताका लागि मात्र नभई हजारौं नेपाली सर्वसाधारणका लागि समेत महत्वपूर्ण उपलब्धि हो । ऊर्जा उत्पादन गरिरहेको आयोजनामा सर्वसाधारण नेपालीलाई प्रत्यक्ष सेयरधनी बन्ने अवसर प्राप्त हुनु सकारात्मक पक्ष रहेको उनको भनाइ छ ।

‘बेनी खोलालाई यो चरणसम्म ल्याउन सानो भूमिका निर्वाह गर्न पाउँदा हामी गर्व गर्छौं । यो सेयर निष्कासन हाम्रा आफ्नै लगानीकर्ताका लागि मात्र होइन, हजारौं नेपालीका लागि पनि खुसीको खबर हो,’ राईले भने, ‘देशलाई ऊर्जा दिइरहेको आयोजनामा सर्वसाधारण नेपालीलाई समेत शेयरधनी बन्ने अवसर मिलेको छ । यस्तै थप उपलब्धि हासिल गर्ने वातावरण निर्माण गर्नु हाम्रो लक्ष्य हो ।’

बिगको लगानी बेनी खोला जलविद्युत् आयोजनामा मात्र सीमित छैन । कम्पनीले सिन्धुपाल्चोकमा रहेको ३.२ मेगावाट क्षमताको गेलुन खोला जलविद्युत् आयोजनामा समेत लगानी गरेको छ ।निर्माणका क्रममा विभिन्न समस्या तथा आर्थिक चुनौती सामना गरेको गेलुन खोला जलविद्युत् आयोजना अहिले पूर्ण क्षमतामा सञ्चालनमा आइसकेको कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री भइरहेको छ ।

त्यस्तै, बिगले सिन्धुपाल्चोकमै रहेको ६४ मेगावाट क्षमताको माथिल्लो न्यासेम तथा न्यासेम ‘ए’ जलविद्युत् आयोजनामा समेत लगानी गरेको छ । उक्त आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरिसकेको छ ।

कम्पनीका अनुसार माथिल्लो न्यासेम तथा न्यासेम ‘ए’ आयोजना अहिले वित्तीय व्यवस्थापनको अन्तिम चरणमा रहेको छ । आयोजनामा नयाँ लगानीकर्तासमेत थपिएका छन् । यसले आयोजना निर्माणका लागि आवश्यक लगानी जुटाउने प्रक्रियालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।बिगले जलविद्युत् क्षेत्रमा मात्रै लगानी सीमित नराख्ने जनाएको छ । आगामी दिनमा आतिथ्य, शिक्षा तथा पर्यटन लगायतका क्षेत्रमा समेत लगानी विस्तार गर्ने कम्पनीको तयारी छ ।

विभिन्न क्षेत्रमा लगानी विस्तार गरेर जोखिम विविधीकरण गर्ने र सेयरधनीका लागि दीर्घकालीन तथा सन्तुलित लगानी पोर्टफोलियो निर्माण गर्ने कम्पनीको रणनीति रहेको छ ।

बिगको नेतृत्व अहिले प्रमुख कार्यकारी अधिकृत चेवन राईले गरिरहेका छन् । राईले सन् २०२६ अप्रिलदेखि कम्पनीको नेतृत्व सम्हालेका हुन् । व्यवसाय तथा कानुन क्षेत्रमा १५ वर्षभन्दा बढी अनुभव रहेका राईले विश्व बैंक, एसियाली विकास बैंक तथा विभिन्न संयुक्त राष्ट्रसंघीय निकायमा परामर्शदाताका रूपमा समेत काम गरिसकेका छन् ।कम्पनीले आगामी तीन वर्षभित्र आफूलाई नेपालको प्रमुख लगानी कम्पनीका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ । त्यसैगरी आगामी पाँच वर्षभित्र आफ्नै प्राथमिक सार्वजनिक निष्कासन ल्याएर सेयर बजारमा प्रवेश गर्ने योजना समेत अघि सारेको छ ।

कम्पनीका अनुसार बेनी खोला जलविद्युत् आयोजनामा गरिएको लगानी र त्यसको सफल आईपीओ बिगका लागि महत्वपूर्ण सुरुवात हो । साना–साना बचतलाई सामूहिक रूपमा परिचालन गरी दीर्घकालीन र उत्पादनशील क्षेत्रमा लगानी गर्न सके त्यसले लगानीकर्तासँगै मुलुकको अर्थतन्त्रलाई समेत योगदान पुर्‍याउन सक्ने कम्पनीको विश्वास छ ।

विशेषगरी विदेशमा कार्यरत नेपालीको आम्दानीलाई उपभोगमा मात्र सीमित नराखी जलविद्युत्, पर्यटन, शिक्षा तथा अन्य उत्पादनशील क्षेत्रमा लगानी गर्न सके त्यसले स्वदेशको आर्थिक विकासमा थप योगदान पुर्‍याउने बिगको धारणा छ ।बेनी खोला आयोजनामा गरिएको लगानी र आईपीओको सफलताले विदेशमा कार्यरत नेपालीको सामूहिक बचतलाई ठूला पूर्वाधार आयोजनामा परिचालन गर्न सकिने सम्भावनालाई समेत देखाएको कम्पनीको भनाइ छ ।

अब बिगले बेनी खोला, गेलुन खोला तथा माथिल्लो न्यासेमलगायतका आयोजनामा रहेको लगानीलाई थप व्यवस्थित गर्दै नयाँ क्षेत्रमा समेत लगानी विस्तार गर्ने तयारी गरेको छ । तीन वर्षभित्र प्रमुख लगानी कम्पनी बन्ने र पाँच वर्षभित्र आफ्नै आईपीओ ल्याउने लक्ष्यसहित कम्पनीले लगानीको आकार र क्षेत्र दुवै विस्तार गर्ने रणनीति अघि सारेको छ ।

विदेशमा कार्यरत नेपाली सैनिक तथा पेशाकर्मीहरूको सामूहिक बचतबाट सुरु भएको बिगको यात्रा अहिले जलविद्युत् आयोजनाको स्वामित्व हुँदै सेयर बजारसम्म पुगेको छ । बेनी खोला जलविद्युत् आयोजनाको सेयर बजार प्रवेशले विदेशमा रहेका नेपालीको सामूहिक लगानीलाई स्वदेशको पूर्वाधार विकाससँग जोड्ने नयाँ उदाहरणसमेत प्रस्तुत गरेको छ ।