
बैंकिङ खबर / रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओली बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका छन् । मुसिकोट नगरपालिका–१२ निवासी ओलीलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले संस्थाको कार्यालयबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हेमन्त गिरीका अनुसार ओलीलाई ६ लाख ५० हजार रुपैयाँ बिगो कायम भएको बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो । जिल्ला अदालत रुकुम पश्चिमबाट जारी भएको पक्राउ पुर्जीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार ओलीलाई रुकुमेली समाज विकास केन्द्रको कार्यालयबाट पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको हो । पक्राउपछि उनलाई जिल्ला अदालत रुकुम पश्चिममा उपस्थित गराइएको र अदालतको आदेशअनुसार ६ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।
बैंकिङ कसुरसम्बन्धी उक्त घटनामा ओलीको संलग्नताबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । अनुसन्धानका क्रममा घटनासँग सम्बन्धित थप तथ्य तथा विवरण खुल्दै जाने प्रहरीले जनाएको छ ।
हाल ओलीमाथि बैंकिङ कसुरसम्बन्धी आरोपमा अनुसन्धान जारी रहेकाले मुद्दाको अन्तिम टुंगो भने अनुसन्धान तथा न्यायिक प्रक्रियापछि मात्र लाग्नेछ ।