Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

नेपाल सेयर मार्केट्स फाइनान्स र क्यापीटल मर्चेन्ट फाइनान्स समस्याग्रस्थ घोषणा !

२०८३ भाद्र २४ गते

बैंकिङ खबर /  नेपालमा वित्त कम्पनी क्षेत्रको वित्तीय अवस्था थप चुनौतीपूर्ण बन्दै गएको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको तथ्यांकले केही वित्त कम्पनीमा खराब कर्जा उच्च रहेको, केहीमा पुँजी पर्याप्तता कमजोर बनेको र दुई कम्पनी पूर्ण रूपमा समस्याग्रस्त अवस्थामा रहेको देखाएको छ। राष्ट्र बैंकको विवरणअनुसार १४ वित्त कम्पनीको औसत निष्क्रिय कर्जा (एनपीएल) ७.६६ प्रतिशत रहेको छ। तर कम्पनीगत तथ्यांक हेर्दा जोखिम समान छैन। केही कम्पनीको एनपीएल निकै कम रहे पनि केही कम्पनीमा भने खराब कर्जा अत्यधिक बढेको छ।

सबैभन्दा गम्भीर अवस्था जनाकी फाइनान्सको देखिन्छ। कम्पनीको एनपीएल ६१.५५ प्रतिशत पुगेको छ। अझ चिन्ताजनक पक्ष कम्पनीको सीसीएआर र सीएआर दुवै माइनस ६.१४ प्रतिशत रहेको छ। यसको अर्थ कम्पनीको जोखिम वहन गर्ने पुँजी पर्याप्ततामा गम्भीर समस्या देखिएको छ। सामान्यतया वित्तीय संस्थाका लागि पुँजी पर्याप्तता महत्वपूर्ण सुरक्षा कवच मानिन्छ। तर जनाकी फाइनान्सको पुँजी पर्याप्तता नै नकारात्मक देखिनुले कम्पनीमाथि वित्तीय दबाब निकै गहिरो रहेको संकेत गर्छ। त्यसैले उपलब्ध तथ्यांकका आधारमा जनाकी फाइनान्सलाई उच्च जोखिममा रहेको वित्त कम्पनीका रूपमा लिन सकिन्छ।

दुई कम्पनीको एनपीएल शतप्रतिशत
वित्त कम्पनी क्षेत्रको अर्को गम्भीर पक्ष भनेको नेपाल राष्ट्र बैंकले दुई कम्पनीलाई छुट्टै  ‘समस्याग्रस्त वित्त कम्पनी’ का रूपमा वर्गीकरण गर्नु हो। राष्ट्र बैंकको विवरणमा नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स र क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सलाई समस्याग्रस्त वित्त कम्पनीका रूपमा राखिएको छ। दुवै कम्पनीको एनपीएल १०० प्रतिशत रहेको छ। नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सको कुल कर्जा करिब २ अर्ब १५ करोड रुपैयाँ र निक्षेप करिब २१ करोड ९१ लाख रुपैयाँ छ। त्यस्तै क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको कुल कर्जा करिब ६ अर्ब ६३ करोड रुपैयाँ भए पनि निक्षेप करिब २ करोड ७१ लाख रुपैयाँ मात्रै रहेको छ। एनपीएल १०० प्रतिशत हुनु सामान्य खराब कर्जा समस्याभन्दा निकै गम्भीर अवस्था हो। यसले कम्पनीको कर्जा पोर्टफोलियोमा व्यापक समस्या रहेको देखाउँछ। यी दुई कम्पनीको अवस्था हेर्दा वित्त कम्पनी क्षेत्रमा विगतमा देखिएका कर्जा दुरुपयोग, कमजोर जोखिम व्यवस्थापन, असुली समस्या र कमजोर संस्थागत सुशासनका असर अझै बाँकी रहेको देखिन्छ।

जानकी फाइनान्समा खराब कर्जाको पहिरो ६१ प्रतिशत नाघ्यो

जानकी फाइनान्सको खराब कर्जा लगातार बढ्दै जाँदा कम्पनीको कर्जा पोर्टफोलियोमाथि गम्भीर प्रश्न उठेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको विवरणअनुसार कम्पनीको निष्क्रिय कर्जा – एनपीएल ६१.५५ प्रतिशत पुगेको छ। अर्थात्, जानकी फाइनान्सले प्रवाह गरेको कुल कर्जामध्ये आधाभन्दा बढी हिस्सा समयमै असुल हुन नसकेको वा नियामकीय वर्गीकरणअनुसार खराब कर्जामा परेको देखिन्छ। यो वित्त कम्पनी क्षेत्रको औसत एनपीएल ७.६६ प्रतिशतको तुलनामा असाधारण रूपमा उच्च हो। अर्थात् जानकी फाइनान्सको खराब कर्जा अनुपात क्षेत्रीय औसतभन्दा करिब आठ गुणा बढी छ।

पोखरा फाइनान्स पनि दबाबमा
जनाकीपछि पोखरा फाइनान्सको एनपीएल २०.८४ प्रतिशत छ। त्यस्तै नेपाल फाइनान्सको १३.८३ प्रतिशत, बेस्ट फाइनान्सको १३.६९ प्रतिशत र गोर्खाज फाइनान्सको १३.३२ प्रतिशत एनपीएल रहेको छ। यी कम्पनीहरूको खराब कर्जा अनुपात पनि वित्त कम्पनीहरूको औसत ७.६६ प्रतिशतभन्दा निकै माथि छ। उच्च एनपीएलले कम्पनीको आम्दानीमा दबाब पार्नुका साथै खराब कर्जा व्यवस्थापनका लागि थप रकम छुट्याउनुपर्ने अवस्था सिर्जना गर्छ। त्यसले नाफा, पुँजी र भविष्यको कर्जा विस्तार क्षमतामा समेत असर पार्न सक्छ। त्यसैले वित्त कम्पनीहरूको समस्या केवल ‘खराब कर्जा बढ्यो’ भन्नेमा सीमित छैन। खराब कर्जा लामो समयसम्म असुल हुन नसके त्यसको प्रभाव क्रमशः नाफा, प्रावधान, पुँजी पर्याप्तता र लगानीकर्ताको प्रतिफलमा पर्न सक्छ।

तर सबै वित्त कम्पनी कमजोर छैनन्
वित्त कम्पनी क्षेत्रका सबै संस्थाको अवस्था भने खराब छैन। यही तथ्यांकमा केही कम्पनीले तुलनात्मक रूपमा राम्रो कर्जा गुणस्तर देखाएका छन्। आईसीएफसी फाइनान्सको एनपीएल १.५५ प्रतिशत छ। त्यसपछि प्रोग्रेसिभ फाइनान्सको ३.०१ प्रतिशत, मल्टिपर्पस फाइनान्सको ३.३० प्रतिशत, मञ्जुश्री फाइनान्सको ३.४२ प्रतिशत र श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सको ३.७४ प्रतिशत एनपीएल रहेको छ। त्यस्तै गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको ५.२० प्रतिशत, गुडविल फाइनान्सको ६.२७ प्रतिशत र रिलायन्स फाइनान्सको ६.५५ प्रतिशत एनपीएल रहेको छ। यसले वित्त कम्पनी क्षेत्रमा समस्या सबै संस्थामा समान रूपमा फैलिएको नभई कम्पनीअनुसार जोखिमको ठूलो अन्तर रहेको देखाउँछ।

१४ कम्पनीको औसतले लुकाएको वास्तविकता
१४ वित्त कम्पनीको औसत एनपीएल ७.६६ प्रतिशत हेर्दा अवस्था त्यति असामान्य नदेखिन सक्छ। तर कम्पनीगत तथ्यांकमा पुग्दा तस्वीर फरक देखिन्छ। एकातिर आईसीएफसीको एनपीएल १.५५ प्रतिशत छ भने अर्कोतिर जनाकी फाइनान्सको ६१.५५ प्रतिशत छ। अझ दुई समस्याग्रस्त कम्पनीको एनपीएल १०० प्रतिशत छ। यसले औसत तथ्यांकले मात्रै वित्त कम्पनी क्षेत्रको वास्तविक जोखिम नदेखाउने स्पष्ट पार्छ। केही बलिया कम्पनीको तुलनात्मक रूपमा कम एनपीएलले औसतलाई केही सन्तुलित बनाए पनि कमजोर कम्पनीहरूमा समस्या निकै गहिरो देखिन्छ।

कर्जा असुली नै मुख्य चुनौती
वित्त कम्पनीहरूको समग्र कर्जा १ खर्ब ७ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी छ। यस्तो अवस्थामा खराब कर्जा बढ्दै जानु क्षेत्रका लागि महत्वपूर्ण जोखिम हो। अहिले वित्त कम्पनीहरूको मुख्य चुनौती नयाँ कर्जा विस्तारभन्दा पनि पुरानो कर्जा असुली, खराब कर्जा घटाउने र पुँजीको आधार बलियो बनाउने देखिन्छ। उच्च ब्याजदर, कमजोर व्यवसायिक वातावरण, ऋणीको घट्दो भुक्तानी क्षमता र सम्पत्तिको मूल्यमा आएको दबाबजस्ता कारणले कर्जा असुलीमा समस्या आएको अवस्थामा वित्त कम्पनीहरूले जोखिम व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने हुन्छ। दुई कम्पनी समस्याग्रस्त सूचीमा पुगिसकेको र अर्को कम्पनीको पुँजी पर्याप्तता नै नकारात्मक देखिएको अवस्थामा नियामकका लागि पनि यो महत्वपूर्ण चुनौती हो। कमजोर कम्पनीलाई समयमै पहिचान गरी पुँजी थप्न लगाउने, व्यवस्थापन सुधार गर्ने, कर्जा असुलीलाई तीव्र बनाउने वा आवश्यक परे मर्जर तथा अन्य समाधानका उपाय अघि बढाउने विषय महत्वपूर्ण बन्न सक्छ। वित्त कम्पनी क्षेत्र बैंकिङ प्रणालीको तुलनामा सानो भए पनि यसमा सर्वसाधारणको निक्षेप र ठूलो परिमाणको कर्जा जोडिएको हुन्छ। त्यसैले कुनै कम्पनी लामो समयसम्म कमजोर रहँदा त्यसको असर केवल सेयरधनीमा मात्र सीमित हुँदैन । राष्ट्र बैंकको पछिल्लो तथ्यांकले वित्त कम्पनी क्षेत्रमा दुई तहको तस्वीर देखाएको छ। एकातिर कम एनपीएल भएका र तुलनात्मक रूपमा बलियो देखिएका कम्पनी छन् भने अर्कोतिर अत्यधिक खराब कर्जा, कमजोर पुँजी र समस्याग्रस्त अवस्थाका कम्पनी छन्।