Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई मनकामना केबलकार कर्मचारीको दुई दिनको तलब सहयोग

२०८३ भाद्र २३ गते

बैंकिङ खबर /  भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि मनकामना केबलकारका कर्मचारीहरूले दुई दिनको तलब बराबरको रकम सहयोग गरेका छन्।कर्मचारीहरूबाट स्वेच्छिक रूपमा संकलन गरिएको ३ लाख ११ हजार २२२ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार उक्त रकम एभरेस्ट बैंकको नयाँ बानेश्वर शाखामा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको हो।प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कर्मचारीहरूले आफ्नो तलबबाट उक्त रकम योगदान गरेका हुन्।

विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्न सबै क्षेत्रको सहकार्य आवश्यक रहेको मनकामना केबलकारले जनाएको छ। कर्मचारीहरूको योगदानले बाढी प्रभावितको राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ।