काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४१ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ।
संस्थाले आफ्नो तर्फबाट ३० लाख रुपैयाँ र कर्मचारीबाट संकलित ११ लाख ३२ हजार ८५२ रुपैयाँ गरी कुल ४१ लाख ३२ हजार ८५२ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै छिमेक लघुवित्तले विपद्को समयमा राहत तथा उद्धार अभियानमा सहयोग गर्ने उद्देश्यले उक्त रकम उपलब्ध गराएको हो।
संस्थाले विपद्का कारण ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, सम्पर्कविहीन तथा बेपत्ता भएका व्यक्तिहरूको सकुशल खोजीका लागि प्रार्थना गर्दै विपद्को कठिन समयमा सबैलाई धैर्य र एकताको साथ अघि बढ्न आग्रह गरेको छ।
सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न आह्वान गरेको छ। छिमेक लघुवित्तले पनि प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले संस्थागत तथा कर्मचारीको तर्फबाट रकम जुटाएर सरकारी कोषमा योगदान गरेको हो।