बैंकिङ खबर / रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) र यससँग आबद्ध कम्पनी तथा कर्मचारीहरूले ५१ लाख ४१ हजार ९ सय ८६ रुपैयाँ सहयोग गरेका छन्।
कम्पनी तथा समूहअन्तर्गतका विभिन्न संस्थाबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको हो। भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले सञ्चालन गरिरहेको खोज, उद्धार तथा राहत अभियानमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।
सहयोग रकमको चेक इप्पानमार्फत आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठलाई हस्तान्तरण गरिएको हो।कुल सहयोगमध्ये बुटवल पावर कम्पनी र यसका कर्मचारीहरूबाट मात्रै ३३ लाख ३६ हजार ९ सय ८६ रुपैयाँ संकलन भएको छ। यसमा कम्पनीको तर्फबाट २२ लाख रुपैयाँ तथा व्यवस्थापन र कर्मचारीहरूको तर्फबाट ११ लाख ३६ हजार ९ सय ८६ रुपैयाँ योगदान रहेको छ।
त्यस्तै, बीपीसी समूहअन्तर्गतका विभिन्न कम्पनीले पनि राहत कोषमा सहयोग गरेका छन्। न्यादी हाइड्रो पावर लिमिटेडले ५ लाख ५० हजार रुपैयाँ, हिमाल पावर लिमिटेडले ५ लाख रुपैयाँ, हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेडले ५ लाख ५ हजार रुपैयाँ र खुदी हाइड्रो पावर लिमिटेडले २ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन्।
कम्पनीले विपद्को यस कठिन अवस्थामा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारबाट भइरहेको प्रयासप्रति ऐक्यबद्धता जनाउँदै निजी क्षेत्रको तर्फबाट मानवीय सहयोगस्वरूप उक्त रकम उपलब्ध गराएको जनाएको छ।बुटवल पावर कम्पनीले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, बाढीपछि बेपत्ता भएका नागरिकहरू शीघ्र सुरक्षित अवस्थामा परिवार तथा आफन्तको सम्पर्कमा आउने कामनासमेत कम्पनीले गरेको छ।
भोटेकोशी बाढीपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पछिल्लो समय निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था र विभिन्न संघसंस्थाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग रकम जम्मा गर्दै आएका छन्।