बैंकिङ खबर / नेपाल टेलिकमले बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित भएका थप तीनवटा मोबाइल साइट सञ्चालनमा ल्याएको छ। टेलिकमले धादिङको कल्लेरी तथा नुवाकोटका भद्रटार थप्रेक र पुसनटार साइट सुचारु गरेको हो।टेलिकमका अनुसार मंगलबारदेखि सञ्चालनमा आएका यी साइटबाट धादिङ र नुवाकोटका विभिन्न स्थानमा मोबाइल नेटवर्कको पहुँच थप सहज भएको छ।
कल्लेरी साइट सञ्चालनमा आएसँगै आदमघाट, पिपलटार, सुनौलाबजार, घुमाउने डाँडा, कल्लेरी, बेल्टारलगायत क्षेत्रका सेवाग्राही लाभान्वित हुनेछन्।त्यस्तै, भद्रटार थप्रेक साइटबाट पञ्चकन्या, थप्रेक, महाकाली, समुन्द्रादेवी र रालुकादेवी क्षेत्रका सेवाग्राहीले सेवा पाउनेछन्। पुसनटार साइट सञ्चालनमा आएपछि पिपलटार, देवीघाट, माझीगाउँ, सिरखाली, भुवानीवेशीलगायत क्षेत्रका सेवाग्राहीलाई नेटवर्क सेवा सहज हुने टेलिकमले जनाएको छ।यी तीन साइट सञ्चालनमा आएसँगै बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित भएका १२० साइटमध्ये ११३ वटा साइट सञ्चालनमा आएका छन्।यससँगै प्रभावित क्षेत्रमा बाढीअघि उपलब्ध रहेको लगभग सबै स्थानमा मोबाइल नेटवर्कको पहुँच पुनःस्थापित भएको नेपाल टेलिकमले जनाएको छ।
टेलिकमले प्रभावित क्षेत्रमा आंशिक क्षमतामा सञ्चालन भइरहेका साइटलाई समेत क्रमिक रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने काम जारी राखेको छ। नेटवर्क पूर्ववत् अवस्थामा फर्काउन प्राविधिक टोलीले निरन्तर काम गरिरहेको टेलिकमको भनाइ छ।
बाढीका कारण प्रभावित जिल्लाका विभिन्न स्थानमा नेपाल टेलिकमका मोबाइल तथा दूरसञ्चार साइटमा क्षति पुगेपछि सेवा अवरुद्ध तथा प्रभावित भएको थियो। टेलिकमले क्षतिग्रस्त संरचनाको मर्मत तथा वैकल्पिक व्यवस्थामार्फत क्रमशः साइटहरू सञ्चालनमा ल्याउँदै आएको छ।यसअघि सञ्चालनमा ल्याइएका साइटसहित अब १२० मध्ये ११३ साइट सुचारु भइसकेकाले प्रभावित क्षेत्रमा सञ्चार सेवा पुनःस्थापनाले थप गति लिएको छ।