Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
कर्पोरेट

इप्पानको नेतृत्वमा रसुवा बाढीपीडितका लागि १३ करोड १ रुपैयाँ सहयोग

२०८३ भाद्र १६ गते

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १३ करोड १ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। इप्पानले यसअघि ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो। सहयोगका लागि विभिन्न व्यक्ति तथा संस्थाहरूबाट रकम थपिँदै गएपछि कुल संकलन १३ करोड १ रुपैयाँ पुगेको हो ।

मंगलबार सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित छलफल तथा सहयोग हस्तान्तरण कार्यक्रममा इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले उक्त रकम ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

भोटेकोशी बाढीबाट ठूलो क्षति भएपछि इप्पानको आकस्मिक कार्यसमिति बैठकले भदौ ११ गते राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार सुरु गरिएको अभियानबाट प्रारम्भिक लक्ष्यभन्दा उल्लेख्य रूपमा बढी रकम संकलन भएको हो।अध्यक्ष डाँगीका अनुसार बाढीका कारण सञ्चालनमा रहेका ८ वटा र निर्माणाधीन ५ वटा गरी १३ वटा जलविद्युत आयोजनाका संरचनामा गम्भीर क्षति पुगेको छ। आयोजनाका संरचना तथा लगानीमा ठूलो क्षति भए पनि दक्ष जनशक्ति र कामदारले ज्यान गुमाउनु ऊर्जा क्षेत्रका लागि अझ ठूलो क्षति भएको उनले बताए ।

उनले भोटेकोशीमा आएको बाढीलाई सामान्य प्राकृतिक विपद्का रूपमा मात्र लिन नहुने उल्लेख गर्दै यसले मुलुकको विकास र अर्थतन्त्रमा समेत गम्भीर प्रभाव पारेको बताए।संकलित राहत रकम वास्तविक पीडितसम्म छिटो, प्रभावकारी र पारदर्शी ढंगले पुर्‍याउन डाँगीले सरकारसँग आग्रह गरे। साथै, विपद्को समयमा सरकार, निजी क्षेत्र, विकास साझेदार, सामाजिक संघसंस्था तथा सर्वसाधारण सबैले समन्वय गरेर राहत, उद्धार र पुनःस्थापनामा योगदान गर्नुपर्नेमा उनले जोड दिए ।

डाँगीले ऊर्जा क्षेत्र आफैं पनि बाढीबाट प्रभावित भएको अवस्थामा पीडित नागरिकको सहयोगका लागि इप्पानले अभियान अघि बढाएको बताए। उनका अनुसार सदस्य कम्पनीका जलविद्युत आयोजना तथा पूर्वाधारमा क्षति पुगे पनि विपद्बाट प्रभावित नागरिकलाई राहत दिनु आफ्नो सामाजिक दायित्व ठानेर सहयोग संकलन गरिएको हो।उनले संकलित रकमलाई आफ्ना आयोजना गुमाएका ऊर्जा उद्यमीहरूको संवेदना र बाढीका कारण सहकर्मी तथा कामदार गुमाएका कम्पनीहरूको पीडासँग जोड्दै विपद्को समयमा निजी क्षेत्रले पनि जिम्मेवारीपूर्वक सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।