बैंकिङ खबर / काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीले वाणिज्य बैंकका शाखा कार्यालयहरूमा समेत ठूलो क्षति पुर्याएको छ । बाढीका कारण प्रभावित क्षेत्रमा सञ्चालनमा रहेका वाणिज्य बैंकका नौ वटा शाखा कार्यालयमा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।
नेपाल बैंकर्स संघका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका नौवटै बैंक शाखामा कुनै न कुनै रूपमा क्षति पुगेको छ । केही शाखाका भवन तथा अन्य भौतिक संरचनामा गम्भीर क्षति पुगेको जानकारी प्राप्त भए पनि सञ्चार सम्पर्क अवरुद्ध भएकाले क्षतिको यकिन विवरण संकलन हुन सकेको छैन ।
बाढी प्रभावित शाखामा कार्यरत आधाभन्दा बढी बैंक कर्मचारीसमेत सम्पर्कविहीन रहेको संघले जनाएको छ । बाढी तथा पहिरोका कारण सडक र सञ्चार सञ्जाल प्रभावित भएपछि कर्मचारीको अवस्थाबारे तत्काल जानकारी लिन कठिनाइ भएको बताइएको छ ।
प्रभावित क्षेत्रमा नबिल बैंक, प्रभु बैंक र ग्लोबल आइएमई बैंकलगायत वाणिज्य बैंकका शाखाहरू सञ्चालनमा रहेका थिए । बाढीले बैंकका शाखा भवन, कार्यालय सामग्री तथा अन्य संरचनामा क्षति पुर्याएको प्रारम्भिक जानकारी आएको छ ।
बैंकिङ क्षेत्रसमेत प्रभावित भएपछि प्रभावित शाखाहरूको अवस्था, कर्मचारीको सुरक्षा तथा बैंकिङ सेवा पुनः सञ्चालनका विषयमा थप विवरण संकलन भइरहेको नेपाल बैंकर्स संघले जनाएको छ ।