बैंकिङ खबर / अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रक कार्यालयले संघीय सरकार मातहतका निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरूको तलब भत्ता अब हरेक महिनाको १५ दिन व्यतीत भएपश्चात अर्धमासिक रूपमा भुक्तानी गरिने व्यवस्था मिलाएको जनाएको छ ।
महालेखा नियन्त्रक कार्यालयको बजेट तथा शोधभर्ना शाखाबाट जारी परिपत्र (प.सं. २०८३।८४, च.नं. ०९, मिति २०८३।०५।०१) मा उल्लेख भएअनुसार, यो व्यवस्था माननीय अर्थमन्त्रीस्तरबाट मिति २०८३।०१।०४ मा प्रदान गरिएको नीतिगत मार्गदर्शनको अधीनमा रही कार्यान्वयनमा ल्याइएको हो। कार्यालयले सोहीअनुसार आफ्नो प्रणालीमा आवश्यक प्राविधिक व्यवस्था पूरा गरिसकेको जनाएको छ ।
परिपत्रमा कोष तथा लेखा नियन्त्रक कार्यालय (सबै), निवृत्तभरण व्यवस्थापन कार्यालय त्रिपुरेश्वर, र कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहललाई सम्बोधन गर्दै आ-आफ्ना कार्यक्षेत्रअन्तर्गत कार्यरत राष्ट्रसेवक कर्मचारीहरूलाई बजेट वक्तव्य २०८३।८४ बमोजिमको कर्मचारी प्रोत्साहन भत्तासमेत समावेश गरी तलब भत्ता अर्धमासिक रूपमा भुक्तानी गर्न निर्देशन दिइएको छ। साथै, ती कार्यालयहरूको कार्यक्षेत्रभित्र पर्ने संघीय सरकारी निकायहरूबाट सोहीबमोजिम भुक्तानीका लागि निकासा माग भई आएमा तदनुरूप व्यवस्था मिलाउन समेत अनुरोध गरिएको छ ।
यो निर्णय महालेखा नियन्त्रक कार्यालयको मिति २०८३।०५।०१ को निर्णयअनुसार कार्यान्वयनमा ल्याइएको हो। परिपत्रमा लेखा अधिकृत शुभाष चन्द्र अर्यालको हस्ताक्षर रहेको छ ।

