
बैंकिङ खबर / नेपाल राष्ट्र बैंकको सहायक निर्देशक (लेखा/लेखापरीक्षण) पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ। लोक सेवा आयोग, सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाले विज्ञापन नम्बर १६/२०८२ (खुला तथा समावेशी) अन्तर्गत सञ्चालन गरेको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
आयोगका अनुसार अधिकृत तृतीय श्रेणी, प्रशासन सेवाअन्तर्गत सहायक निर्देशक (लेखा/लेखापरीक्षण) पदमा ५ पद खुला, १ पद महिला, १ पद आदिवासी जनजाति, १ पद मधेसी, १ पद दलित, १ पद पिछडिएको क्षेत्र र १ पद अपांगता समूहका लागि छुट्याइएको थियो। कुल १० पदका लागि लिखित परीक्षामा १९० जना उम्मेदवार सहभागी भएका थिए।
लिखित परीक्षाबाट कुल १९ जना उम्मेदवार अन्तर्वार्ताका लागि छनोट भएका छन्। छनोट हुनेमा खुलातर्फ ७ जना, महिलातर्फ ८ जना, आदिवासी जनजातितर्फ ४ जना, मधेसीतर्फ ३ जना, दलिततर्फ १ जना, पिछडिएको क्षेत्रतर्फ ३ जना र अपांगता समूहबाट कुनै पनि उम्मेदवार छनोट नभएको आयोगको विवरणमा उल्लेख छ। एउटै उम्मेदवार एकभन्दा बढी समावेशी समूहमा समेत परेको हुन सक्ने भएकाले समूहगत संख्या जोड्दा कुल उम्मेदवार संख्याभन्दा बढी देखिन्छ।
वर्णानुक्रमअनुसार छनोट हुने उम्मेदवारहरूमा रोल नम्बर ३९ का अनिल तामाङ, ४७ की अञ्जना ढकाल, २२० की करुणा थापा, २०९ का कविन्द्र तामाङ, २१२ की काजोल के.सी., १९९ का जय प्रकाश चौधरी, १५१ का धर्मराज न्यौपाने, १५३ का ध्रुव प्रसाद देवकोटा, ३५१ का पूजन रिजाल र ३१० का प्रवीण पौडेल रहेका छन्।
त्यस्तै रोल नम्बर ३४८ की प्रियंका कुमारी साह, २६१ का मौसम मिश्र, ११६ की विमला भण्डारी, ५१४ की शुभेक्षा गौतम, ५०७ की श्रेया खर्बुजा, ४२८ की सचिना कुँवर, ४७६ का सन्तोष वि.क., ५४६ का सुजित साह र ५५३ का सुनिल थापा छनोट भएका छन्। लिखित परीक्षा २०८२ साल चैत १५, १६ र १७ गते सञ्चालन गरिएको थियो। आयोगले लिखित परीक्षामा सफल उम्मेदवारहरूलाई अन्तर्वार्ता तथा अन्य कार्यक्रमका लागि सम्बन्धित निकायमा सम्पर्क गर्न अनुरोध गरेको छ।



